महाधिवेशनको मुखमै राप्रपा विभाजनको संकेत

lokendra bd chandकाठमाडौं, २४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन बरिष्ठ नेताहरुले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै छुट्टै सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
राष्ट्रिय जनशक्ति पार्टी र राप्रपाबीच जेठ पहिलो साता हुन लागेको एकताको महाधिवेशनको मुखमै राप्रपाका तीन शीर्ष नेताहरुले आज दिउँसो नेता तथा कार्यकर्ताहरुसंग परामर्शका लागि छुट्टै सम्पर्क कार्यालय स्थापना गरेका हुन् । राप्रपाका बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द, राजेश्वर देवकोटा र ध्रुवबहादुर प्रधानले नक्सालस्थित गहनापोखरी नजिकै सम्पर्क कार्यालय स्थापना गरेका हुन् । हिजो राजपा र राप्रपाका शीर्ष नेताहरुबीच भएको छलफलमा गणतन्त्र स्वीकार गर्ने या नगर्ने भन्नेमा चर्को विबाद भएको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार अधिकांश नेताहरुले गणतन्त्र स्वीकार गर्नुपर्ने बताएपनि चन्द, देवकोटा र प्रधानले भने गणतन्त्रका बारेमा जनमत संग्रहमा जानुपर्ने अडान राखेका थिए । राप्रपा र राजपाको नेतृत्वले अरु दलको लहलहैमा लागेर गणतन्त्र स्वीकार गरेको भन्दै यी तीन नेताहरु असन्तुष्ट बनेका हुन् । असन्तुष्ट तीनै नेताहरुले जनमतसंग्रहको परिणाम आफुहरुले स्वीकार्ने भन्दै जनमत संग्रहमा जानुपर्ने अडान राख्दैआएका छन् । असन्तुष्ट तीनै नेताहरु आफ्नो मागको उचित सुनुवाई नभए पार्टी विभाजन गर्ने तयारीमा समेत रहेको स्रोतले बतायो । सम्पर्क कार्यालय स्थापना गरेर नेता तथा कार्यकर्ताको बिचार बुझ्ने उनीहरुको मसशाय रहेको बुझिएको छ । चन्द, देवकोटा र प्रधान राप्रपाका बरिष्ठ तथा प्रभावशाली नेता हुन् । कार्यकर्ताहरु माझ पनि राम्रंो पकड रहेका यी नेताहरुको मागको सुनुवाई नभए आसन्न एकताको महाधिवेशनमा समेत असर पर्ने दुबै पार्टीका नेताहरु बताउँछन् । राप्रपा र राजपाको एकताको महाधिवेशन आउँदो जेठ ३ ,४ र ५ गते काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया