प्रेसिडेन्ट कपको तयारी पूरा

काठमाडौ, २३ वैशाख । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबारदेखि काठमाडौंमा सुरु हुने एएफसी प्रेसिडेन्ट कप छनोट खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । फुटबलमा कमजोर एसियाली १२ मुलुकका लिग च्याम्पियन सहभागी हुने प्रतियोगिताको समूह ‘ए’का खेल नेपालमा हुन लागेको हो । जसमा नेपालको थ्री–स्टार क्लब सहभागी हुनेछ । थ्री–स्टार २०६९ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन हो । समूह ‘ए’मा थ्री–स्टारसहित बंगलादेशको अबहानी लिमिटेड, मंगोलियाको इरचिम फुटबल क्लब र ताइपेईको ताइबान पावर कम्पनी छन् । पहिलो खेलमा थ्री–स्टारले मंगलबार अबहानी, बिहीबार इरचिम र अन्तिम खेल शनिबार ताइबान पावर कम्पनीसँग खेल्नेछ । प्रेसिडेन्ट कपमा नेपालको यो दोस्रो सहभागिता हो । सन् २००५ मा काठमाडौंमै भएको प्रेसिडेन्ट कपको पहिलो संस्करणमा थ्री–स्टारले सेमफिाइनलसम्मको यात्रा तय गरेको थियो । तीन समूहका शीर्ष दुई गरी कुल ६ क्लबले असोजमा फाइनल चरण खेल्नेछन् ।

प्रतिक्रिया