सप्तरीमा भीषण आगलागी १ सय २७ घर खरानी

Saptari-Aagalagi-1राजविराज, २२ वैशाख । सप्तरीको एक नम्बर जोगिनिया–६ र ७ मा शनिबार आगलागी हुँदा एक सय २७ घर जलेर नष्ट भएका छन् । आगलागीमा करिब डेढ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
स्थानीय ज्वाला वनवरिया र धर्मनारायण वनवरियाको सगोल घरबाट विद्युत् सट भई आगलागी सुरु भएको थियो । बिहान करिब पौने दुई बजे सुरु भएको आगलागी नजिकै रहेको पोखरीको पानी प्रयोग गर्न नदिइँदा ढिलो गरी मात्र नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण दुई सय २० जना पीडित बनेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीमा मे १ प १७१३ नम्बरको एक थान मोटरसाइकल, तीन थान साइकल र तीनवटा पशुचौपायसमेत गरी डेढ करोडबराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए ।
पानीको सहज आपूर्ति हुन नसक्दा तत्काल आगो नियन्त्रणमा आउन नसकेको पीडितहरु बताउछन् । उनीहरुका अनुसार नजिकै रहेको पोखरीबाट स्थानीयले पानी ल्याउन नदिएपछि दमकलले टाढा धाउनुपरेको थियो । माछापालनमा असर पर्ने भन्दै स्थानीय चलितर सिपलियाले पोखरीको पानी प्रयोगमा रोक लगाएका थिए । बिहान ५ बजे राजविराज, विराटनगर र लहानको दमकल राजविराजस्थित कृष्णदल गणको नेपाली सेना, वरमझियाको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको थियो । विद्युत्मिटर सट भई आगलागी सुरु भएको जनाए पनि गाउँमा अत्यधिक रूपमा हुकिङ गरेको हुनाले सोही कारण आगलागी भएको हुनसक्ने सुरक्षा निकायको आशंका छ ।

प्रतिक्रिया