रक्सी खाएर युवती जिस्काउने प्रहरी खोरमा

राजविराज, २९ वैशाख । सप्तरीको रुपनी बजारमा युवतीमाथि दुव्र्यवहार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई जवानलाई शुक्रबार राति पक्राउ गरिएको छ । दुवैलाई मादक पदार्थ सेवन गरी स्थानीय युवतीलाई जिस्क्याएको आरोप छ ।
सप्तरीको बक्धुवा–७ घर भई रौतहटमा कार्यरत प्रहरी हवल्दार पर्शुराम सुवेदी र पाथीभरा गण झापामा दरबन्दी भई शनिश्चरे बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवानलाई प्रहरीले नियन्त्रमा लिएको हो । दुवैलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
बाटो हिँडिरहेका युवतीमाथि दुव्र्यवहार गरेपछि सर्वसाधारणले प्रतिकार गर्दा प्रहरी र स्थानीयवासीबीच सामान्य झडपसमेत भएको थियो । सोही क्रममा दुवैको मेडिकल जाँच र कारबाहीको माग गर्दै साँझ ५ बजेदेखि २ घन्टासम्म पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरिएको प्रहरीले जनाएको छ । यद्यपि, प्रहरीले घटनाको कारण भने बस भाडाको विवाद देखाएको छ ।
दुवैलाई नियन्त्रणमा लिएपछि साँझबाट यातायात सुचारु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया