पिपल्स डेन्टल कलेज बन्द हुने अवस्थामा

काठमाडौं : क्षेत्रपाटीस्थित पिपल्स डेन्टल कलेज बन्द हुने अवस्थामा पुगेको छ । १६ वर्षदेखि सञ्चालनमा रहेको कलेज व्यवस्थापनले आर्थिक संकटका कारण सञ्चालन गर्न नसक्ने जनाएको छ ।
कलेज व्यवस्थापनले शुक्रबार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानसमक्ष डेन्टल कलेज ऋणमा डुबेको भन्दै कलेजबाट हात झिक्ने जानकारी दिएको हो । संस्थानमा शुक्रबार भएको बैठकमा कलेज सञ्चालकतर्फबाट पदाधिकारीले कलेज नचलाउने भन्दै विद्यार्थीको जिम्मेवारी लिइदिन संस्थानलाई आग्रह गरेका थिए । कलेज व्यवस्थापनले बैठकमा ‘कलेजका नाममा करोडौँ ऋण रहेकाले अब कलेज चलाउनसक्ने अवस्था नभएकाले संस्थानले जे गर्ने हो गरोस्’ भन्ने जानकारी गराएको सहभागी एक सदस्यले बताए ।
स्रोतका अनुसार कलेज हालसम्म ४७ करोड घाटामा भएको दाबी सञ्चालकले गरेका छन् । १० वर्षदेखि लेखापरीक्षणसमेत हुन नसकेकोमा सरकारले ‘के हेरेर बसेको’ भन्दै बैठकमा केही सदस्यले आश्चर्यसमेत व्यक्त गरेका थिए । कलेजका लागि नेपाल बैंकले साढे ११ प्रतिशत ब्याजदरमा ऋण दिएको थियो । कलेजका सबै पूर्वाधार बिक्री गर्दा पनि यो बराबरको सम्पति असुल गर्न गाह्रो हुने स्रोत बताउँछ । सन् १९९७ देखि सञ्चालनमा रहेको कलेजको बिबिएस पहिलो वर्षमा ६५ विद्यार्थी अध्ययनरत छन् । (सौस)

प्रतिक्रिया