शिक्षाका हाकिमजति विदेश

काठमाडौं, २४ वैशाख । विद्यालय तहमा पाठ्यपुस्तक अभाव खट्किरहेका बेला शिक्षा मन्त्रालयका उच्च अधिकारी विदेश सयरमा निस्किएका छन् । त्यति मात्र होइन, शिक्षासँग सम्बन्धित निकायका अन्य हाकिम पनि कार्यालयमा भेटिँदैनन्, अधिकांश बाहिर–बाहिरै छन् ।
नयाँ शैक्षिक सत्र सुरु भएको एक महिनासम्म पनि विद्यार्थीको हातमा किताब नपुगेको अवस्थामा उनीहरू स्वदेश तथा विदेशभित्र हुने विभिन्न कार्यक्रमका नाममा भ्रमणमा निस्किएका छन् । विद्यालय तहमा ४० लाख पाठ्यपुस्तक अभाव छ । पुस्तक कसरी विद्यार्थीको हातमा पुर्‍याउने भन्ने पहल नगरी मन्त्रालयका उच्च अधिकारी एक साता लामो विदेश भ्रमणमा छन् । शिक्षासचिव सोमलाल सुवेदी, मन्त्रालयका प्रवक्ता महाश्रम शर्मा, शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थी र निर्देशक टेकनारायण पाण्डे साताव्यापी विदेश सयरमा निस्किएका हुन् ।
‘विद्यार्थीको हातमा पुस्तक पुगेको छैन । निजी विद्यालयले चर्को शुल्क उठाइरहेका छन्,’ स्रोतले भन्यो, ‘तर, समस्या समाधान नगरी कोही हाकिम देशभित्र र कोही विदेश भ्रमणमा हिँडेका छन् ।’ वैशाखयता ५० लाख पुस्तक छाप्न बाँकी रहेको जनक शिक्षा सामग्री केन्द्रले जम्मा साढे १० लाख थान मात्र छापेको छ । वैशाखभित्र सबै पुस्तक छापिसक्ने देखिन्न । विद्यार्थीको हातमा कहिले पुग्ला ? तर, जिम्मेवार कर्मचारी भने समस्या नै नभएजसरी भ्रमणमै रहनु राम्रो नभएको सरोकारवाला बताउँछन् ।
शिक्षा सचिव सुवेदी र विभागका महानिर्देशक डा. अवस्थी आइतबार अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिन भन्दै लाइबेरिया पुगेका छन् भने मन्त्रालयका प्रवक्ता शर्मा र विभागका निर्देशक पाण्डे दक्षिण कोरियामा छन् । शिक्षासचिव सुवेदीलाई दक्षिण कोरिया जान लागेका बेला शिक्षामन्त्रीले रोके पनि उनी पछि लाइबेरिया उडेका हुन् । प्रशासनमा उनीहरू कुन कार्यक्रमका लागि विदेश गएको भन्ने जानकारी नै छैन । प्रशासनमा उनीहरूले ‘सरकारी कामका सिलसिलामा भनेर’ विदेशमा हुने कार्यक्रममा निस्केको स्रोतले बतायो ।
‘विदेश गएको भन्ने थाहा छ तर कुन कार्यक्रमका लागि गएको भन्ने थाहा छैन,’ स्रोतले भन्यो । स्रोतका अनुसार दक्षिण कोरियामा एक विश्वविद्यालयसँग सम्झौताका लागि मन्त्रालयका प्रवक्ता शर्मा र विभागका निर्देशक पाण्डे गएका छन् । शिक्षा सचिव र महानिर्देशक कुन कार्यक्रममा गएका हुन् भन्ने मन्त्रालयका अधिकारी पनि अनविज्ञ छन् । ‘हामीलाई त्यसै दिन लाइबेरिया हिँड्यौँ मात्र भन्नुभयो तर कुन कार्यक्रममा जान थालेको भन्ने भन्नुभएन,’ एक कर्मचारी भने, ‘कुन कार्यक्रममा गएको थाहा छैन ।’
यस्तै, अन्य कर्मचारी पनि विभिन्न गोष्ठी गर्न तथा कक्षा १२ को परीक्षाको अनुगमनका लागि भन्दै देश दौडाहामा निस्किएका छन् । कोही हेटौँडा, कोही चितवन र कोही पोखरामा छन् । मन्त्रालयका उच्च तहका कर्मचारी बाहिर भएपछि चौथो वरीयता क्रमका सहसचिव जीवन शर्मा निमित्त शिक्षासचिव भएका छन् । यसअघि निमित्तको जिम्मेवारी पाएका सहसचिव सूर्यप्रसाद गौतम पनि बेरुजु गोष्ठीका लागि पोखरा गएपछि शर्माले जिम्मेवारी पाएका हुन् । तीन निर्देशक रहेको विभागमा कोही पनि छैनन् । विभागको निमित्त महानिर्देशक कमल पोख्रेल पनि हेटौँडामा गोष्ठीमै सहभागी भएका छन् भने अर्का निर्देशक डिल्लीराम शर्मा चितवनमा भइरहेको बेरुजु गोष्ठीमा छन् ।
मन्त्रालयले दातृसंस्थासँग विद्यालय क्षेत्र सुधार कार्यक्रम ३० वैशाखदेखि ३ जेठसम्म गर्ने भनेको छ । तर, मन्त्रालयका नीतिनिर्माण तहमा रहेका उच्च अधिकारी बाहिर जाँदा आवश्यक तयारी पनि पूरा नहुने देखिन्छ ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक दिवाकर ढुंगेल पनि दुई सातादेखि विदेशमा छन् । आफ्नो छोरीको दीक्षान्त समारोहमा भाग लिन उनी ९ वैशाखमा अस्ट्रेलिया उडेका थिए । उनी अझै फर्केका छैनन् ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले मन्त्रालयका अधिकारीले शिक्षालाई पहिलो प्राथमिकतामा नराखी विदेशी कार्यक्रममा गएको बताए । ‘अहिले विद्यार्थीको हातमा पुस्तक पुगेको छैन, चर्को शुल्क कायमै छ,’ भण्डारीले भने, ‘तर, यसको समस्या सामधान गर्नेतर्फ अधिकारीहरू ध्यान नदिएर विदेशतिर हान्निएका छन् ।’
उच्च माध्यमिक शिक्षा परिषद्का उच्च अधिकारी कक्षा १२ को परीक्षाको अनुगमनमा देश दौडाहामा छन् । परिषद्का उपाध्यक्ष हेमकुमार मिश्र, सदस्य–सचिव भीमलाल गुरुङ, प्रवक्ता नारायण कोइराला, देवीप्रसाद बराकोटी, रामेश्वर उपाध्याय, अनिल झा, कामु पाठ्यक्रम विकास केन्द्रप्रमुख रामचन्द्र पाण्डे पनि अनुगमनका लागि देशका विभिन्न क्षेत्रमा पुगेका छन् ।

प्रतिक्रिया