कार्कीको निर्णय फिर्ता गराउन विद्यार्थी प्रदर्शन

Lokmanshin-Karkiकाठमाडौं, २४ वैशाख । पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिस गर्ने निर्णय विरुद्ध विभिन्न विद्यार्थी संगठनहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।
मंगलबार विहानै विभिन्न क्याम्पस अगाडि भएका प्रदर्शनका कारण राजधानीको यातायात व्यवस्था केही समय प्रभावित भएको महानगरीय प्रहरीले जनाएको छ । क्याम्पस अगाडि सडकमा उत्रिएर प्रदर्शन गरेका विद्यार्थी संगठनहरुले सरकारी गाडीलाई निशाना समेत बनाए ।
उनीहरुले अन्तिरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र कार्की विरुद्ध नारावाजी गरेका थिए । कार्कीलाई प्रमुख आयुक्त बनाउने सिफारिससहितको निर्णय खारेज नहुँदा सम्म आन्दोलन जारी राख्ने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
प्रमुख चार राजनीतिक शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सुझावमा संवैधानिक परिषदले जनआन्दोलन दवाउन भूमिका खेलेका पूर्व मुख्य सचिव कार्कीलाई अख्यिारको प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय भए पछि विद्यार्थी संगठनहरु सडकमा उत्रिएका हुन् ।
प्रदर्शनमा नेविसंघ, एमाले निकट अनेरास्ववियु, नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया