चुनावका लागि छलफललाई तीव्रता दिने सहमति

काठमाडौं, २६ वैशाख । एकीकृत माओवादी र कांग्रेस संविधानसभा चुनावका विषयमा उत्पन्न विवाद चाँडै सल्टाएर चुनावको माहोल बनाउनुपर्ने निष्कर्षमा पुगेका छन् ।
नेताहरूले मंसिरमा चुनाव हुन्छ भने पनि मिति नै घोषणा हुन नसकेका कारण आशंका बढिरहेका बेला बुधबार दुई दलका नेताहरूबीच चुनावी माहोल बनाउनका लागि छलफललाई तीव्रता दिने सहमति भएको छ । कांग्रेस सभापति सुशील कोइरालाको महाराजगन्जस्थित निवासमा भएको छलफल संविधानसभा चुनावका विषयमा केन्द्रित थियो । अन्तरिम चुनावी मन्त्रिपरिषद् गठनप्रति असन्तुष्ट भई आन्दोलनरत राजनीतिक दलहरूसँग गम्भीर रूपमा छलफल गर्ने र सहमति जुट्न नसके सरकार एक प्रकारको निर्णयमा पुग्नुपर्ने निष्कर्ष बैठकले निकालेको थियो । थ्रेसहोल्ड, संविधानसभा सदस्य संख्यालगायत चुनावसम्बन्धी विधेयकमा रहेका विवादलाई चाँडै टुंग्याएर चुनावको वातावरण बनाउने कुरा भएको छलफलमा सहभागी नेताहरूले जानकारी दिएका छन् ।
बैठकपछि कांग्रेस नेता डा. रामशरण महतले चुनावी वातावरण बनाउन सबै दल प्रयत्नशील रहने तथा चुनावप्रति असन्तुष्ट दलहरूसँग वार्ता गरेर एक/दुई दिनभित्रै टुंगोमा पुग्ने कुरा भएको बताए । राजनीतिक दलहरू टुंगोमा पुग्न नसके पनि सरकारले आफ्नो ढंगबाट निर्णय गरेर अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको उनले जानकारी दिए ।
‘विवादमा अल्झिएर बस्नुभएन, चुनावमा एकलव्य भएर जानुपर्‍यो,’ उनले भने, ‘चुनावी प्रक्रिया नै रोकिएको छ । विवाद भयो भन्दैमा प्रक्रिया नै रोकेर बस्न भएन ।’
एकीकृत माओवादी महासचिव पोस्टबहादुर बोगटीले चुनावप्रति असन्तुष्ट दलहरूसँग र विवाद रहेका विषयमा अन्य दलहरूबीच छलफल गरेर चुनावको माहोल बनाएर जाने विषयमा छलफल भएको जानकारी दिए ।
छलफलमा सहभागी नेताका अनुसार चुनावी माहोल बनाउन दलहरूबीच पहिले द्विपक्षीय र पछि बहुपक्षीय छलफल हुने भएको छ । चुनावसम्बन्धी विवादका विषय तथा आन्दोलनरत दलहरूको माग सम्बोधन गरेर चुनावको माहोल तयार गर्ने विषयमा छलफललाई तीव्रता दिइने भएको छ ।
‘अहिलेको चर्चाको विषय चुनाव हो, चुनाव मंसिरभित्र हुन्छ,’ डा. महतले भने, ‘जनतामा विश्वास नहुने दलहरू चुनावमा जाँदैनन्, जनआधारमा विश्वास भएका दलहरू चुनावमा जान्छन् ।’
चुनावी मन्त्रिपरिषद्ले पनि संविधानसभा चुनावका विषयमा कानुनी प्रक्रियालगायत विवादित विषयमा सहमति जुटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया