पार्टी खोल्ने प्रतिस्पर्धा किन ?

नेपालमा राजनीतिक पार्टी लगभग एक सय ५० भन्दा बढी छन् । सायद संसारका कमै मुलुकमा यति धेरै दल होलान् । जुन मुलुकमा राजनीति परिश्रम र लगानी नगरी खान पाउने माध्यम हो भन्ने सोच बनाएका मानिसको बाहुल्यता रहन्छ त्यो मुलुकमा दलहरू धेरै हुन्छन् । गरिबी, अशिक्षा र बेरोजगारीले पनि दल खोलेर राजनीति गर्नेहरूलाई सहयोग पुर्‍याएको छ । वास्वतमा विकसित मुलुकमा यसरी झरीको च्याउ उम्रिए जस्ता राजनीतिक दल उम्रिँदैनन् । त्यहाँ साह्रै थोरै दलको अस्तित्व पाइन्छ । लोकतान्त्रिक मानिने ठूलो क्षेत्रफल र धेरै जनसंख्या भएका मुलुकमा पनि दलको संख्या कमै हुन्छ । नेपालमा किन यति धेरै दल खुलेका होलान् ? स्वाभाविक प्रश्न उठ्छ । नेता र दलमा राष्ट्र साथै जनताप्रति जवाफदेही नहुनु, मन्त्री बनेपछि अधिकांश नेताले अत्यधिक सम्पत्ति जम्मा गर्न सक्नु, सुशासन र कानुनी राज्य नहुँदा राजनीति गर्ने व्यक्ति अपराधी भए पनि कारबाही गर्न नसक्नु, जनतामा चेतनाको कमी हुनुलगायतका कारणले दलहरू बढी खोल्ने र नेता बन्ने लोभ बढेको देखिन्छ । फौजदारी अभियोगका अभियुक्त र समाजमा आलोचित व्यक्ति पनि नेता र मन्त्री बन्ने अवस्थाले पनि यसरी दल खुलेका हुन सक्छन् । लोकतन्त्रको फाइदा यही नै हो भन्ने हो भने लोकतन्त्र भिडतन्त्रमा परिणत हुन सक्छ । तसर्थ, बढी दल खुल्नु/हुनु नै लोकतन्त्र होइन । नेपाली राजनीतिलाई व्यवसाय बनाइँदै छ, जसले बेथिति बढाउन सक्छ । तसर्थ, निर्वाचनसम्बन्धी नियमावलीमा दलहरूलाई बाँध्ने काम गर्न जरुरी छ ।
निर्वाचन आयोगमा दल दर्ता गर्ने तर निर्वाचनमा भाग भने नलिने दलको कुनै अर्थ रहँदैन । यसैगरी थ्रेस होल्ड लागू गर्ने र फौजदारी अभियोगमा लागेकाहरूलाई राजनीति गर्ने छुट नदिने हो भने अनावश्यक दल खोल्ने कार्य रोकिने थियो । तर, नेपाल हो जे पनि हुन्छ भन्ने मान्यताले ग्रस्त व्यक्तिहरू नै मुलुकको हर्ता–कर्ता भएका कारण दलसम्बन्धी कुनै कानुन बनेको छैन । अब दलसम्बन्धी कानुन नबनेसम्म मुलुकमा दलीय भाँडभैलो भइरहने देखिन्छ । दल राष्ट्र र जनताका पक्षमा काम गर्नका लागि खोलिन्छ । तर, नेपालमा आफ्नो परिवारको, आफन्तको आफ्नै आसेपासेका भरणपोषणका लागि मात्र पनि दल खोलिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि दल खोल्न नपाउने कानुन बनाउन नसके पनि जनमानसमा त्यो दल नभई कम्पनी हो भन्ने सोचको विकास गर्न सक्नुपर्छ । दलीय पद्धतिमा दल खोल्न पाइँदैन भन्न मिल्दैन तर, लाजलाग्दो गरी दल खोलेर नेता बन्नबाट रोक्ने विभिन्न उपाय छन् । ती उपाय अवलम्बन गर्ने हो भने अनावश्यक रूपमा दल खोलेर नेता बन्ने धूर्ततापूर्ण परम्परा तोडिन सक्छ ।
राष्ट्रिय, क्षेत्रीय, जातीय र अहिले आएर एउटै परिवार कार्य समितिमा रहेर पनि दल खोलेको पाइएको छ । दल दर्तापछि निर्वाचनमा कति प्रतिशत उम्मेदवार उठाउने, कति प्रतिशत मत ल्याउनै पर्ने (थ्रेस होल्ड) प्रावधान राख्ने, पार्टीको विधानमा प्रतिवद्धता जनाएबमोजिम काम नगर्ने दललाई कस्तो खालको दण्डसजाय गर्ने ? भन्ने स्पष्ट हुन नसक्दा अनावश्यक तरिकाले दल खोल्ने कार्य बढ्दै गएको हो । अहिले संविधानसभाको दोस्रो निर्वाचन हुने हल्ला चलिरहेको छ । यसैलाई मध्यनजर गर्दै विभिन्न व्यक्ति आफूले दल खोलेको र अब दर्ता प्रक्रियामा लागेको हँुदा समाचार छापिदिनु पर्‍यो भन्दै सञ्चारगृह धाउन थालेका छन् । यदि निर्वाचन क्षेत्र घटाउने, थोरै संख्याको संविधानसभा बनाउने र थ्रेस होल्डको दह्रो व्यवस्था गर्ने हो भने अहिले देखापरेका धेरैजसो दल निर्वाचनको क्षेत्रसम्म पुग्ने छैनन् । कुनै जनाधार नभएका, राष्ट्र र जनताप्रति कुनै दायित्व निर्वाह गर्न नसक्ने र जनताका नजरमा दोषी ठहरिएकाहरू नै नेता बन्ने परिपार्टी स्थापित गरिनु हुँदैन । तसर्थ, सम्बन्धित निकायलगायत सबै ठूला दल र सरकारले गम्भीरतापूर्वक सोच्नुपर्छ । र, जनअपेक्षा अनुरूप काम गर्न थोरै संख्याको संविधानसभा निर्माण गरिनुपर्छ । लाजमर्दो गरी दल खोल्ने प्रक्रिया रोकिने अवस्था सिर्जना गर्न सक्नुपर्छ ।

प्रतिक्रिया