चार शीर्ष नेतालाई महासंघद्वारा निषेध

Rajkumar-Lekhi1304858757-coचितवन, २७ वैशाख । नेपाल आदिवासी जनजाति महासंघले चितवनमा हुने आठौं राष्ट्रिय महाधिवेशनमा मुख्य चार राजनीतिक शक्तिका शीर्ष नेताहरुलाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।
चितवनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष राजकुमार लेखीले जनजातीका मुद्दामा राजनीतिक दलहरुले भ्रम फैलाएको आरोप लगाए । ‘पुष्पकमल दाहाल, सुशील कोइराला, झलनाथ खनाल र विजय गच्छदारलाई महाधिवेशनमा प्रवेश निषेध गर्ने निर्णय भएको छ,’ उनले भने ।
संघीयताका विषय चार राजनीतिक शक्तिले गलत तरिकाले भ्रम फैल्याएकाले शीर्ष नेतृत्वलाई महाधिवेशनमा प्रवेश निषेध गरेको लेखीको भनाई थियो ।
‘जातीय संघीय राज्य हामी आफै मान्दैनौं । कुनै एकजातको राज्य हुँनुहुँदैन,’ उनले भने, ‘हामीले पहिचान सहितको संघीयता चाहेका हौं ।’
भोलि (शनिबार) देखि सुरु हुने महाधिवेशनको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्ने कार्यक्रम छ ।
यद्यपि, उद्घाटन समारोहमा एमाओवादीका वर्षमान पुन, नेकपा–माओवादीका नेता रामबहादुर थापा, समाजवादी दलका अध्यक्ष अशोक राईलगायतका नेताहरु सहभागी हुने लेखीले जनाए ।

प्रतिक्रिया