निर्वाचन कानून निर्माणमा राष्ट्रपतिको चासो

Rastapati-Bhawan-n-Officeकाठमाडौं, २४ वैशाख । राष्ट्रपति डा.रामवरण यादव र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबीच निर्वाचन र  संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका विषयमा परामर्श भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटबार्तामा निर्वाचन सम्बन्धी कानून र तयारीका विषयमा छलफल भएको अध्यक्ष रेग्मीका प्रेस सल्लाहाकार विमल गौतमले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त गर्ने निर्णयको विरोध भए लगत्तै डा.यादव र रेग्मीबीच भेट भएको हो ।
‘राष्ट्रपति डा.रामवरण यादवले निर्वाचन सम्बन्धी कानून र तयारीका विषयमा छिटो प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता दर्शाउनुभएको छ,’ भेटपछि जारी विज्ञप्तिमा भनिएको छ ।
भेटमा संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा छलफल भएको गौतमले बताए । ‘सुशासनका लागि सबै संवैधानिक निकाय पूर्ण रुपमा क्रियाशील हुनुपर्ने बताएका डा.यादवले त्यसका लागि आवश्यक संख्यामा कानून बमोजिम पदाधिकारी नियुक्त गर्ने प्रक्रिया अघि बढाई पूर्णता दिनुपर्ने उल्लेख गरे ।
डा.यादवको सुझाव पछि जवाफमा अध्यक्ष रेग्मीले आवश्यक छलफल गरी यथासम्भव छिटो प्रक्रिया अघि बढाइने बताए । सल्लाहाकार गौतमले छलफलमा निर्वाचनलाई प्राथमिकतामा राखी सरकार सक्रियताका साथ अघि बढेको जानकारी राष्ट्रपतिलाई गराएको बताए ।

प्रतिक्रिया