शिविर स्थगित

धनकुटा : जिल्ला प्रशासन कार्यालय धनकुटाले सोमबारदेखि मुढेबास गाविसमा सञ्चालन गर्न लागेको एकीकृत घुम्ती शिविर सुरक्षाको कारण देखाउँदै स्थगित गरेको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले एकीकृत घुम्ती शिविर तत्काल बन्द गर्न माग गर्दै अनिश्चितकालीन आमहड्तालमा उत्रिएपछि सुरक्षाको कारण देखाउँदै घुम्ती शिविर स्थगित गरिएको प्रशासनले जनाएको छ । सरकारले जनतालाई घरदैलोमा गएर सेवा दिने उद्देश्यले सञ्चालन गरेको घुम्ती शिविरमा नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली संकलन, अपांता परिचयपत्र, स्वास्थ्य उपचार, कृषि तथा पशु सेवा सम्बन्धी नि:शुल्क परामर्श तथा शिक्षा र सरसफाइ सम्बन्धी कार्यक्रम गाउँ–गाउँमा गएर सञ्चालन गर्दै आएको छ । घुम्ती शिविर सोमबारदेखि २५ गतेसम्म मुढेबास माविमा सञ्चालन गर्ने कार्यक्रम रहेको थियो । सोही विषयलाई लिएर परिषद्ले पूर्वका नौं जिल्लामा शनिबारदेखि अनिश्चितकालीन आमहड्ताल आह्वान गरेको छ । परिषद्ले पार्टीको घोषित कार्यक्रमअन्र्तगत २७ वैशाखमा मुढेबासको टोक्रोम्बा बजारमा आमसभाको आयोजना गरेकाले घुम्ती शिविरलाई असर पर्ने तथा आवश्यक जनशक्तिको अभावमा कार्यक्रम असफल हुन सक्ने भन्दै तत्कालका लागि स्थगित गरिएको सिडिओ प्रजिअ रामेश्वर दंगालले बताए । सो स्थानमा २८ वैशाखदेखि ३० गतेसम्म घुम्ती शिविर सञ्चालन गरिने पनि दंगालले बताए ।
तर, सोमबारदेखि नै जिल्लाको आहाले गाविसमा सञ्चालन हुने एकीकृत घुम्ती शिविर भने सञ्चालन हुने भएको छ । शिविरमा आहाले र महाभारत गाविसका सर्वसाधारण सुविधा लिने प्रजिअ दंगालले बताए । एकीकृत घुम्ती शिविरमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।

प्रतिक्रिया