झलनाथको झेल र एमालेको ढुलमुल

JN–    उच्चस्तरीय राजनीतिक समितिमा रिक्त संवैधानिक निकायमा पदपूर्ति गर्ने विषयमा छलफल हुँदा अख्तियार प्रमुखमा पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीको नामलाई एमाले अध्यक्ष झलनाथ खनालले पनि सदर गरे । तर, त्यसलगत्तै ३ वैशाखमा बसेको एमाले पोलिटब्युरो बैठकले आफ्नै अध्यक्षले गरेको सिफारिस फिर्ता लिन दबाब दिने निर्णय गर्‍यो । संवैधानिक परिषद्को बैठकले आइतबार कार्कीको नाम सिफारिस गरेकै दिन पोलिटब्युरो बैठकले नियुक्ति रोक्न माग गर्दै राष्ट्रपतिसमक्ष लिखित माग गर्ने निर्णय गर्‍यो । अध्यक्ष खनाल जवाफहीन र लाचार देखिए । पार्टी निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले शीतलनिवास पुगेर राष्ट्रपतिलाई पत्र बुझाए ।
–    एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति रुकमांगद कटवाललाई हटाउन समर्थन दिएर एमाले अध्यक्ष झलनाथ खनाल चीन भ्रमणमा गए । र, फर्केर आउँदा कटवालमाथि कारबाहीको निर्णयविरुद्ध उनी राष्ट्रपति गुहार्न पुगे । त्यसले नेपाली राजनीतिलाई लामो समयसम्म मुठभेडमा उभ्यायो ।
–   आफ्नो नेतृत्वमा सरकार गठन गर्न अध्यक्ष झलनाथ खनालले पार्टीलाई थाहै नदिई एमाओवादीसँग सातबुँदे सहमति गरे । पछि केन्द्रीय कमिटीमा त्यसको विरोध भयो र त्यही विवादले लामो समयसम्म खनालले मन्त्रिपरिषद् विस्तार गर्न सकेनन् । अन्य दलसँग गरेको सहमतिमा एमालेले स्वामित्व लिन आनाकानी गरेकाले खनाल सरकार लामो समय टिक्नै सकेन ।
–    झलनाथ खनाल नेतृत्वको सरकारमा एमाओवादीको तर्फबाट थप भएका मन्त्रीलाई शपथ गराउने कि नगराउने भन्ने विवादमा अध्यक्ष खनाल एकातिर र स्थायी समिति अर्काेतिर उभिएर मुलुकलाई त्यतिबेला पनि गहिरो राजनीतिक अन्तरविरोधमा एमालेले नै धकेल्यो ।
–    माधव नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि दुईतिहाइ बहुमतको सरकारबिना कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने एमालेको निर्णयले १७ पटकसम्म परिणामहीन प्रधानमन्त्रीको चुनाव भइरह्यो । तर, लामो समयसम्म मुलुकलाई अनिर्णयको बन्दी बनाएको एमालेले पछि अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन बुहमतीय सरकारलाई पनि मतदान गर्ने निर्णय गर्‍यो ।

प्रतिक्रिया