शेर्पा दाजुभाइको कीर्तिमान

काठमाडौं, २३ वैशाख । संखुवासभाका दुई सहोदर शेर्पा दाजुभाइले विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गरेका छन् ।
संखुवासभाको मकालु गाविस–९ का मिङ्मा शेर्पा र छाङ्दाबा शेर्पाले विगत १३ वर्षको अवधिमा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल चढेर विश्वकीर्तिमान बनाएका हुन् । सन् २००० देखि उनीहरू ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्न थालेका हुन् । बाँकी चारसहित ६ दाजुभाइ ने एकैपटक सगरमाथा चढेर अर्को कीर्तिमान कायम गर्ने तयारीमा छन् ।
‘एकै परिवारका दुई दाजुभाइले ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढेको विश्वमै पहिलो हो, दाजुभाइले रचेको विश्वकीर्तिमानलाई गिनिज बुकमा लेखाउनका लागि प्रक्रिया अघि बढाउँछौँ,’ मिङ्माले आइतबार आयोजित पत्रकार सम्मेलनमा
भने । नेपाल र तिब्बत दुवैतिरबाट उनीहरूले सगरमाथा चढेका छन् ।
८ हजार मिटरभन्दा माथिका १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली बनेका मिङ्माले सन् २०१० मा ८ हजार ५ सय ८५ मिटर अग्लो कञ्चनजंगा हिमाल चढेका थिए । ८ हजार मिटर अग्लो त्यो उनले चढेको १४औँ हिमाल थियो । त्यस्तै, उनका भाइ छाङ्दाबाले हालै ८ हजार २७ मिटर अग्लो तिब्बतको सिइसा पाङमा हिमाल चढेका थिए । उनले चढेको पनि यो १४औँ हिमाल हो ।
हालसम्म विश्वका ३१ जना पर्वतारोहीले ८ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गरिसकेका छन् । त्यस्ता आरोहीमा मिङ्मा २४ औँ र छाङ्दाबा ३१ औँ नम्बरमा छन् । सहोदर दाजुभाइले ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने आफूहरू पहिलो भएको उनीहरूको दाबी छ ।
शेर्पा दाजुभाइले ८ हजार ८ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथाका साथै ८ हजार ४ सय ६२ मिटरको मकालु, ८ हजार ५ सय ११ मिटरको लोत्से, ८ हजार ४७ मिटरको ब्रोड पिक, ८ हजार १ सय २६ मिटरको नागा पर्वत, ८ हजार १ सय ६३ मिटरको मनास्लु, ८ हजार ५ सय ८५ मिटरको कञ्चनजंघा, ८ हजार ६८ मिटरको जी–१, ८ हजार ३५ मिटरको जी–२, ८ हजार ९१ मिटरको अन्नपूर्ण, ८ हजार १ सय ६७ मिटरको धौलागिरी, ८ हजार ६ सय ११ मिटरको के–२, ८ हजार २७ मिटरको सिइसा पाङ्मा हिमालको आरोहण गरिसकेका छन् ।
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ नेपालमै छन् । शेर्पा दाजुभाइले तीबाहेक भारत र पाकिस्तानका ६ अग्ला हिमाल पनि चढेका छन् । आफ्ना ६ दाजुभाइले एकैपटक सगरमाथा चढेर अर्को विश्वकीर्तिमान बनाउने योजना आफूहरूको रहेको उनीहरूले बताएका छन् । त्यसका लागि चार दाजुभाइ सगरमाथाको आधार शिविर पनि पुगिसकेका छन् भने दुई दाजुभाइ छिट्टै जान लागेको मिङ्माले बताए ।
सामान्य परिवारमा जन्मिएका उनीहरूको हिमाल आरोहणमा विश्वकीर्तिमान कायम गर्ने लक्ष्य छ । ‘८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढेर एउटा कीर्तिमान कायम गरेका हामी एकै परिवारका ६ दाजुभाइ सगरमाथा पुगेर अर्को कीर्तिमान राख्ने प्रयासमा छौँ,’ उनले भने । जेठा दाजु ४७ वर्षीय कर्मा तेन्जिङ, माइला ३५ वर्षीय मिङ्मा, साइला ३३ वर्षीय नाबा ग्याल्जेन, काइला ३१ वर्षीय छाङ्दाबा, अन्तरे २७ वर्षीय टासी लाक्पा र कान्छा २५ वर्षीय पासाङ खुर्पा सगरमाथा चढ्न लागेका हुन् ।
मिङ्माले १६ र छाङ्दाबा १७ वर्षको उमेरदेखि हिमाल आरोहणमा लागेका हुन् । हिमाल आरोहण गर्ने क्रममा थुप्रै सुखदु:ख भोगेको र कष्टपूर्ण यात्रा गरेको अनुभव उनीहरूको छ । ‘निरन्तर रूपमा हिमाल चढ्दा थुप्रै दु:ख भोगेका र चुचुरोमा पुगेपछि खुसी भएका अनुभव छन्, हिमाल चढ्ने हाम्रो यात्रा जारी छ,’ उनले भने, ‘पर्वतारोहण क्षेत्रमा विश्वमा नेपालको नाम फैलाउन नयाँ रेडर्क कायम गर्न सफल भएका छौँ ।’

प्रतिक्रिया