ऐच्छिक हटाएर प्राविधिक विषयको पढाइ

काठमाडौं, २२ वैशाख । सरकारले विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पढाइ लागु गरेको छ । विद्यालय तहदेखि नै रोजगारमूलक शिक्षा दिने उद्देश्यका साथ सरकारले कक्षा ६ देखि ९ सम्म प्राविधिक विषयको पढाइ सुरु गरेको हो ।
शिक्षा विभागका उपनिर्देशक रामशरण सापकोटाले पहिलोपटक प्राविधिक शिक्षा एक सय विद्यालयमा लागू गरिएको जानकारी गराएका छन् । ऐच्छिक विषय हटाएर विभागले कक्षा ९ मा ५ विषयमा प्राविधिक शिक्षा लागु गरेको छ । सापकोटाका अनुसार परीक्षणका लागि सयवटा विद्यालयमा लागू गरिएको प्राविधिक विषय अबको शैक्षिक सत्रदेखि सबै विद्यालयमा लागु गरिनेछ । विभागले सर्लाही, मुगु, डोल्पा र मनाङबाहेकका जिल्लामा विद्यालय छनोट गरी त्यस्तो शिक्षा लागु गरिएको जनाएको छ ।
विद्यालय तहदेखि नै व्यावसायिक शिक्षा दिने उद्देश्यले प्राविधिक शिक्षा सुरु गरिएको सापकोटाले बताए । ‘साधारण शिक्षाले बेरोजगार बढे,’ उनले भने, ‘त्यसैले विद्यालय तहदेखि नै रोगजारमूलक बनाउन प्राविधिक शिक्षा लागु गरिएको हो ।’
प्राविधिक विषय थपिएपछि विद्यार्थीले एक हजार पूर्णांकको पढ्नेछन् । ६ सय पूर्णांक प्राविधिक विषय र ४ सय पूर्णांकको अंग्रेजी, नेपाली, विज्ञान र गणितको पढाइ हुनेछ । कक्षा ९ मा बाली विज्ञान, पशुविज्ञान, सिभिल इन्जिनिरिङ, इलेट्रिकल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ विषयको पढाइ हुने भएको छ । विद्यार्थीले ५ विषयमध्ये एक विषय छनोट गर्नुपर्नेछ । छनौट गरिएको विषय कक्षा ९ मै विद्यार्थीले ६ सय पूर्णांकको पढ्नुपर्नेछ । स्नातक तहमा कृषि विज्ञान र इन्जिनियरिङ पढेका शिक्षकले प्राविधिक विषयको अध्यापन गराउनेछन् । प्राविधिक शिक्षा लागु गर्ने विद्यालयले भौतिक पूर्वाधार आफैँ बनाएका छन् भने प्रयोगात्मक कक्षा भने विभागले बनाइदिने बताइएको छ ।
प्राविधिक विषय ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक हुनेछ । विद्यार्थी पाठ्यक्रमका आधारमा अध्ययन गर्नेछन् । सापकोटाले पाठ्यपुस्तक नभएको कारण विद्यार्थीलाई शिक्षकले पाठ्यक्रमका आधारमा पढाउने बताए । ‘अहिले विद्यार्थीलाई पाठ्यपुस्तक तयार छैन,’ सापकोटाले भन, ‘शिक्षक तयार पारेको ह्यान्डसआउटको आधारमा पढ्नुपर्दछ ।’ विभागले आउँदो शैक्षिक सत्रदेखि कक्षा १०  र विस्तारै उच्चमाविसम्म नै प्राविधिक विषय राख्ने तयारी गरेको छ । कक्षा ६ देखि ८ सम्म पनि प्राविधिक शिक्षा लागू गरिएको छ । प्रत्येक कक्षामा एक सय पूर्णांकको अनिवार्य प्राविधिक शिक्षा लागू गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया