नामावलीमा नाम दर्ता गर्ने बढी

देउखुरी, २८ वैशाख । जिल्ला प्रशासन कार्यालय, दाङको अगुवाइमा सुरु भएको एकीकृत घुम्ती शिविरवमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेहरूको संख्या बढेको छ । बुधबार र बिहीबार दुई दिनभित्र एक सय ४२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख शेषमणि गौतमले जानकारी दिए । ‘शिविरमा उत्साहजनक उपस्थिति रह्यो, फोटो खिचाउने र नाम दर्ता गर्ने पनि बढी भेटिए,’ उनले भने, ‘गाउँ–गाउँबाट मतदाता नामावलीमा नाम दर्ता गराउन धेरै सर्वसाधारण आए ।’ शिविरबाट नागरिकता लिनेको संख्या पनि बढी छ । बुधबार पहिलो दिन ५३ र बिहीबार दोस्रो दिन ७१ जनाले नागरिकता लिएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रदीपज्योति श्रेष्ठले बताए । ‘नागरिकता लिन वृद्धवृद्धादेखि, युवा र अपांगता भएका व्यक्ति शिविरमा आए,’ उनले भने, ‘भिड नियन्त्रण गर्नै हम्मे–हम्मे पर्ने अवस्था बन्यो ।’ त्यसैगरी, शिविरमा जिल्ला जनस्वास्थ्य कार्यालय दाङद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचार गराउन आउनेहरूको भिड लागेको छ ।
शिविरअन्तर्गत वैशाख २९ र ३० गते गोबरडिहा, गंगापरस्पुर र लालमटियाका नागरिकका लागि गोबरडिहा गाविसबाट सेवा दिइनेछ । जेठ १ र २ गते लोहारपानी, काभ्रे र हासिपुर गाविसलाई लक्ष्य गरी हासिपुर गाविस कार्यालयबाट सेवा दिइनेछ भने ५ र ६ गते टरीगाउँ, उरहरी, फूलबारी र गोल्टाकुरी गाविसका लागि उच्च मावि उरहरीबाट सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए । त्यस्तै, ७ र ८ गते पवननगर र शान्तिनगरका नागरिकलाई पवननगरको मावि भ्युडर सुनपुरबाट सेवा दिइने भएको छ ।

प्रतिक्रिया