विगत वर्तमान

avaya-shrestha-1कवि गोविन्द वर्तमान मेरा थोरै प्रिय कविको सूचीमा थिए । एउटा कवितामा उनले भनेका छन्–
जब सकिन्छु म
एक्काइसौं शताब्दीको यान्त्रिकताविरुद्ध
एक्काइसौँ शताब्दीकै ढुंगो उज्याएर
एक्काइसौं शताब्दीको व्यापारलाई
हिर्काइरहने एउटा जीव सकिनेछ
अथवा मुनाफाखोरीको खोरविरुद्ध
शब्दहरू खेलाइरहने एउटा निब सकिनेछ
फूलहरू सकिने छैनन्
तर, सुगन्धको एउटा हिस्सा सकिनेछ ।

वर्तमानको आकस्मिक निधनले उनको यही कविता साक्षात्कार भएझैँ लाग्छ । साँच्चै, असल कविको निधनले एउटा मान्छेको मात्र अन्त्य हँदैन । त्यससँगै एउटा अनुराग, अनुरागहरूको यात्राबाट पुगिने प्रेमको एउटा गन्तव्य अनि अँध्यारो र उज्यालोबीच भेद छुट्टयाउने एउटा रेखा पनि सकिँदोरहेछ ।

प्रजातन्त्र पुन:स्थापनापछि जीवनका अनेक भुमरी पार गर्दै म पनि कविताको आदिम उपत्यकामा आइपुगेको थिएँ । विरानो परदेशी वा सहर पसेको आदिवासीजस्तै म त्यहाँ नितान्त उपेक्षित थिएँ । दिनकै २५/३० वटा कविता लेख्थेँ । खाली कागजको अभावमा किताबका खाली पानाहरू भरिदिन्थँे । तिनलाई साफी गर्थें । हवाईपत्रमा सारेर साहित्यिक र साप्ताहिक पत्रपत्रिकाका ठेगाना लेखेर हुलाकको खुत्रुकेमा खसालिदिन्थेँ ।
मेरो कलेजका शुल्क, किताब र बसभाडा तिर्ने अधिकांश रकम हवाईपत्र, खाम र टिकट किन्नमै सकिन्थे । तर, चिनजानवाद, भनसुनवाद, सम्पर्कवाद, कृपावाद र अनेक वादहरूको सांङ्ले जुलुसको चापमा मेरा कविता कतै छापिँदैनथे । ०५१ सालसम्म समीक्षा साप्ताहिक र अनुराग त्रैमासिकमा बाहेक तिनले नाम चलेका पत्रपत्रिकामा कतै प्रवेशपत्र पाएनन् । त्रिचन्द्र कलेजका मेरा सहपाठी प्रकाश बस्नेत ‘गफाडी’ गजलमा छापिइरहने नाम थियो । तिनीमार्फत केही सम्पादक र गजलमा छापिइरहने नामसित परिचय हुँदा हर्ष र उत्तेजनाको च्यापुसम्म उक्लेर म सोच्थँ, मेरा लागि पनि अब बाटो खुल्यो । के खुल्थ्यो † साहित्यिक कार्यक्रममा भेटेर म तिनलाई नमस्ते गर्थे र हात मिलाउन खोज्थँे । तर, तिनले मलाई भुसुक्कै बिर्सिसकेका हुन्थे । ती बारम्बार मेरो नाम सोध्थे । चंकी श्रेष्ठ । मेरो पूर्व नाम । सुनेपिच्छे तीन ठाउँमा मुजा पर्ने गरी ती नाक खुम्च्याउँथे र नचिनेको संकेत गर्थे ।
यस्तैमा, साहित्य सन्ध्याको एउटा शृंखलामा मेरा दुई कवितामाथि गोविन्द दाइले प्रेरणादायी टिप्पणी गरेका थिए । म अनुपस्थित भेलामा समेत सम्भावनाशील कविका रूपमा मेरा कविताको चर्चा र वाचन गरेर उनले साहित्यको विकट चौतारी पुग्ने मेरो गोरेटो खोलिदिएका थिए । गोविन्द दाइले मलाई लगाएको यो तिरिनसक्नु गुन थियो ।

गोविन्द दाइको विडम्बना कति अर्थमा रुसी आख्यानकार तथा अभिनेता भासिली सुक्सिनको जस्तै थियो । सुक्सिनको मृत्यु त्यतिखेर भएको थियो जब उनी कुनै चलचित्रको छायांकनमा संवाद बोलिरहेका थिए । मृत्यु पनि क्यामरामा कैद भएको थियो । लेनिन पुरस्कार विजेता उनी सुदूर गाउँबाट मास्को आएका थिए । कथा लेखनका अतिरिक्त चलचित्रमा अभिनय गरेर जीविका चलाइरहेका थिए । उनको जीवनमा कैयन् विडम्बना थिए । मास्कोका सम्भ्रान्त वर्ग उनलाई असभ्य गाउँले ठान्थे । आफ्नै गाउँलेचाहिँ सम्भ्रान्त मान्थे । यसरी गाउँ र सहर दुवैबाट उनी निर्वासित थिए । साहित्यकारहरू उनलाई चलचित्रका मानिस ठान्थे । चलचित्रका मानिस साहित्यकार भन्थे । कतै पनि उनी सहजतासाथ स्वीकृत थिएनन् । उनको आत्मनिर्वासन अधिकार यसरी धुस्नो भएको थियो ।
यही विडम्बना हंगेरियाली कवि अतिला योजेफको थियो । उनी चित्रकारी, फोटोग्राफी, अभिनय, अनुवाद, चलचित्र निर्माण, पत्रकारीजस्ता हरेक काममा पोख्त थिए । तथापि उनलाई रोजगार दिन कोही तयार हँदैनथ्यो । उनीविरुद्ध हंगेरीका सम्भ्रान्त लेखकहरू चार हातपाउ टेकेर लागिपरेका थिए ।
हरेकजसो निजी कुराकानीमा गोविन्द दाइका आर्थिक संकटका सुस्केराहरू झस्काउने खालका हुन्थे । हो, नितान्त प्राविधिकबाहेक दाइले लेख्न नसक्ने विषय सायद थिएन । विषयमा जत्तिकै उनको जोड संरचनामा पनि हुन्थ्यो । उनका मिहिन, नरम अनि परिस्कृत गद्य त्यसको प्रमाण हो । अखबारी टिप्पणीहरूमा अतिप्रिय मानिने उच्च मारक शक्ति भएका दर्फराउने गद्य उनको थिएन । तथापि भाषाको कसीमा राख्ने हो भने उनैको गद्य स्तरीय मानिन्छ । राजनीतिक टिप्पणीका लागि भन्दा उनको गद्य अखबारका साप्ताहिक परिशिष्टहरू, साहित्यिक पत्रपत्रिका र जर्नलहरूलाई सुहाउने खालको थियो ।
आर्थिक संकटको सुस्केरा समन गर्न दाइलाई भरलाग्दो जागिरको खाँचो थियो । त्यो उनको वाणीमा पनि बेलाबेला झल्कन्थ्यो । उनी असल सम्पादक थिए । हरेकजसो विषयमा सामान्य ज्ञान राख्थे । तर, अन्तर्मुखी स्वभावका कारण उनी आफँ मुख खोल्न सक्दैनथे । त्यतिकै कसैले उनलाई जागिरको अफर गर्दैनथ्यो । कति अर्थमा उनी आफैँ जागिरे प्रवृत्तिलाई दुत्कार्थे । उनकै नजिकका मित्रहरूसमेत जागिरका लागि उनको स्वभावलाई बाधक ठान्थे । जीवनको अन्तिम अध्यायतिर रोजगारका लागि यसरी उनी अघोषित रूपमा सबैतिरबाट अस्वीकृत थिए ।
सुक्सिन, योजेफ र वर्तमान दाइको मृत्युको सिरेटो भर्खरै मुटुको एक कुनामा ठोकिएर गयो ।

सत्य हो, गोविन्द दाइ स्वभावले अत्यन्त खरा थिए । आफूलाई लागेको कुरा भन्न उनी कसैको मनोविज्ञान बुझिरहने लेठो उठाउँदैनथे । गोरखाको साहित्यिक यात्रामा डाक्टर उपाधिधारी एक समालोचकको भुइँफुट्टापन उनलाई खुबै बिझेछ । दन्याएर दनक दिइहाले । ‘भीष्म साहनी, अज्ञेयजस्ता भारतका नामी साहित्यकारले कहिल्यै आफ्नो विद्यावारिधि उपाधि साहित्यमा प्रदर्शन गरेनन् । एउटै खिरिलो वाक्य लेख्न नजान्ने तपाईँ फुर्ती गर्ने ?’ भनेर ।
गोपालप्रसाद रिमालमा समर्पित ‘सिर्जना चैत ३’ को कार्यक्रममा त्यसैगरी उनले अर्का भुइँफुट्टा पत्रकारको सातो लिएका थिए रे । पत्रकार सोध्दोरहेछ, ‘को गोपालप्रसाद ? रिमाल कि रिसाल ? कवि कि लेखक रे ? सिर्जना चैत– ३ भनेको के हो ?’ आदि । संवाददातालाई आफूले रिपोर्टिङ गर्ने विषयबारे सामान्य ज्ञानसमेत नभएको थाहा पाउँदा पत्रकारिता गरेरै त्यहाँसम्म आइपुगेका वर्तमान दाइको धैर्यको बाँध भत्कियो । उनले त्यसलाई ठाडै दपेटे र कुखुराको चल्लालाई जस्तै कार्यक्रमबाटै लखेटे ।
उनको यस्तो स्वभावको सिकार एकपल्ट म आफँ भएको छु । ०६४ सालको दसैँअघि आरोहण गुरुकुलले एसिया फाउन्डेसनको सहयोगमा झन्डै पचास जनाजति लेखक, पत्रकार, कवि, कलाकारलाई चारदिने सिर्जना शिविरमा नगरकोट लगेको थियो । कार्यक्रमको दोस्रो दिन दिउँसोको खाना खाँदै गर्दा उनले सार्वजनिक रूपमै मेरो सातो लिए । मैले मटनका दुई चोक्टा बोसो प्लेटमै छाडिदिएको थिएँ । वर्तमान दाइको रिसको पारो चढ्नुको कारण त्यही थियो । उनको विचारमा मासुजस्तो पौष्टिक खाद्य त्यसरी फाल्नु अपराध थियो । मैले खान नसकेको दुई चोक्टा बोसो उनले आफ्नै प्लेटमा राखे । (माफी चाहन्छु, यस्तो कुरा उद्घाटन गर्नुपरेकामा ।) अनि स्वभावअनुसार दम फुलाउँदै, हान्ने साँढेले झैँ आँखा पल्टाउँदै मलाई हकारे, ‘तिमी माक्र्सवादी कवि भेषका अपराधी हौ । पक्कै तिमी आफ्नो भाषा, संस्कृतिप्रति कुनै रुचि नराख्ने ठूलै सामन्त वा धनी व्यापारीको छोरा हुनुपर्छ । साधारण नेवारको छोराले यस्तो गर्नै सक्दैन ।’
गल्तीका लागि मैले माफी मागेँ र उनको आरोपको बिनम्र खण्डन गरेँ । तर, उनीसँग के लाग्थ्यो † कार्यक्रम सकिने दिनसम्मै उनले मलाई आइरनयुक्त पानीजस्तो तमतमिलो व्यवहार गर्न छाडेनन् ।
खासमा म माक्र्सवादीका नाममा प्रगतिशील बुर्जुवासम्म थिएँ हुँला । त्यस घटनामा वर्तमान दाइ मलाई बुर्जुवाको तहमै उक्लन नसकेको सामन्त ठानिरहेका थिए । यस्तो थियो वर्तमान दाइको स्वभाव । तर, उनले मेरो लेखनलाई प्रोत्साहन गर्न कहिल्यै छाडेनन् । सार्वजनिक भेलामा सबैसामु उनी मेरो अखबारी लेखन र साहित्यिक रचनाको प्रशंसा गर्थे । ०५९ सालको कुनै महिनामा हुनुपर्छ, मूल्यांकन मासिकमा प्रेरणादायी टिप्पणीसहित उनले मेरा तीन कविता छापिदिए । त्यसले समकालीन मित्र र प्रगतिशील क्षेत्रमा कविका रूपमा मेरो नाम उजिल्याउन ठूलै मद्दत गरेको थियो । त्यसपछि पनि वर्षेनिजसो दसैँ साहित्य अंकमा मागेरै मेरा कविता छाप्थे । चित्त नबुझ्दा सुधार्न लगाउँथे ।
०५५ सालतिर म तत्कालीन ‘आजको समाचारपत्र’ (हाल नेपाल समाचारपत्र) को विचारपृष्ठ सम्पादक थिएँ । त्यहाँ पारिश्रमिक दिने खासै चलन थिएन । पाठकले नपढिदिऊन् भनी कामना गर्नुपर्ने खालका लेखहरू बढी छापिन्थे । त्यतिखेर हिमालय टाइम्समा छापिने खगेन्द्र संग्रौलाको स्तम्भ ‘नयाँ चौतारी’ को म ठूलो प्रशंसक थिएँ । उनको झर्रो र तरबारझँ मारक शक्ति भएको भाषा मलाई खुबै मन पथ्र्यो । किशोर नेपाल सम्पादक भएपछि त्यहाँ खगेन्द्र दाइको स्तम्भ बन्द भयो । मेरो आग्रहमा उनी समाचारपत्रमा लेख्न तयार भए । पारिश्रमिक अत्यन्त कम थियो । पाँच सय रुपियाँ । कर काटेर ४ सय ५० । ‘पारिश्रमिक घरमै पुर्‍याउने व्यवस्था गरिदिन्छु’, खगेन्द्र दाइसँग मैले यस्तो कृत्रिम वाचा गरेको थिएँ । खासमा हाम्रो व्यवस्थापन लेखकको सम्मान गर्ने त्यस्तो संस्कृतिमा अभ्यस्तै थिएन । सम्पादक कपिल काफ्लेको सिफारिस लिएर हरेक महिना म दाइको पारिश्रमिक झिक्थेँ र समाचारपत्रको कार्यालय भीमसेनस्थानदेखि मूल्यांकनको तत्कालीन कार्यालय पुतलीसडकसम्म हतारहतार दौडँदै पुग्थँ ।
यो प्रसंग उल्लेख गर्नुमा एउटा कारण छ । खासमा गोविन्द दाइलाई मैले खगेन्द्र दाइको पारिश्रमिक पुर्‍याइदिन हुलाकीका रूपमा प्रयोग गरेको थिएँ । वर्तमान दाइले कहिल्यै आनाकानी गरेनन् ।
गोविन्द दाइ साहित्यिक, सांस्कृतिक टिप्पणी, नियात्रा र समीक्षाका लागि बढी चिनिए । उनले कथा पनि लेखेका छन् । समकालीन साहित्यमा छापिएको ‘संघारमा सुस्मिता’ बाहेक मैले उनका कथा पढ्न पाएको छैन । सबैभन्दा कम चिनिएका उनी कविका रूपमै हो । थुप्रै कवि, लेखक, पाठकलाई उनी कवि हुन् भन्ने पत्तै छैन । नवयुवा, मूल्यांकनदेखि सारा पत्रपत्रिका पढ्न भ्याउने कथाकार कुमार नगरकोटीसमेत उनलाई कवि ठान्दारहेनछन् । मुस्किलले दाइका दुई दर्जन जति कविता छापिए होलान् । तर, सबैभन्दा तिख्खर उनी कवितामै थिए । विचार, कला र लयको अनौठो सन्तुलन छ उनका कवितामा । साँच्चै भन्ने हो भने मेरा अत्यन्त थोरै प्रिय कविको सूचीमा पर्छन् उनी । मीनबहादुर विष्ट, श्यामल, विमल निभा, अविनाश श्रेष्ठजत्तिकै । ‘अस्तित्व सोच’, ‘अग्र यात्रा’, ‘समय–साक्षात्कार’ जस्ता कवितालाई सम्झे काफी हुन्छ । विडम्बना, यही व्यक्तित्वलाई उनी स्वयं ओझेल पारिरहेका थिए । नियात्राकार, निबन्धकार, अखबारी टिप्पणीकारका रूपमा उनी आफूलाई बढी चिनाउन चाहन्थे । संस्मरण र व्यक्तिचित्र उनी साँच्चिकै सुन्दर लेख्थे । तर, मलाई किन हो, उनका नियात्रा र टिप्पणी अलि बढी नै संरचनाको सिकार भएझँै लाग्छ । आक्रामक गद्यमा लेखिनुपर्ने यी कुराका लागि उनी बढी नै मिहिन गद्य प्रयोग गर्थे । तिनमा हास्य र व्यंग्यरसको एउटा महत्वपूर्ण पाटै छुटेझँै लाग्छ । अझ नियात्रामा त उनी आत्मनियन्त्रित थिएनन् । नत्र, काठमाडाँै–लाङटाङ नियात्रा ९६ पृष्ठ लम्याउनुपर्ने कुनै कारण थिएन ।

दुई वर्षअघि लेखन र पत्रकारितामा रुचि राख्ने कुलेश्वरका रैथाने बद्री सचीन नामका एक व्यक्तिले ‘नामी’ साहित्यिक पत्रिका निकाल्ने रहर गरे । भारतमा नयाँ ज्ञानोदय वा हंशजस्तै । मलाई यस्ता पत्रिकाको दीर्घ जीवनमा शंका थियो । उनले बजार व्यवस्थापनमा आफ्ना नामी मान्छेहरूको सूची देखाएर मलाई विश्वस्त हुन आग्रह गरे । सम्पादक खोजिदिने उनको आग्रहमा मैले गोविन्द दाइको नाम सिफारिस गरेँ । दुवैलाई भेटाइदिएँ । एक अंक निकालेबापत सम्पादकलाई १५ हजार । पत्रिका निस्के पनि, ननिस्के पनि पहिलो अंकको पैसा तुरुन्तै दिनुपर्ने । यो मैले राखेको प्रस्ताव । दुवै जना राजी थिए । पत्रिकाको नाम रह्यो–राइटर्स डाइजेस्ट । सायद दर्ता पनि भयो । त्यसमा समेटिने सामग्रीबारे हामीले बारम्बार छलफल गर्‍याँै । एकपल्ट सुरेश ढकाल पनि थिए । नारायण ढकाल पनि थिए कि †
दाइले त्यसमा समेट्न एउटा गहकिलो सामग्री लेख्न मलाई अफर गरेका थिए । । म तयारी गर्दै थिएँ । अनामनगरमा कार्यालय पनि खडा भइसकेको थियो । दाइले पहिलो अंकको पूरै खाका कोरिसकेका थिए । गोविन्दबहादुर मल्ल गोठालेसँग विशद् अन्तर्वार्ता गर्ने योजना बनाएका थिए । एक्कासि बद्री गायब हुन थाले । मोबाइल सधँैजसो स्विच अफ । अन हँुदा नउठ्ने । जवाफ कहिल्यै नआउने । हामीलाई उनले हैरान खेलाए । परियोजनाले त्यसै हावा खायो । दाइलाई उनले जम्मा ५ हजार मात्र दिएका थिए । सर्तअनुसार केही भएन । बाँकी दिलाइदिने मेरो प्रयास विफल भयो । बद्री पूरै गायब भए ।
गोविन्द दाइ अकास्मात् बितेर गए । मध्यस्थकर्ताका हिसाबले त्यस अपराधबोधको भारी मैले जिन्दगीभरि बोकिरहनुपर्ने भयो । बद्री अझै गायब छन् ।
गएको दसैँमा त्यतिखेर म संलग्न नागरिक दैनिकका लागि कविता पठाउन गोविन्द दाइलाई आग्रह गरेको थिएँ । त्यसैछेक बुधबारको एक बिहान ९ बजेसम्म दाइ अल्छी गरेर ओछ्यानमै अलमलिइरहेका थिए । ‘भेटेरै भनूँला’, दाइ सञ्चो नभएको जनाउ दिइरहेका थिए । उनले कविता तयार गरेका थिएनन् । मैले उनको पुरानै कविता छापेँ । त्यसको पाँच दिनपछि देवकोटा–लुसुन प्रतिष्ठान उद्घाटनमा हामीले हतपतमा हात मिलायौँ । दाइलाई मैले अस्वस्थ देखिनँ । स्वास्थ्य स्थितिबारे सोधपुछ गर्ने होसै भएन ।
त्यसको पाँच दिनपछि महाअष्टमीका दिन विवेक सिर्जनशील प्रकाशनका विजयराज आचार्यले फोन गरे ।
‘गोविन्द दाइ गए रे नि, हो ?’
‘को गोविन्द दाइ ? कहाँ गए ?’ मनमा शंकाको चिसो पसे पनि पत्याउन नचाहेर मैले सोधँ ।
‘गोविन्द वर्तमान नि † आज बिहान ९ बजे टिचिङ हस्पिटलमा बितेछन् । ल साथीभाइलाई खबर गरिदेऊ र आर्यघाट आइहाल ।’
त्यो कस्तो पत्याइनसक्नु खबर थियो † मनभित्रै गोविन्द दाइसँग पहिलोदेखि अन्तिम भेटसम्मको सम्झनाको रिल रिङरोडमा गाडीजस्तै फनफनी घुमिरहेको थियो ।

सुक्सिन, योजेफ र वर्तमान दाइको मृत्युको सिरेटो मुटुको एक कुनामा फेरि ठोकिएर गयो ।
म पनि त पत्रकारका नजरमा साहित्यकार । साहित्यकारका नजरमा पत्रकार । कथाकारका नजरमा कवि । कविका नजरमा कथाकार । गाउँलेका नजरमा पढैया पटमूर्ख । सहरिया सम्भ्रान्तको नजरमा असामाजिक गाउँले । जातीय सांस्कृतिक अधिकारको पक्षपाती भए पनि जातिवादको विरोधी हुनाले कट्टर नेवारको दृष्टिमा गैरनेवार । जातिवादी क्षत्री, बाहुनका नजरमा मात्र नेवार, (मान्छे होइन) । संसार साझा फूलबारी हो भने यहाँ आत्मनिर्वासनको ठाउँ किन सुरक्षित छैन ?
आँखाको बिसौनीमा सुक्सिन, योजेफ र गोविन्द दाइको दुर्भाग्यको गाडी बारम्बार घुमिरहेछ । गोविन्द दाइका यी हरफसँगै–

दिनको उज्यालोमा न्यायको लास बोकेर
केही ठालूहरू विदेशतिर गए
दिनको उज्यालोमै मैनबत्ती बालेर
केही नागरिकहरू अदालततिर गए
जब सबै बाटो छेकियो मेरो निम्ति
हातको कलम लिएर म आएँ मेरो सहरमा
जब आएँ सहरमा
मतिर आए केही साहुजीका प्रश्नहरू
केही हाकिमका प्रश्नहरू
केही पुलिसका प्रश्नहरू
केही पार्टीका प्रश्नहरू
केही संविधानका प्रश्नहरू
प्रश्नहरूका माझमा जब मैले
गोड्न खोजेँ स्वाभिमानका गराहरू
मृत अवस्थामा प्रस्तुत भयो
मैले पाएको राजनीतिक स्वतन्त्रता ।

[email protected]

प्रतिक्रिया