कार्की सक्षम र योग्य व्यक्ति : गच्छेदार

रौतहट, २८ वैशाख । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता विजय गच्छेदारले लोकमान सिंह कार्कीले आन्दोलन दमन नगरेको दाबी गरेका छन् ।
रौतहटमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा गच्छेदारले कार्कीले जनआन्दोलनका समय मुख्य सचिवको हैसियतले मात्रै काम गरेको बताए । ‘मुख्य सचिव अरुले लगाएको काम गर्ने पद मात्रै हो,’ उनले भने, ‘लोकमान सिंह कार्की सक्षम र योग्य व्यक्ति हुन् ।’
कार्कीको बचाउन गरेका अध्यक्ष गच्छेदारले चार राजनीतिक शक्तिले विश्वास गरेर योग्य व्यक्तिलाई अख्तियारमा ल्याएको दाबी गरे । उनले कार्कीको विरोध नगर्न पनि भनेका छन् ।
यसैबीच गौरमा आजै भएको कार्यक्रममा पूर्वसभासद् गोविन्द चौधरी, अरविन्द साह, रमणि राम, चन्दन साह, उर्मिला महतो फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् । तमलोपाका रौतहट जिल्ला उपाध्यक्ष राम प्रवेश राय यादव, महिला उपाध्यक्ष आशा शेखर, जिल्ला सदस्य अमृतलाल चौधरी पनि फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् । उनीहरुलाई गच्छेदारले सदस्यता दिएका हुन् ।

प्रतिक्रिया