ओझेलमा परेको ऐतिहासिक गढीलेक

KB-Mashalदाङ जिल्लाको महाभारत शृंखलामा रहेको ऐतिहासिक गढीलेक अध्ययन अनुसन्धान हुन नसक्दा ओझेलमा परेको छ । कोट र गढीको सम्पदा भुरेटाकुरे राजाहरूको पालाभन्दा पनि पहिलेदेखि आफ्नो शासनको केन्द्र बनाएर दरबार बनाउने, युद्धको समयमा किल्ला बनाएर शत्रुहरूसँग लड्ने स्थलको रूपमा प्रयोग गरेको पाइन्छ । रामपुर र काभ्रे गाविसको सिमानामा पर्ने महाभारत शृंखलाको चुली गढीलेकमा नेपाल एकीकरणको समयमा दाङ उपत्यकाबाट हुन सक्ने आक्रमणलाई रोक्न किल्लाको रूपमा सेना बसेको आँकल गर्न सकिन्छ । पछि बहादुर शाहको पालामा कालु आलेको नेतृत्वमा २५० गोर्खाली फौज आएर बसेका थिए ।  त्यही समयमा प्यूठानी सेनाले टापाबाट आक्रमण गर्दा गोर्खाली फौज गढीलेक छाडेर भागेको कुरा इतिहासमा छ ।
दाङ उपत्यकाको इतिहास १४ औँ र १५ आँै शताब्दीभन्दा पुरानो भेटिएको छैन । यहाँको इतिहासमा दङगीशरण, चल्लवंशीय राजा र सिद्धरत्ननाथ मन्दिरलाई नै लिने गरिएको छ । इतिहासमा यी राजाहरूको पालामा शासन सञ्चालन अथवा जाडो र गर्मर्ी छल्नका लागि गढीमा दरबार बनाउने गरेको पाइन्छ । मानव बस्ती विकासको क्रममा उपत्यकामा भन्दा पहिला महाभारत पर्वतको सेरोफेरोका कोटमा बस्ती बसेको कोटहरूको इतिहासले देखाउँछ । अहिले प्यूठान जिल्लामा पर्ने उदयपुर कोट भुरेटाकुरे राजाहरूले राज्य गरेको कोट हो । नेपाल एकीकरणको अभियानमा वि.स. १८४३ तिर उदयपुरका शासकहरू पनि नेपाल सरकारकै रजौटाको रूपमा रहे ।
रामपुर–५ काउले र काभ्रे–३ जुम्ले पानीबीचको चुचुरो गढीलेक घोराहीदेखि प्यूठान सडकसँग जोडिएको छ । गढीलेकको चुचुरोमा पुराना दरबारका अवशेषहरू नदेखिए पनि युद्धका लागि भण्डार गरिएको ढुंगाको पर्खाल भने देख्न सकिन्छ । सवारीकोट, हर्नोक र जुम्लेपानी गाउँको शिरमा रहेको गढीलेक ऐतिहासिक महत्त्वको विषय मात्र होइन पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने स्थल पनि हो । जिल्लाले एतिहासिक पर्यटकीय स्थलको रूपमा पहिचान दिएको तर पर्यटकको दृष्टिकोण नपुगेका दर्जनौँ कोट र गढीलेक छन् । स्थानीय बासिन्दा र जिल्लाका केही सघं/सस्था एवं विद्यालयका विद्यार्थीहरूबाहेक अन्य मानिस कमै पुग्ने गढीलेक घोराहीदेखि १८ किमिको दूरीमा रहेको छ ।
ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्व रहेको गढीलेक इतिहासकार, प्रकृतिप्रेमी र गढी टाकुराको बारेमा अनुसन्धान गर्ने मानिसका लागि पुग्नैपर्ने स्थल मानिन्छ । गढीलेकको उत्तरतिर एक किलोमिटरको दूरीमा मौवालेक रहेको छ । स्थानीयबाट संरक्षित घना जंगलमा चैत, वैशाख महिनामा पुग्ने मानिसले जंगलको रमणीय दृश्यावलोकन गर्न सक्छन् । मौवालेकको जंगलमा प्राकृतिक रूपमा रहेको चुत्रो र गुराँसको फूलले वातावरणलाई मनमोहक बनाइदिएको छ ।
गढीलेक पुगेपछि प्राकृतिक रूपको मात्र होइन निजी क्षेत्रबाट लगाइएका आयुर्वेदिक जडीबुटीको खेतीको अवलोकन गर्न सकिन्छ । १६ वर्षदेखि उद्योगको रूपमा स्वर्गद्वारी जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र काभ्रे–३ जुम्लेपानीमा ६० रोपनीभन्दा धेरै जमिनमा जडीबुटीको खेती सुरुआत भएको छ । गढीलेक पुग्ने मानिसहरूका लागि अर्को आकर्षणको केन्द्र हो पुठापुठिनी भगवती । काभ्रे, स्युजा, र लोहारपानी आसपासका मानिसको आस्थाको केन्द्र मानिदै आएको पुठा–पुठिनी भगवतीले पनि गढीलेक जाने मानिसलाई धार्मिक तथा ऐतिहासिक महत्त्वको बारेमा अध्ययन गराउँछ ।
महाभारत शृंखलाको एकै स्थानबाट धेरै हिमालको दृश्य देखिने स्थान गढीलेक हो । गढीलेकको चुचुरोबाट धौलागिरि, माछापुच्छ्रे, डोल्पा जिल्लाको मुडकट्टा हिमालको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । तराईको जिल्लामा रहेको महाभारत पर्वतको चुचुराको एउटै स्थलबाट धवलागिरि, राप्ती र अन्य केही जिल्लाको प्राकृतिक तरेली परेका सुन्दर बस्ती, नागवेली आकारका हरियाली पहाडलाई Dang-Gadi-Lekगढीलेकबाट देख्न सकिन्छ । गढीलेक एउटा प्राकृतिक भ्यू–टावर पनि मान्न सकिन्छ । यहाँबाट दक्षिणतिरको एसियाकै ठूलो मानिने दाङ उपत्यकाको अधिकांश गाविसका बस्तीहरू चुरे–शृंखलाको हरियाली पहाड र खुला आकास भएको बेला रातको समयमा भारतको गोरखपुर एवं लखनऊसम्मका भूगोल अवलोकन गर्न सकिन्छ ।
अहिले दाङ जिल्लामा रहेका महाभारत शृंखलाका कोट र समतल बस्तीमा हजाराँै वर्ष अगाडिदेखि मानिसहरूको बसोबास भएको मानिन्छ । पहाडी धरातल, चिसो हावापानी, शिखर डाँडा र खोला किनारका फाँटका बस्तीहरू मानव बसोबासका लागि वातावरण अनुकूलको मानिने थियो । दाङ उपत्यका र बँेसीफाँटमा वर्षाका समयमा गर्मी र लामखुट्टेबाट बच्न महाभारत शृंखलामा बस्ने र जाडोको समयमा उपत्यका तिर झर्ने प्राय: त्यतिबेलाको प्रचलन थियो । गढीलेकको आसपासमा रहेका जसपुरकोट, पौवाकोट, गोडधारा, तारकेनी र सवारीकोटका बस्तीहरूमा वि.स. २०१९/२० सम्म पनि दाङको रामपुर, सोनपुर, लक्ष्मीपुर र घोराही आसपासका मानिस गर्मी महिनामा कोट लाग्ने चलन थियो ।
ऐतिहासिक महाभारत पर्वतका कोट र गढीलेकहरूमा प्यूठानको उदयपुरकोट र दाङको अहिले लक्ष्मीपुर गाविसमा पर्ने सवारीकोट भुरेटाकुरे राजाहरूले शासन गरेको कोट हो । रतन पाण्डेले जाडोको समयमा घोराहीको चौघेरा र गर्मीको बेला सवारी कोटमा आफ्नो बसाइँ सारेर शासन गर्ने गरेको इतिहास छ । अहिले पनि सवारीकोट नजिक रहेको जसपुरमा त्यतिबेला निर्माण भएका दरबारका अवशेषहरू देख्न सकिन्छ । जैविक विविधताले भरिपूर्ण रहेको ऐतिहासिक महत्त्वबाट इतिहास बनेका महाभारत शृंखलाका कोट र गढीहरू पछिल्लो समयमा संरक्षण हुन नसक्दा अस्तित्व जोगाउन मुस्किल परेको देखिन्छ । विगतदेखि नै राज्यले यस्ता ऐतिहासिक धरोहरलाई मर्मत संभार र संरक्षणका लागि दीर्घकालीन सोचको विकास ल्याउन नसक्नाले पनि यस्ता सम्पदा ओझेलमा पर्ने गरेका देखिन्छन् ।
प्राकृतिक र ऐतिहासिक महत्त्व रहेका गढी र कोटहरूको विकास गर्न अहिले पर्यटन विकास नै महत्त्वपूर्ण मानिन्छ । आन्तरिक अथवा बाह्य पर्यटक किन नहुन अधिकांश प्रकृतिप्रेमी हुन्छन् । गढीलेकको चुचुरोबाट हिमालदेखि तराईका मैदान दृश्यावलोकन गर्न पाए कुन पर्यटक नरमाउला ? यसका लागि स्थानीय निकाय र राज्यसँग पर्यटन विकासका नीति हुनुपर्छ । अहिले ग्रामीण पर्यटनको विकास गर्न लामो अध्ययन, अनुसन्धानबाट होमस्टेको प्रचलन आएको छ । घोराहीदेखि सवारीकोट हँुदै गढीलेक र काभ्रे, मुरकोटी हँुदै प्यूठानको उदयपुरकोटसम्मको ऐतिहासिक कोटलाई पर्यटन विकासको राम्रो सम्भावना रहेको छ । यसका लागि मोटर मार्ग मात्र होइन पैदल मार्गको पनि आवश्यकता पर्छ । खाना र बास बस्नका लागि होमस्टेको प्रबन्ध, सुरक्षाको ग्यारेन्टी मात्र राज्यले गर्न सके यस्ता इतिहास बनिसकेका ऐतिहासिक धरोहरको किन विकास हँुदैन ? यसतर्फ सबैको ध्यान जान जरुरी छ ।
हामी नेपाली सबै कुरा अरूको मात्र राम्रो देख्ने बानी परेका छौँ । प्रकृतिको वातावरण पनि अरू नै ठाउँ र जिल्लाको राम्रो मान्ने बानी बसेका हामीहरूले यस्तै डाँडाकाँडा, र ऐतिहासिक स्थल देखाउन भनी प्रत्येक वर्ष शैक्षिक भ्रमणको आयोजना गरी विद्यार्थी लैजाने गरेका छाँै । ऐसेलु, काफलका रूख चिनाउन अनेत्रका पहाडमा विद्यार्थी पुर्‍याउने गरेका छाँै । नजिकको तीर्थ हेला भनेझँै गढीलेक र अन्य कोटको इतिहास अन्य जिल्लामा पुगेर थाहा पाएका छौँ । यस्ता कुराहरूलाई एकपटक सबैले सोच्न जरुरी छ ।

प्रतिक्रिया