प्रेस स्वतन्त्रता दिवस सर्वोच्चले पत्रकारलाई रोक लगाएकोमा विरोध

काठमाडौं, २१ वैशाख । सर्वोच्च अदालतले पत्रकारलाई इजलासमा जान प्रतिबन्ध लगाएकोमा पत्रकारहरूले विरोध जनाएका छन् । राजधानीमा शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा पत्रकार नेताले सर्वोच्चले गरेको इजलास प्रवेश निषेधको विरोध गर्दै बन्देज हटाउन माग गरेका हुन् । महासंघले शुक्रबार बिहान आयोजना गरेको प्रभातफेरीमा सहभागी पत्रकारले सर्वोच्च प्रशासनको उक्त कदमको विरोध गर्दै तत्काल निषेध हटाउन माग गरे ।
महासंघका महासचिव ओम शर्माले सर्वोच्चको इजलास प्रवेशमा पत्रकारलाई लगाइएको रोक तुरुन्त नहटाइए आन्दोलनमा उत्रने चेतावनी दिए । ‘श्रीमान् अदालतमा पत्रकारलाई लगाइएको बन्देज तत्काल हटाउनुस्,’ प्रभातफेरीपछि कोणसभामा शर्माले भने, ‘निषेध कायमै भए महासंघ आन्दोलनमा उत्रनेछ ।’
महासंघका पूर्वअध्यक्ष होमनाथ दाहालले प्रेस स्वतन्त्रता हनन् भएका बेला अदालतका कारण पत्रकारिता क्षेत्र जोगिएको उल्लेख गर्दै अहिले न्यायालयले गरेको निषेध हटाउनुपर्ने बताए । प्रेसमाथिको अंकुश न्यायालय स्वयंका लागि सुखद् नभएको भन्दै दाहालले वार्ताबाट समस्या हल गर्न महासंघलाई सुझावसमेत दिए ।
प्रेस स्वतन्त्रता दिवसका अवसरमा भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी पद्यमोदय मोड, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै शान्तिबाटिकामा पुगेर टुंगिएको थियो । प्रभातफेरीमा उपस्थित सबैले पत्रकारलाई न्यायालयमा गरिएको निषेधको विरोध गरेका थिए । महासंघका उपाध्यक्ष यशोदा तिमिल्सिना, प्रेस युनियनका महासचिव शिव लम्साल, प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल, क्रान्तिकारी पत्रकार संघका कोषाध्यक्ष खिलबहादुर भण्डारी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष कुमार शाह, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले पनि न्यायालयको कदमको विरोध गरे । गत वर्ष देशभर २ सय २७ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको महासंघ उपाध्यक्ष तिमिल्सिनाले जानकारी दिएकी थिइन् ।
सन् १९९३ मा अफ्रिकी मुलुक नामिबियामा भएको पत्रकारको आन्दोलनको निर्णयअनुरूप सन् १९९४ देखि मे ३ तारिखका दिन विश्वभर यो दिवस मनाइदै आएको छ । संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त यो NN-KTM-pressदिवस नेपालमा सन् १९९७ देखि मनाउन थालिएको हो ।
यसैबीच, प्रेस चौतारी नेपालले दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै न्यायालयले पत्रकारलाई समाचार संकलनमा लगाएको रोकप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस स्वतन्त्रताप्रति कोइरालाको प्रतिबद्धता
काठमाडौं : कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो पार्टी सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार विज्ञप्ति जारी गर्दै सभापति कोइरालाले प्रेस स्वतन्त्रप्रति प्रतिवद्धता जनाएका हुन् ।
‘निर्भिक, निष्पक्ष, स्वच्छ र स्वतन्त्र प्रेसको पक्षमा नेपाली कांग्रेस सधैँ  लागिरहनेछ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यस दिनले संसारभरिका सम्पूर्ण पत्रकारलाई आफूले स्वतन्त्र पत्रकारिताको हक सुरक्षा गरेको इतिहासलाई मात्र सम्झाउँदैन, अधिकार रक्षाको निमित्त सजग भएर लागिरहने प्रेरणा पनि प्रदान गर्छ ।’ अन्याय, अत्याचार र विसंगतिको विरोध गरेर समाजलाई समुन्नत गन्तव्यमा पुर्‍याउन सधैँ सचेत भएर लागिरहन उनले पत्रकारिता जगत्लाई आह्वान गरेका छन् ।
पत्रकार सुरक्षाबारे कानुन बन्दै
प्रेस चौतारी नेपालले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारको सुरक्षालगायतका विषयमा ध्यानाकर्षण गराउँदै गृहमन्त्री माधव घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री घिमिरेले पत्रकार सुरक्षाका लागि छुट्टै कानुन बनाउन लागेको जानकारी दिएका छन् ।
त्यसका लागि सरकारले प्रक्रियाअघि बढाइसकेको जानकारी उनले दिए । प्रेस स्वतन्त्रताको सुनिश्चितता नभए लोकतन्त्र नै खतरामा पर्ने भन्दै घिमिरेले कुनै पनि बहानमा संचरकर्मीमाथि हुने आक्रमण सरकारलाई सह्य नहुने बताएका थिए । ‘पत्रकारिता क्षेत्र मानवअधिकारको रक्षक भएका कारण पनि पृथक कानुन निर्माण गरेर उनीहरूको सुरक्षामा ध्यान दिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया