खनालले लिखितमै गल्ती स्वीकारे

JNकाठमाडौं, २७ वैशाख । एमाले अध्यक्ष झलनाथ खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्की नियुक्ति प्रकरणमा पार्टीले कमजोरी गरेको आफ्नो राजनीतिक प्रतिवेदनमै स्वीकार गरेका छन् । यसअघि बुधबारको बैठकमा उनले केन्द्रीय सदस्यसामु मौखिक माफी मागेका थिए ।
केन्द्रीय कमिटीको जारी बैठकमा बिहीबार १० पेज लामो प्रतिवेदन प्रस्तुत गर्दै उच्चस्तरीय राजनीतिक समितिको बैठकमा अबदेखि पार्टीको भूमिका प्रभावकारी बनाउने प्रतिवद्धतासमेत जनाएका छन् । बुधबार सुरु बैठकको दोस्रो दिन अध्यक्ष खनालको समसामयिक राजनीतिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन र लेखा परीक्षण आयोगको प्रतिवेदन प्रस्तुत भएको थियो । चुनावी तयारीलाई केन्द्रविन्दुमा राख्दै एमालेले केन्द्रीय कमिटीको २१औँ बैठक राखेको हो ।
बैठकमा खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखको नियुक्ति प्रकरणमा पार्टीले समयमै अडान प्रस्तुत गर्न नसकेर गल्ती भएको र अबका बैठकहरूमा पार्टीको भूमिका प्रभावकारी बनाउने उल्लेख गरिएको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्ति प्रकरणमा पार्टीले सुरुमै अडान लिन नसक्दा केही कमजोरी भएको छ’, खनालले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘कमि–कमजोरीबाट पाठ सिक्दै उच्चस्तरीय राजनीतिक समितिको बैठकमा पार्टीको भूमिका प्रभावकारी बनाउनु आवश्यक देखिएको छ ।’
खनालले आफ्नो राजनीतिक प्रतिवेदनमा बहुजातीय पहिचानको संघीयता र लोकतान्त्रिक संविधानलाई सुनिश्चित गर्नेगरी संविधानसभाको आगामी निर्वाचन तयारी गर्नुपर्ने उल्लेख गरेका छन् । लोकतान्त्रिक पद्दति, राष्ट्रिय एकता, बहुपहिचानको सघीयता एमालेको मुख्य विषयवस्तु हुने र त्यही मुद्दालाई लिएर संविधानसभा चुनावमा होमिनु पर्ने खनालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
विगतको संविधानसभामा उग्रवामपन्थी अतिवादी र जातीय क्षेत्रीय संकिर्णतावादीहरूको उल्लेख्य स्थान पाएकाले संविधान बन्न नसकेको ठोकुवा गर्दै आगामी चुनावबाट एमालेलाई बहुमतसहितको पहिलो पार्टी र संविधानसभामा लोकतान्त्रिक गणतन्त्र र बहुजातीय संघीयताका पक्षधरहरूको दुईतिहाइ बहुमत ल्याउनुपर्ने उल्लेख गरेका छन् ।
खनालले आफ्नो प्रतिवेदनमा जनआन्दोलनको सफलतापछि एमालेको राजनीतिक विचारले विजय प्राप्त गरे पनि नेतृत्व एमालेको स्थापित नभएकाले संविधान नबनेको बताउँदै आगामी चुनावबाट नीति र नेतृत्व दुवै एमालेको स्थापित गर्नुपर्ने उल्लेख गरेका छन् । राजनीतिक प्रतिवेदनमा आगामी चुनावमा ‘नीति एमालेको र नेतृत्व पनि एमालेको’ भन्ने मुल नाराका साथ एमाले चुनावमा जाने उल्लेख गरिएको छ ।
राजनीतिक प्रतिवेदनमा विगतमा जस्तै अध्यक्ष खनालले राजनीतिक शक्तिहरूलाई हेर्ने पुरानै दृष्टिकोण प्रस्तुत गरेका छन् । कांग्रेसलाई परिवर्तनमा तत्काल अग्रसर नहुने यथास्थितिवादी, एमाओवादीलाई उग्रवामपन्थी वितण्डावादी र मधेसी दलहरूलाई जातीय क्षेत्रीय अभिजातीय सामन्ती वर्गीय पार्टीका रूपमा चित्रण गरेका छन् ।
बिहीबारको बैठकमा अध्यक्ष खनालको राजनीतिक प्रतिवेदन, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराको अनुशासन आयोगको प्रतिवेदन र लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले लेखा आयोगको प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले शुक्रबारदेखि आफ्नो राय राख्नेछन् । ‘आजको बैठकमा अध्यक्षको प्रतिवेदन, अनुशासन र लेखा आयोगका प्रतिवेदन प्रस्तुत भएका छन्’ केन्द्रीय सदस्य ठाकुर गैरेले सौर्यसँग भने, ‘प्रतिवेदनमाथि भोलिदेखि छलफल हुनेछ ।’
केन्द्रीय कमिटीको चालु बैठकबाट एमालेले तीन महिने संगठन परिचालन अभियान र एक महिने प्रारम्भिक चुनावी सर्भेक्षण अभियान चलाउने प्रस्ताव गरिएको छ । बिहीबारको बैठकमै केन्द्रीय कमिटीमा मनोनय गरिएका ११ मध्ये तीन सदस्यले शपथ ग्रहण गरेका थिए । केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका पूर्वसभामुख सुवास नेम्वाङ, चितवनका केशववाल श्रेष्ठ र काठमाडौंका सानु श्रेष्ठले शपथग्रहण गरेका थिए । शुक्रबार बस्ने बैठकमा प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो राय राख्नेछन् ।
झलनाथका नजरमा अन्य दल

एकीकृत माओवादी : उग्रवामपन्थी वितण्डावादी
कांग्रेस : परिवर्तनमा तत्काल अग्रसर नहुने यथास्थितिवादी
मधेसी दल : जातीय क्षेत्रीय अभिजातीय सामन्ती

प्रतिक्रिया