हाम्रो प्रेमले जातपात हेरेन

Manmohan-Bhattaraiउनी नेवारकी छोरी, म बाहुनको छोरो । अहँ, प्रेमले जातपात हेरेन । हेर्न आवश्यक पनि ठानेन । बस, हाम्रा भावना एकअर्कामा आत्मीयतापूर्वक विलीन भइसकेका थिए । साँच्चै, जाति त मान्छेको मात्रै हुँदो रहेछ । प्रेमीप्रेमिकाको कुनै जात हुँदो रहेनछ । हुन्छ भने पनि एउटै मात्र– प्रेमजाति । कृत्रिमतापूर्वक जातिभेदमा बाँडिएका दुई प्राणीबीचको मेल अस्वाभाविक हुन्थ्यो त त्यहाँ प्रकृतिले नै अवरोध खडा गरिदिनुपर्ने हो । यी दुई प्राणीको मुटुमा एकअर्काका निम्ति प्रेमको टुसै नपलाउनुपर्ने हो । यदि पलाउँछ भने त्यो कृत्रिम होइन । प्रेमको यो स्वतन्त्रता र प्राकृतिकतालाई निमोठ्नेगरी पौराणिक कालखण्डको कुनै स्वार्थी वर्गले तेस्र्याइदिएको कृत्रिम अवरोध हामी किन मानूँ †
समाज अहिले पनि परम्पराका थुप्रै धङधङी काखी च्यापेर बसेको छ । उति बेलाको त झन् के कुरा † अन्तरजातीय बिहे फलामको च्युराभन्दा साह्रो थियो । तर, साँचो प्रेम त्यो चिउरा चपाउन तयार हुँदो रहेछ । परिणाम– उनीसँग मेरो बिहे भयो, तारा मानन्धरसँग । बिहे गर्नुअघि चिना हेराउनु, नाम जुराउनुपर्ने हुन्थ्यो । फैसला ज्योतिषीले गरिदिन्थ्यो । तर, हाम्रो फैसला हामी आफैँले गर्‍यौँ । मन मिलेपछि बाधाअवरोध पन्छाउने आँट प्रेमैले दिँदो रहेछ । हुन त हामीले पारिवारिक रूपमा कुनै अवरोध झेल्नुपरेन । दुवै परिवार समझदार हुनुहुन्छ ।
कलेज पढ्दाको कुरा । म नेपाल विद्यार्थी संघको नेता थिएँ । त्रिवि क्याम्पसमा हामी दुईको भेट भयो । दुवै अर्थशास्त्रका विद्यार्थी । सेक्सन भने फरक थियो । म क्लास सकिएपछि लाइब्रेरीमा गएर पढ्थेँ, उनी त्यहीँ आइपुग्थिन् । सुरुमा पढाइकै कुरा हुन्थ्यो । कीर्तिपुरदेखि हिँडेर त्रिपुरेश्वरसम्म सँगै आउन थाल्यौँ । बाटो काटेको पत्तै हुँदैनथ्यो । त्यहाँबाट उनी ट्याक्सी चढेर घर जान्थिन्, म ट्रलिबस समात्थेँ ।
हामी दुवैलाई थाहा थियो– एकअर्कालाई मन पराउँछौँ । त्यसैले अभिव्यक्त गरिरहन जरुरी नै भएन । सायद हाम्रो उमेर र निकटताले आफसेआफ अभिव्यक्त गरिसकेको थियो । हामीले त एकैचोटि कमिटमेन्ट पो गर्‍यौँ– पढाइ सकिएपछि बिहे गर्ने ।
म सधैँ प्रथम श्रेणीमा पास हुन्थँे । उनी भने परीक्षा आयो कि आतंकित हुन्थिन्, पास भइने हो कि होइन भनेर । नजानेका कुरामा उनलाई मद्दत गर्थें । कैयौँपटक रेस्टुरेन्टमा बसेर पढाएँ । साहूकी छोरी उनलाई पैसाको समस्या थिएन । तर, सधैँ रेस्टुरेन्टमा बसेर पनि त भएन । फेरि पैसा पनि कति खर्च गराउनु † दुईपटक त उनकै घरमा पुगेर पढाएँ । उनको परिवारलाई हाम्रो सम्बन्ध थाहा थिएन । सँगै पढ्ने साथी ठानेर सामान्य व्यवहार गरे ।
जब सम्बन्धबारे थाहा भयो, हाम्रो परिवारमा कुनै समस्या थिएन । बुबा पढेलेखेकै भएकाले सहज रूपमै लिनुभयो । उनका परिवार पनि छिट्टै बिहे होस् भन्ने चाहन्थे– ‘उमेर पुगेका दुवैको मन मिलेको छ भने हामीलाई केको आपत्ति † बरु ढिलाइ नगरौँ ।’ यही पारिवारिक सपोर्टका कारण हामीले आफन्तको कुनै गुनासो सुन्नुपरेन ।
उनका परिवार बुद्धधर्मप्रति झुकाव राख्ने भएकाले बिहेका केही विधि बुद्धपरम्पराअनुसार नै भयो । बागबजारस्थित उनको माइतीघरमा लामागुरुहरू उपस्थित थिए । हामी यताबाट हिन्दू विधिअनुरूप जन्ती लिएर गयौँ । उताबाट लामागुरुले विधि गराए, यताबाट ब्राह्मण गुरुले । एउटै बिहेमा दुई फरकफरक विधिको संयोजन देख्दा हेर्नेहरू रमाइलो मानिरहेका थिए । एकअर्काको धर्मसंस्कृतिलाई दुवै पक्षले सम्मान गर्‍यौँ । नेवारको प्रांगणमा वैदिक रीतिअनुरूप तामाको ताउलोमा गोडा धोएर बिहे सम्पन्न गरियो । उनीहरूको पुरानो घर असन हो, पछि बागबजार सरेका । करिब पाँच वर्षको हाम्रो प्रेमले ०३६ साल वैशाखमा बिहेको रूप लियो । उमेर पनि उस्तैउस्तै थियो– बाइस–तेइस वर्षका ।
तारालाई आजसम्म परिवारमा कसैले पनि नेवारकी छोरी भनेर होच्याएको छैन । उनको हाउभाउ र शैली पनि बाहुनीको भन्दा कम छैन । बोलीमा केही ‘टटमम’ चाहिँ आउँछ । यसैकारण कहिलेकाहीँ प्रश्न गर्नेहरू भेटिन्छन्– ‘तपार्इंको टोन त नेवारको जस्तो छ, कसरी भट्टराई हुनुभयो ?’ सहज उत्तर दिन्छिन्– ‘हुँ नै नेवारकी छोरी । नेवारकै रगत भएकाले बोली पनि त्यस्तै त हुन्छ नि †’ नेवार संस्कृतिमा नाकमा फुली लगाउने चलन छैन । तर, उनलाई बिहेमा दिएको फुली आजसम्म लगाइराखेकै छिन् । जुन दिन मेरी श्रीमती भइन्, नामपछाडि मेरो थर लेख्न थालिन् । चाहेको भए तारा मानन्धर भट्टराई लेख्न सक्थिन् । यसमा मेरो कुनै जोरजफत रहेन । आफ्नै इच्छाले लेखेकी हुन् ।
आमा वैष्णव हुनुहुन्थ्यो, माछामासु नखाने । तर, उहाँ बुबा र हाम्रा लागि मासु पकाइदिनुहुन्थ्यो । बुबा प्रहरी अधिकृत हुनुहुन्थ्यो, उहाँलाई सधैँजसो माछामासु चाहिने । आमाको चुल्हो छुट्टै हुन्थ्यो । बिहेपछि हाम्रो भान्सा ताराले सम्हालिन् । एउटै भान्सामा दुईतिर चुल्हो बल्थ्यो । नेवार भए पनि ताराको परिवारमा कसैले राँगाको मासु खाँदैनथे, उनी पनि खान्नन् । आमा दालभातचाहिँ आफैँले पकाएको मात्रै खानुहुन्थ्यो । ताराले घ्यूमा बनाएको हलुवा, पुरी, रोटी पनि खानुहुन्थ्यो । हामी ६ भाइ थियौँ, संयुक्त परिवार थियो । केही समयदेखि अलगअलग बसेका छौँ । संयुक्त परिवारमा छँदा पनि उनले कहिल्यै कसैबाट अपहेलित हुनुपरेन । सबैले राम्रो व्यवहार गर्छन् । मलाई पनि नेवारकी छोरी बिहे गरेकोमा कुनै पछुतो छैन ।
बिहे गर्ने टुंगोमा पुगेपछि उनलाई भनेकै थिएँ– ‘तिमी नेवार, म बाहुन । भोलिका दिनमा केही सांस्कृतिक अनि सामाजिक कठिनाइ पनि आउन सक्छन्, चित्त दुखाउन हुँदैन नि †’ उनी मैलाई सम्झाउँथिन्– ‘यति कुरा पनि फेस गर्न नसके यति धेरै पढेको, बुझेको के काम त †’
अध्ययनकै सिलसिलामा कलेजले हामीलाई गाउँ पठाउँथ्यो । एनडिएस (राष्ट्रिय विकास सेवा) मा सामाजिक काम गर्न । म बझाङ गएँ, उनी तनहुँ पुगिन् । एक वर्ष भेट भएन । अहिलेजस्तो फोन सुविधा थिएन । भावना आदानप्रदान गर्ने माध्यम चिठी मात्रै थियो । त्यो पनि पठाएको एक महिनापछि मात्रै हात लाग्थ्यो । आफूले पठाएको पत्रको जवाफ पाउन दुई महिना कुर्नुपर्ने । तर, पनि हामी लेखिरहन्थ्यौँ । त्यसबेला मैले उनलाई छब्बीस पानासम्मको चिठी लेखेँ । उनी पनि कम थिइनन्, त्यत्तिकै लामा हुन्थे उनका चिठी पनि । एक्लै बस्ने भएकाले फुर्सद भयो कि कामै चिठी लेख्ने हुन्थ्यो मेरो । साथीसँग बस्ने भएकाले उनलाई चाहिँ अलि समस्या पर्दो रहेछ । ती पत्र आज पनि सुरक्षित छन् ।
कलेजमा हड्ताल भइरहन्थ्यो । म नेता भएकाले आफैँ पनि राजनीतिक रूपमा सक्रिय हुनुपर्ने । उनी मलाई साथ दिन्थिन् । गाउँतिर जानुपर्दा नजिकैनजिकैको जिल्ला मिलाउन पनि सकिन्थ्यो । तर, त्यसो गरिएन । चाहन्थ्यौँ– बिहेपूर्व कुनै पनि गलत काम नहोस् । दुवै यौवनावस्थामा थियौँ । एक त परिवारबाट टाढा हुनु, त्यसमाथि नजिकैनजिकै बस्दा केही गलत होला कि भन्नेमा सचेत थियौँ । प्रेम गर्दैमा सबैखाले सामाजिक र पारिवारिक मर्यादा मिच्नुपर्छ भन्ने छैन । दुवैको यही धारणा थियो । परिपक्व प्रेम गरेका थियौँ हामीले, त्यसैले त सफल भयौँ । मलाई नेवारी खाना मन पर्छ । तर, उनले पकाएको भन्दा मैले पकाएको नेवारी खाना मीठो हुन्छ, आफैँ पकाउँछु । उनी मलाई श्रीमान्जी भन्छिन्, म मामु भन्छु । छोराछोरीले मामु भन्न थालेपछि मैले पनि त्यही सिको गरेँ ।
बिहेअघि उनको आग्रहमा फिल्म हेर्न गइरहन्थेँ । उनलाई नाम र कलाकारसँग कुनै मतलब थिएन, बस हलमा गएर फिल्म हेर्न पाए पुग्यो । पहिलोचोटि हेरेको फिल्म अहिले याद छैन । कहिले पाटनको हलसम्म पनि पुग्थ्यौँ । उनी सानैदेखि फिल्मकी सोखिन रहिछन् । भक्तपुरसम्म पनि पुग्थिन् । उनी मलाई कहिले ‘पेन’ त कहिले ‘लाइटर’ उपहार दिन्थिन् । त्यति बेलाको महँगो पेन थियो, पार्कर । लाइटर पनि राम्रो थियो, आवाज आउने । म त्यतिबेला पनि चुरोट तान्थेँ । तर, मैले उनलाई केही उपहार दिइनँ ।
बझाङ जानुअघि उनलाई भेट्न बोलाएँ । त्यही हाम्रो पहिलो डेटिङ थियो । आफूसँग खल्तीमा एक पैसा पनि थिएन । गाह्रो नमानी भनेँ– ‘कहाँ जाने ? मसँग त तिमीलाई चिया खुवाउने पैसा पनि छैन ।’ मेरो समस्या बुझिहालिन्– ‘मसँग छ, जाउँm ।’ म आफ्ना सबै कुरा नढाँटी भन्छु, गाह्रो मान्दिनँ । कहिलेकाहीँ उनी सोध्छिन्– ‘तपाईंलाई आफ्ना कमजोरी भन्न अप्ठ्यारो लाग्दैन ? सजिलै सबै कुरा भन्नुहुन्छ त †’
विद्यार्थीजीवनकी मेरी प्रेमिका अहिले जीवनसंगिनी भएकी छन् । यति लामो वैवाहिक जीवनमा उनले मलाई धेरै दिएकी छन् । बरु उनका लागि मैले केही गर्न सकेको छुइनँ । जे गरेकी छन्, सबै उनैले गरेकी छन् । मैले त गुनासोसम्म पनि सुन्नुपरेको छैन । गौरव लाग्छ, मलाई आफ्नो छनोटप्रति ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया