प्रभावकारी बन्दै सामुदायिक स्वास्थ्य बिमा

देउखुरी, २५ वैशाख । ‘बिरामी हुने बित्तिकै पैसाको चिन्ता हुन्थ्यो, खल्तीमा पैसा नहुँदा घरका सदस्य बिरामी हुँदा अस्पताल लैजानुअघि पैसा खोज्न गाउँ चहार्नुपर्ने बाध्यता थियो तर अहिले त्यो समस्या हटेको छ,’ चैलाही–७ सेम्रोहवाकी मंगला चौधरीले ६ वर्षअघिको समस्या सम्भँmदै भनिन्, ‘अहिले सामुदायिक स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि निर्धक्क भएर स्वास्थ्य केन्द्रमा जान थालेका छौँ ।’
प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामुदायिक स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि पैसा नहुँदा पनि उपचारका लागि स्वास्थ्य केन्द्र पुग्ने बिरामीको संख्या बढ्दो छ । ‘कोही बिरामी भयो भने अस्पताल पुर्‍याउन पैसा खोज्नुपर्ने हुन्थ्यो तर अहिले त्यस्तो समस्या छैन,’ मंगलाले भनिन्, ‘अलिकति केही हुनेबित्तिकै स्वास्थ्य केन्द्र पुगिहाल्छौँ ।’
दिनमा सयभन्दा बढी विरामी स्वास्थ्य केन्द्र पुग्छन् । बिरामीले उपचार र औषधि नि:शुल्क पाउने भएकाले पनि बिरामीको चाप स्वास्थ्य केन्द्रमा बढेको हो ।
‘पाँच हजारसम्मको औषधि, एक्सरे, ल्याबलगायत अन्य सेवा नि:शुल्क भएकाले पनि बिरामीको चाप वढेको हो,’ स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद गोराथोकीले भने, ‘स्वास्थ्य बिमा भनेको हुनेले नहुनेलाई, स्वस्थले विरामीलाई सहयोग गर्ने कार्यक्रम हो ।’
६ वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि बिरामीलाई उपचारमा सजिलो भएको हो । चैलाही, सतवरिया, राजपुर, बेला, गढवा र सोनपुर गाविसका बासिन्दालाई बिरामी परेका बेला उपचारका लागि निकै सजिलो भएको छ । बिरामी हुँदा अहिले डराउनु नपर्ने सतवरियाकी मीना मगरले बताइन् । ‘बिरामी हुँदा डराउन पर्दैन’ उनले भनिन्– ‘सबै चेक जाँच गरी नि:शुल्क रूपमा औषधि र उपचार पाइन्छ ।’
६ जनासम्म सदस्य रहेको एक परिवारले वर्षमा एक हजार तिरेर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था छ । ‘६ जना सदस्य रहेको परिवारलाई  बिमा गराउँदा वार्षिक हजार रुपियाँ लाग्छ,’ स्वास्थ्य केन्द्रका लेखापाल नित्यानन्द भट्टराईले भने– ‘संख्या बढी भए प्रतिसदस्य सय रुपियाँ थप गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया