“सम्पूर्ण नेपालीकै सफलता”

Team-Nepalकाठमाडौं, २६ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा उपाधि जितेर प्राप्त भएको सफलता समग्र नेपालीको भएको बताएका छन् । बर्मुडामा यसै साता सम्पन्न डिभिजन थ्रीमा नेपालले उपाधि जित्नुका साथै सन् २०१५ को एकदिवसीय विश्वकपका लागि विश्वस्तरको छनोटमा स्थान बनाएको थियो ।
प्रतियोगितामा सहभागी भएर बुधबार बिहान स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा बोल्दै खड्काले भने, ‘यो जित सम्पूर्ण नेपालीको हो ।’ सुरुका दुई खेलमा पराजित भए पनि हतास नभई खेलेकाले विश्वकप छनोटमा स्थान बनाउन सफल भएको र त्यसै मनोबलमा उपाधि जितेको उनको भनाइ थियो । ‘हामीले सुरुका दुई खेल हारे पनि हतास नभई खेल्यौँ । सुधारिएको प्रदर्शन गर्दै अन्तत: डिभिजन थ्री उपाधि जित्न सफल भयौँ,’ उनले अगाडि थपे ।
लिग चरणमा अमेरिका र युगान्डासँग पराजित भए पनि ओमान, बर्मुडा र इटालीलाई हराएर नेपाल विश्वकप छनोटमा सहभागिता निश्चित गर्न सफल भएको थियो । उपाधि भिडन्तमा भने नेपालले युगान्डाविरुद्ध हारको बदला लियो । विश्वकपको विश्वस्तरको छनोटमा १० टिम रहनेछन् र त्यसमा शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकप खेल्नेछन् भने शीर्ष चारमा रहने टोलीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)बाट एकदिवसीय मान्यता पाउनेछन् । नेपालले यसअघि डिभिजन फाइभ र डिभिजन फोरको समेत उपाधि जितेको थियो ।
सन् २०१० यता नेपालले  सिनियर क्रिकेटमा एकपछि अर्को गरी ऐतिहासिक सफलता हात पारिरहेको छ ।  नेपालले यसबीच ऐतिहासिक सफलताका रूपमा एसिसी ट्रफी जित्यो भने र एसिसी टी–ट्वान्टीमा फाइनल यात्रा तय गर्‍यो  । केही महिनाअघि नेपालमै आयोजित एसिसी टी–ट्वान्टीमा फाइनल पुगेको नेपालले केही समयपछि नै टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोट खेल्दै छ ।
कप्तान खड्काले आगामी बाटो थप चुनौतीपूर्ण रहेको बताए । ‘सफलतालाई निरन्तरता दिन आगामी दिनमा थप कडा मिहिनेत आवश्यक छ,’ उनले भने ।  उचित लगानीका साथै व्यवस्थित संरचना भए नेपाल सफलताका यात्राहरू गरिरहने उनको दाबी छ ।
स्वागत र सम्मान
आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री विजेता नेपाली टोली स्वागत गर्न  बुधबार बिहान बाक्लो संख्यामा समर्थकहरू त्रिभुवन विमानस्थल पुगेका थिए । नेपाली टोलीको सम्मानमा नेपाल क्रिकेट संघ (क्यान)ले बाजागाजासहित स्वागत गरेको थियो । त्यसपछि उनीहरूलाई सजाइएको मिनी टाटामा राखेर नगरपरिक्रमा गराइएको थियो । एयरपोर्ट, गौशाला, रातोपुल, मैतिदेवी, डिल्लीबजार, भृकुटी मण्डप, सहिदगेट हुँदै नगरपरिक्रमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गएर अन्त्य भएको थियो ।
त्रिपुरेश्वरमा आयोजित कार्यक्रममा राखेपले विजेता टिमका हरेक खेलाडीलाई साढे तीन लाख रुपियाँ दिन सरकारसमक्ष सिफारिस गरिएको जानकारी दिइयो । कप्तान खड्काले बर्मुडामा प्राप्त सफलता जीवनकै खुसीको दिन भएको बताए । उनले सफलताका पछाडि प्रशिक्षक पुबुदु दासानायकेको ठूलो हात रहेको बताए  । क्यानका अध्यक्ष टंक आङबुहाङले एकदिवसीय विश्वकप क्रिकेट छनोटको तयारीका लागि सबैको सहयोग आवश्यक रहेको बताए  । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले क्रिकेटको प्रगतिले राष्ट्र र सम्पूर्ण खेलाडीको शिर सगरमाथाभन्दा उच्च बनाएको भन्दै  क्रिकेटको यो सफलता इतिहासको पानामा लेखिने बताए ।
यसैबीच प्रधानमन्त्री खिलराज रेग्मीले समेत आफ्नो कार्यालयमा बोलाएर टोलीको स्वागत गरेका छन् । एकीकृत माओवादीले पनि विजेता टोलीलाई नगदसहित सम्मान गरेको छ ।

प्रतिक्रिया