आगलागीबाट तीनजनाको मृत्यु

काठमाडौं, २३ वैशाख । काठमाडौं–१९ स्थित दमाई टोलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालक र एक महिला छन् ।
प्रहरीका अनुसार आइतबार सात बजे भएको आगलागीमा मोरङ भलुवाङका ५५ वर्षीय देवकला मगर चौधरी, दोलखा  सुनखानी–७ का सात वर्षीय राजीव शिवाकोटी र तीन वर्षीय सञ्जीव शिवाकोटीको मृत्यु भएको हो । राजीव र सञ्जीव राजकुमार शिवाकोटीका छोरा हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डिएसपी चक्रबहादुर सिंहका अनुसार स्टोभ पड्किँदा आगलागी भएको हो ।
डिएसपी सिंहले देवकलाको कोठामा स्टोभ पड्किएपछि घरमा आगो सल्किएको बताए । उनले भने, ‘खाना पकाउन देवकलाले स्टोभ बालिन्, स्टोभमा दम दिँदा हावा धेरै भरिएछ । त्यही कारण स्टोभ पड्किएर आगो उनको कोठामा सल्कियो । काठको घर भएकाले तत्काल आगो निभाउने अवस्था रहेन र पूरै घर जल्यो ।’
हनुमानदास डंगोलको चारतले घर जलेर पूरै नष्ट भएको छ । देवकला र राजकुमारको परिवार उक्त घरमा भाडामा बस्दै आएका थिए । प्रहरीका अनुसार तीन घन्टाको प्रयासपछि मात्रै आगो नियन्त्रणमा आएको हो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थानीय बासिन्दा खटिएका थिए । प्रहरीका अनुसार आगलागी नियन्त्रणका लागि २ वटा दमकल र एउटा पानी ट्यांकर प्रयोग गरिएको थियो ।
अग्निनियन्त्रणका लागि खटिएका एक प्रहरीका अनुसार खबर हुनासाथ घटनास्थलमा पुगे पनि पुरानो घर भएकाले तत्काल आगो नियन्त्रण हुन सकेन । उनले भने, ‘घर पुरानो र काठले बनेको रहेछ । हामी पुग्दा आगो फैलिइसकेको रहेछ । त्यसैले घरभित्र रहेका उनीहरूको तत्काल उद्धार गर्न सकिएन ।’
स्थानीयका अनुसार घटनास्थलमा दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्राणभन्दा बहिर गएको हो । एक प्रत्यक्षर्शीले भने, ‘घरबाट धुवाँको मुस्लो निस्केको देखियो । तत्काल प्रहरीलाई खबर गरियो । घटनास्थलमा प्रहरी आए पनि दमक आउन सकेन । यस कारण पनि धनजनको क्षति हुन पुग्यो ।’ आगलागीका कारण करोडौँ रुपियाँको क्षति भएको देखिए पनि यकिन विवरण भने आइसकेको छैन ।
घटनामा खटिएका एक प्रहरीले भने, ‘चारतले घर जलेर पूरै नष्ट भएको छ । कोठामा बस्नेहरूका सबै सामान जलेका छन् । यथार्थ विवरण अहिले संकलन हुनसकेको छैन । हेर्दा करोडौँ रुपियाा बराबरको धनमाल क्षति भएको देखिन्छ । यकिन विवरण भने अनुसन्धानपछि मात्रै खुल्ला ।’

प्रतिक्रिया