भ्रष्टाचारमुक्त समाज निर्माण गर्छु : लोकमान

काठमाडौं, २६ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारमुक्त समाज निर्माण गर्न भूमिका खेल्ने बताएका छन् । प्रमुख आयुक्तमा नियुक्त भएपछि विज्ञप्ति जारी गर्दै कार्कीले १७ बुँदे प्रतिवद्धता जनाएका छन् ।
शान्ति, सुव्यवस्था कायम गरी स्वस्थ्य र समुन्नत नेपाली समाजको स्थापना गर्नु आफ्नो पहिलो दायित्व हुने कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन् । अन्तरिम संविधानले आत्मसाथ गरेको आधारभूत मान्यताहरू आफ्नो मार्गदर्शन हुने भन्दै कार्कीले ‘भ्रष्टाचारले आम नेपाली नागरिकको जीवन, प्रतिष्ठा र मर्यादामा आँच पुर्‍याउने कुरामा सचेत हुनुपर्ने’ बताएका छन् ।
नागरिकता र राहदानी वितरण, लिखत पारित, उद्योगधन्दा दर्ता, वन पैदावरको उपयोग, कृषि बीउ–वीजन मल र प्राविधिक सेवा, नि:शुल्क स्वास्थ्य सेवा, शिक्षा, सामाजिक सुरक्षा, सडक, बत्ती, खानेपानी, टेलिफोनजस्ता जनसरोकारका आधारभूत सेवाहरू वितरणको अवस्थालाई आफ्नो निगरानीमा राखी सहज र सुनिश्चित बनाउन प्रयास गर्ने प्रतिवद्धता विज्ञप्तिमा गरिएको छ ।
आग्रह/पूर्वाग्रह नराखी निष्पक्ष ढंगबाट अनुसन्धान गर्ने प्रणाली स्थापित गर्नेमा जोड दिँदै नवनियुक्त अख्तियार प्रमुख कार्कीले आयोगको काम कारबाहीलाई प्रभावकारी, निष्पक्ष र पारदर्शी बनाउने बताएका छन् । ‘आयोग प्रमुखको हैसियतले आगामी केही दिनभित्र सर्वसाधारणलाई सुशासनको माध्यमबाट परिवर्तनको अनुभूति हुनेगरी नतिजा दिने प्रण गर्दछु’, कार्कीले विज्ञप्तिमा भनेका छन् ।
भ्रष्टाचार नियन्त्रण ठूलो चुनौतीको विषय भएको बताउँदै सार्वजनिक व्यक्तिहरूको नैतिक आचरणमा सुधार ल्याई सदाचारिता पालन गराउनु, विद्यमान कार्यप्रक्रिया र पद्धतिहरूमा पारदर्शिता कायम गराउने बताएका छन् । सरकारका विभिन्न निकायबाट सम्पादन हुने वा भइरहेका कामहरूको प्रभावकारी अनुगमन गरी जनतालाई आयोगको उपस्थितिको अनुभूत गराउन प्रयत्नरत रहनेमा कार्कीले जोड दिएका छन् ।
संवैधानिक समितिले आयोग प्रमुखमा नाम सिफारिस गरेसँग आफ्नो बारेमा भएका अनेक टीकाटिप्पणी तथा आलोचनालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले लामो समयदेखि प्रचारमा आएका टिप्पणीहरूलाई खुला समाजमा हुने स्वाभाविक बहस बताएका छन् । उनले ती टिप्पणीलाई सकारात्मक रूपमा लिने विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘लोकतन्त्रमा मर्यादित ढंगमा राख्न पाइने यस्ता विचारले व्यक्ति, समाज र देशलाई नै सुधारको मार्गतर्फ उन्मुख गराउँछ भन्ने सोचले पनि मैले मेरो सम्बन्धमा व्यक्त विचारमा कुनै प्रतिक्रिया जनाउनु वाञ्छनीय देखिनँ’, विज्ञप्तिमा उल्लेख छ ।
खुला बहस र अन्तक्र्रिया लोकतन्त्रका सुन्दर र सवल पक्ष भएको भन्दै उनले व्यक्तिगत चरित्र, क्षमता र योग्यतामा आँच आउने गरी मिथ्या प्रचार भइदिँदा व्यक्तिका स्वतन्त्रतामा पनि असर पर्ने बताएका छन् । ‘यसर्थ, व्यक्ति तथा संस्थाका विषयमा हुने टीकाटिप्पणीमा तिनका भनाइ पनि समेटिदिने पत्रकारिताको न्यूनतम मान्यता पूरा गरिदिन पनि म विनम्रताका साथ आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया