श्याम र रोशनीलाई साउन्ड टिटी स्वर्ण

Tarunisकाठमाडौं, २२ वैशाख । ललितपुरका श्यामलाल ढुंगाना र काठमाडौंकी रोशनी अधिकारीले उपत्यकाव्यापी साउन्ड टेबलटेनिस प्रतियोगितमा शनिबार स्वर्ण जितेका छन् । एकल स्पर्धाअन्तर्गत श्यामले पुरुष र रोशनीले महिलातर्फ स्वर्ण जितेका हुन् । कीर्तिपुरस्थित लेबोरेटरी उमाविमा भएको पुरुषको फाइनलमा श्यामले काठमाडौंका कुशल न्यौपानेलाई ११–८ र ११–५ को सोझो सेटमा पराजित गरे । काठमाडौंका कृष्ण दाहाल र युवराज लामा तेस्रो भए । महिलाको उपाधि भिडन्तमा रोशनीले काठमाडौंकी देवी पौडेललाई सिधा सेटमा ११–९ र १५–१३ ले पाखा लगाइन् । काठमाडौंका सावित्री पौडेल र सरिता अधिकारी संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।
विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाल तथा अखिल नेपाल टेबलटेनिस संघका वरिष्ठ उपाध्यक्ष एवं टेबलटेनिस प्रमुख प्रशिक्षक वृजेन्द्र हमालले पुरस्कार प्रदान गरेका थिए । नेपाल दृष्टिविहीन टेबलटेनिस संघद्वारा आयोजित दुईदिने प्रतियोगितामा समान १५–१५ पुरुष र महिला गरी ३० खेलाडीले दुई स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
अनिल र सोनम पहिलो
यसैगरी, लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको राष्ट्रिय बहिरा टेबलटेनिस प्रतियोगिताको पुरुष एकलमा काठमाडौंका अनिल महर्जन शनिबार पहिलो भएका छन् । महिलामा ललितपुरकी सोनम थापा श्रेष्ठले स्वर्ण जितिन् । पुरुषतर्फ बुटवलका नसिब खड्का र महिलामा कास्कीकी रीमा श्रेष्ठ दोश्रो भए । राष्ट्रिय बहिरा टेबलटेनिस संघ– नेपालद्वारा आयोजित एकदिने प्रतियोगितामा समान ८–८ पुरुष/महिला खेलाडीले दुई स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया