३३ दललाई चुनावमा ल्याइने

काठमाडौं : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति सुशील कोइरालाबीच आन्दोलनरत ३३ दललाई चुनावी अभियानमा ल्याउनका लागि पहल गर्ने सहमति भएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन प्रक्रियाप्रति असन्तुष्ट भई नेकपा–माओवादीलगायत दल संविधानसभा चुनावकै विरोधमा उत्रिएका बेला शीर्ष दुई नेता चुनावी माहोल बनाउने निष्कर्षमा पुगेका हुन् ।
महाराजगन्जस्थित कोइराला निवासमा शुक्रबार भएको भेटमा दाहाल र कोइराला चुनावको मिति घोषणाका लागि दलहरूले सहज वातावरण बनाउनुपर्ने निष्कर्षका साथ आन्दोलनरत दललाई मनाउन पहल गर्न सहमत भएका हुन् । उच्चस्तरीय राजनीतिक समितिको बैठक चाँडै बोलाएर चुनावविरुद्ध आन्दोलन गरिरहेका दललाई चुनावको बाटोमा ल्याउन छलफल गर्न उनीहरू सहमत भएका छन् ।
लामो समयदेखि समितिको बैठक बस्न सकेको छैन । समितिले चुनावी माहोल बनाउन नसकेको भन्दै केही दिनअघि राष्ट्रपतिले कोइरालालाई शीतलनिवासमा बोलाएर असन्तुष्टि जनाएका थिए । शुक्रबारको भेटमा दुई नेताबीच संविधानसभा चुनावको तयारी, मिति घोषणा, आन्दोलनरत दललाई सहभागी गराउनेलगायत विषयमा छलफल भएको थियो । समितिको बैठक बसेर असन्तुष्ट दलले उठाउँदै आएका माग पूरा गर्ने उपायबारे छलफल गर्ने निष्कर्षमा दुवै नेता पुगेका थिए ।
दाहालले संविधानसभाको सदस्य संख्यामा साना दल असन्तुष्ट रहेको उल्लेख गर्दै ६०१ नै पुर्‍याउन पनि छलफल गर्नुपर्ने बताएका थिए । आन्दोलनरत दललाई वार्तामा ल्याएर चुनावमा सहभागी गराउन पहल गर्नेमा दुई नेता एक मत छन् । (सौस)

प्रतिक्रिया