‘बजार घट्नुपर्ने कुनै आधार छैन’

काठमाडौं, २४ वैशाख । बैंक तथा वित्तिय संस्थाको ७० प्रतिशत सेयरमध्ये १९ प्रतिशत सेयरलाई सिधै धितोपत्रको दोस्रो बजारमार्फत खरिद बिक्री गर्न सकिने व्यवस्थापछि बजारमा अत्यधिक सेयर बिक्रीमा आउने त्रासले बजार घटेको छ ।
विगत दुई सातादेखि लगातार बजार घटिरहेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले सेयर बजारमा एकैचोटी सेयरको बाढी आएर सेयर बजार घट्छ भन्ने हल्ला गलत भएको बताए । हाल बजार घट्नुपर्ने कुनै आधार नरहेको बताए । उनले भने, ‘नेपाल राष्ट्र बैंकले २ प्रतिशतभन्दा बढीको संस्थापक सेयर बिक्री गर्दा केन्द्रीय बैंकको अनुमति लिनुपर्ने व्यवस्था गरेकाले एकैचोटी सबै सेयर बजारमा आउने सम्भावना एकदमै कम छ । बजारमा लगानीका अतिरिक्त क्षेत्र नरहेको अवस्थामा बोर्डले संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्न सहज पार्दैमा सबै लगानीकर्ता एकैपल्ट बजारमा आउँदैन ।×’
नेपाल धितोपत्र बोर्डका निर्देशक नीरज गिरीले बोर्डले संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गरेर बेच्न खुला गरे पनि बजारमा अहिलेसम्म कुनै पनि संस्थापक सेयरधनीले सेयर नबेचेको बताए । ‘बजारमा संस्थापक सेयरलाई साधारण सेयरसरह नै बिक्री गर्न दिएपछि धेरै सेयर एकैचोटी बजारमा आउँछ भन्ने हल्ला मात्रै चलेको हो । वास्तविकता त्यस्तो छैन,’ उनले भने, ‘कति प्रतिशतसम्म संस्थापक सेयरधनीको सेयर बजारमा आउँला भन्ने अहिलेसम्म अध्ययन नभएकाले यसै भन्न नसकिने अवस्था रहे पनि विज्ञहरूको कुराकानीका आधारमा ५ प्रतिशतभन्दा तल नै संस्थापक सेयरको खरिद बिक्री हुने अनुमान छ ।’ बोर्डका अध्यक्ष श्रेष्ठले भने १ प्रतिशतभन्दा तल मात्रै संस्थापक सेयरको कारोबार हुने ठोकुवा गरे ।
निर्देशक गिरीले संस्थापक सेयरधनीलाई अनावश्यक अवरोध खुला गर्ने मनसायले मात्रै थपव्यवस्था गरिएको बताउँदै यसबाट बजारमा नकारात्मक असर पर्न सक्ने अवस्था नरहेको बताए । बजारलाई व्यवस्थित रूपमा बजार चलायमान बनाउन बोर्डले थपअध्ययन गरिरहेको बताउँदै निर्देशक गिरीले लगानीकर्तामा कुनै मनोवैज्ञानिक असर पर्ने र आत्तिनुपर्ने अवस्था नरहेको बताए । पछिल्लो समय दोस्रो वित्तिय विवरण प्रकाशित गरेका प्राय: बैंक तथा वित्तीय संस्थाको आर्थिक सुचांक सकारात्मक नै रहेकोले पनि बजार घट्नुपर्ने आवश्यकता नरहेको बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष श्रेष्ठले बजारमा विस्तारै नयाँ–नयाँ उपकरण परिचित गराउँदै लगेको बताउँदै सामूहिक लगानी कोष, क्रेडिट रेटिङ एजेन्सी, सिडिएस जस्ता उपकरणले आगामी दिनमा बजारलाई अझै परिस्कृत बनाउँदै लैजाने बताए । चालु आर्थिक वर्षको पहिलो आठरनौं महिनामा १९ वटा कम्पनीको ५ अर्ब २७ करोड ४४ लाख ६० हजार साधारण सेयर र २ कम्पनीको १४ करोड ८० लाख कित्ता हकप्रद सेयर जारी गर्न स्वीकृति दिइसकिएको बताए । सो अवधिमा ४५ वटा कम्पनीको ३ अर्ब ३० करोड ९७ लाख ९३ हजार बराबरको बोनस सेयरसमेत सुचिकृत भएका छन् ।
सिभिल बैंक र कमर्ज एन्ड ट्रस्ट बैंकको प्राथमिक सेयर निष्काशनमा १० गुणाभन्दा बढीको सेयर आवेदन परेकाले बजारमा लगानीकर्ताको उत्साह बढेको देखिएको निर्देशक गिरीले बताए । दोस्रो बजारको विश्लेषण गर्दा गत आवको अन्तिम दिन ३ सय ९० को हाराहारीमा रहेको सेयर बजार गत आइतबासम्म ४ सय ८७ को हाराहारीमा पुगेको एवं दैनिक औसत सेयर कारोबारमा समेत वृद्धि भएकाले यसबाट लगानीकर्ता विस्तारै सेयर बजारतिर थप आकर्षित भएको देखाएको निर्देशक गिरीले बताए ।

प्रतिक्रिया