महानन्द : एउटा झिल्को

Laxman-Sapkotaमहानन्द सापकोटाको जन्म विसं १९५३ वैशाख ३० गते भएको थियो । उनको न्वारनको नाम यज्ञनिधी सापकोटा हो । उनी पूर्वीनेपालको हाल मेची अञ्चल इलाम जिल्लास्थित देवानछाप गाविस इरौंटार भन्ने गाउँमा जन्मिएका हुन् । नौ वर्षकै बाल्यकालमै उनका पिताको मृत्यु भएको थियो । उनको बाल्यकाल गाईवस्तु चराउँदै गोठालो बनेर बितेको थियो भने, त्यतिबेलाको ५३ अक्षर भएको नेपाली वर्णमाला पढेर उनले नेपाली साँवा अक्षर सिकेका थिए । पिताको मृत्युपछि उनी आमाको साथ लागेर भारतको आसाम राज्यको जोरहाट जिल्लामा पर्ने गोरूमारामा गएर बस्न थाले ।
भारतको आसाममा पनि उनी गाई गोठालोकै रूपमा थिए । गोठालो जीवन बिताउँदै गर्दा अंग्रेजी पढाउने शिक्षकसँग उनको भेट भयो । तिनै शिक्षकको साथ तेजपुर भन्ने ठाउँमा गएर बस्न थाले । १६ वर्ष पुग्दा महानन्द आसाम छोडेर दार्जलिङ बस्न थाले र त्यहीँको सरकारी विद्यालयमा अक्षर सिक्न थाले । युवा अवस्थामा प्रवेश गरिरहेका महानन्द भारतमा चलिरहेको ब्रिटिस साम्राज्यवादविरुद्धको भारत छोडो आन्दोलनमा पनि सहभागी भएका थिए । यही आन्दोलनमा सहभागी भइरहँदा उनमा राजनीतिक चेतनाको पनि विकास भएको थियो । त्यही आन्दोलनले गर्दा नै नेपालका राणाशासन र ब्रिटिस इन्डियाको लगनगाँठो भएको कुराको रहस्य पनि उनले थाहा पाएका थिए । नेपालमा राणाशासनको अन्त्यको निम्ति २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
भारतका केही विभिन्न ठाउँ घुम्दै हिँड्ने क्रममा देहरादुनबाट प्रकाशित हुने त्यसबेलाको नेपाली पत्रिका ‘गोर्खा संसार’मा सम्पादक भएर पनि उनले केही समय काम गरे । काम खोजी गर्दै हिँड्ने सिलसिलामा उनले भारतको ‘ब्रिटिस भगाउ’ आन्दोलनको राम्रो प्रभाव परिसकेको थियो । ०९७ सालमा गंगालाल, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई फाँसी दिइसकेपछि र टंकप्रसाद आचार्यलगायतलाई जेलमा सडाएपछि भारत प्रवासमा रहेका सचेत नेपाली युवाहरूको सक्रियतामा नेपालभित्र पनि व्यापक रूपमा राणाशासनविरुद्ध आवाज घन्किन थालिसकेको थियो । महानन्द सापकोटाले नेपाली लोकलयको ‘नेपालको बेदना’नामक कवितासंग्रह प्रकाशित  गरी पूर्वीनेपालका गाउँबस्तीहरूमा सुनाउँदै हिड्न थाले । यसभित्र राणाशासनका काला कर्तुत, अन्याय अत्याचारका कुरा थिए–
मधेस भोट, पनौता खेत छाँगा र छहरा
मलिला बारी, हरिया बारी घसिला चउर
श्री धर्मभक्त श्री शुक्रराज श्री दशरथका
रक्तका थोपा सहर्स भई देखेउ जागे
श्री टंक आदि जेलमा जाकी के बिउ मासियो
यो कामबाट अझ अशान्ति मच्चियो
प्रजातन्त्र शासन विना दु:ख नै पाइयो
लौ हामीलाई प्रजा र तन्त्र शासन चाहियो
महानन्द सापकोटाको ‘नेपालको वेदना’ आज कहीँ पनि प्राप्त छैन । मैले माथि उल्लेखित हरफ जयप्रसाद ढकालले लेख्नुभएको ‘आधुनिक नेपाली आलोचना’ भन्ने पुस्तकमा फेला पारेर यहाँ राखेको हुँ । महानन्दले कविता र निबन्ध मात्र लेखेनन्, २००७ सालमा जहानिँया राणाशासनविरुद्ध पूर्वीनेपालमा कमान्डरकै रूपमा मोर्चा समाले र राणाशासनको अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
उनी प्रख्यात भाषाशास्त्री हुन् । नेपाली भाषा प्रचार संघको प्रधान कार्यालय इलामको करफोकमा थियो । उनी नेपाली भाषा प्रचार संघका कुलपति (अध्यक्ष) थिए । नेपाली भाषा आन्दोलनमा महानन्द सापकोटा अग्रणी योद्धा थिए र सबैका प्रेरणाश्रोत पनि । एकपल्ट योगी नरहरिनाथले भनेका थिए, ‘मैले सिंगो नेपाल घुम्ने प्रेरणा पनि महानन्द सापकोटाबाट पाएको हुँ । उनकै प्रेरणाले गर्दा मैले सिंगो देश घुम्ने साहस गरेको हुँ ।’
२०१० सालमा नेपाली भाषा प्रचार संघकै नेतृत्वमा अर्थात् महानन्दकै नेतृत्वमा इलामको करफोकमै विराट कवि गोष्ठीको आयोजना गरिएको थियो । यस विराट कवि गोष्ठीमा त्यत्तिबेलाका बहुचर्चित कवि तथा साहित्यकारहरू कवि शिरोमणि लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइराला, शंकर लामिछाने, सूर्यविक्रम ज्ञवाली, पारशमणि प्रधान आदिको साथमा त्यत्तिबेलाका यूवा साहित्यकारहरू तारानाथ शर्मा, वीरेन्द्र खुजेली, अग्निराज श्रेष्ठ, जयप्रसाद ढकाल आदिको उपस्थिति थियो । यस कवि गोष्ठीको अध्यक्षता महानन्द सापकोटाले नै गर्नुभएको थियो र कार्यक्रम महानन्दका सारगर्भित विचार, उनको बौद्धिक क्षमता र राष्ट्रिय साहित्यमा विकास गति ल्याउन सक्ने उनको क्षमताको मुक्तकण्ठले प्रशंसा गरिएको थियो । यो कार्यक्रम यदि राजधानीमा हुन्थ्यो भने त्यो राष्ट्रिय रूपमा नै अत्यन्त चर्चाको विषय हुने थियो । पूर्वाञ्चलमा हुने हरेक साहित्यिक कार्यक्रममा महानन्दवादी यथार्थवादी र राष्ट्रवादी भाषण सुनेर प्रभावित नहुने बौद्धिक व्यक्तित्व कमै होलान् ्र
त्यत्ति बेला ।
साधारण पोशाकमा प्राय: सधैंजसो भोटो, टोपी र धोती पहिरिएर चिसो समयमा बर्को(खास्टो) ओढ्ने महानन्द प्राय: यही पहिरनमा राजधानीको नयाँ सडकमा होस या विराटनगरका बजारमा पनि घुमफिर गरिरहेका भेटिन्थे । उनको जीवनशैली खर्चिलो नभएर अत्यन्त सामान्य खालको थियो । महानन्द सापकोटा कट्टर र इमान्दार राष्ट्रवादी थिए । भनिन्छ, पूर्वाञ्चलमा अधिकांश विद्यालय खोल्नमा उनको ठूलो योगदान थियो । त्यसकारण उनलाई गुरुको रूपमा सबैले सम्मान गर्छन् । पूर्वोत्तर भारतीय नेपाली बस्तीहरूमा पनि उनलाई गुरुको रूपमा चिन्छन् । उनैको सम्मानमा विराटनगरमा गुरुकुल मार्ग नामाकरण गरिएको पाइन्छ भने पूर्वाञ्चलका उनका सालिक बनेका छन् । उनले शिक्षासेवीको रूपमा पनि आफूलाई उभ्याएका छन् भने  समाजसेवामा पनि उनले उत्तिकै चर्चाको शिखरमा हुन् । उनी एक व्यक्ति अनेक व्यक्तित्व हुन् ।
२००७ सालको जनक्रान्तिभन्दा पहिले–पहिले पराधिनता विरोधी प्रजातन्त्रवादको मुखपत्र ‘नेपाल पुकार’ भारतमा छपाएर नेपालमा ल्याइ गोप्यरूपमा प्रचारप्रसार गराउँथे महानन्द । ‘नेपाल वेदना’ नामक उनको कृतिमा त्यसबेलाको पराधिन नेपाली जीवनको चित्र उतारिएको छ । उनका कविताले तत्कालीन नेपाली समाजभित्र गुम्सिएर रहेका हरेक निराशा, कुण्ठा र विकृतिलाई उजागर गर्दै समाज परिवर्तनका लागि क्रान्तिकारी चेतना, प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
महानन्द जीवनको उत्तरार्धमा धनकुटाको मुगा गाउँमा गएर बसेका थिए र अन्त्यमा विराटनगरमा स्थायी बसोबास गरेका महानन्दको मृत्यु २०३५ साल असार १ गते भएको थियो ।

(लेखक महानन्द सापकोटा वाङ्मय प्रतिष्ठान, काभ्रेका अध्यक्ष हुन्)

प्रतिक्रिया