र पो आत्मा रूँदै छ †

Sj_cover_Front-(1)कहिलेकाहीँ आत्मा पनि बढो स्पष्टसँग बोल्दो रहेछ । अत्यन्तै मार्मिक अभिव्यक्ति लिएर मिहिन ढंगले, काव्यिक रूपमा । सजनकुमार यसरी नै बोलेका छन् आफ्ना कृति ‘र पो आत्मा रुँदै छ : एक उत्तरआधुनिक शब्दाञ्जलीमा’ । उनको काव्यिक अभिव्यक्तिले दर्शन बोलेका छन् । उनका बिम्ब र अनुप्रासहरूले आत्माको बोलीलाई बोकेर काव्यिक यात्रा गराएका छन् यस कविताको संगालोमा । ओरिएन्टल पब्लिकेशनबाट प्रकाशित यस कृतिमा दुई दर्जन कविता छन् । यी कविताहरू सात खण्डमा विभक्त छन् । ‘म र कविता,’ ‘म र मेरो देश,’ ‘म र गुरु,’ ‘म र प्रेम,’ ‘म र म’ र ‘म र आत्मा’ विभिन्न खण्डहरूका मुख्य शीर्षक हुन् । यी शीर्षकमा उभिएका सम्पूर्ण ‘म’ले लेखकको आत्माको बिम्ब बोकेका छन् । यसरी लेखक बढो होसियारीका साथ पाठकलाई आत्मासँग साक्षत्कार गराउँछन् विभिन्न कविताहरूमा ।
लेखकले भनेझैँ ‘र पो आत्माा रुँदै छ’ जो कोही पाठकलाई एक उत्तरआधुनिक शब्दाञ्जलीनै लाग्नेछ कारण यसमा देखिएका अपरम्परित तत्त्वहरूको प्रयोगले । उनले साइबर संस्कृतिलाई आफ्नो काव्यिक धरातलमा स्थान दिएका छन् । सामजिक सञ्जालमा प्रस्तुत गरेका टिप्पणीलाई टप्पक टिपेर कविताको गर्वमा रोपेका छन् । यसैगरी ठाउँठाउँमा ठूलाठूला चिन्तकहरूका उद्गारहरूलाई समेटेका छन् । अझ उनी स्वयं पात्र बनेर कविताको अन्त्यतिर वार्तालाप पनि गरेका छन् विभिन्न ठाउँमा । यसो हेर्दा यो प्रयोगवादी चिन्तनको उपज हो जस्तो लाग्छ । जे होस् यसले काव्यजगत्मा नयाँ परम्पराको स्थान भने पक्कै ओगटेको छ ।
उनको कविता पढ्दै जाँदा उनी हैन उनको आत्मा बोलेको पाइन्छ । प्रथम कविता ‘म त कवि रहेछु’ होस् या अन्तिम कविता ‘म जाँदै छु’ मा यिनीहरूमा आत्मा मुखरित हुन्छन् । त्यसैले नै होला उनले कविताको शीर्षक प्याकेजमै– ‘र पो आत्माा रुँदै छ’ राखेको । उनी कुन कुरामा सफल छन् भने– जब उनी कविताद्वारा प्रस्तुत हुन्छन् तब स्वतस्फूर्त आवाज स्वतन्त्रताको मैदानमा बिम्बसँग खेल्दै अनिर्देशिततवरले दर्शन पोख्छन् ।

–सगुन श्रेष्ठ

प्रतिक्रिया