टिकट बिक्रीमा ठग्ने पक्राउ

चितवन : चितवनमा अवैध रूपमा हुलाक टिकट बिक्री गर्ने एकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले पूर्वी चितवनको खैरहनीमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा अवैध रूपमा हुलाक टिकट बिक्री गर्नेलाई इलाका प्रहरी कार्यालय खैरहनीले पक्राउ गरेको हो । शिविर सञ्चालन भइरहेका बेला चितवन जिल्ला खैरहनी गाविस–६ का ५० वर्षीय रामशरण घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । घिमिरेले १० रुपियाँ पर्ने टिकटलाई २० रुपियाँमा बिक्री गरेको भेटिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरहनी चितवनका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिए ।
घुम्ती शिविरमा प्रशासन कार्यालयले हुलाक टिकटलाई १० रुपियाँमा बेच्न आफ्नै कर्मचारी खटाएको भए पनि घिमिरेले २० रुपियाँमा टिकट बेचेको खबर थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक पण्डितले बताए । चितवनमा नौ वटा सरकारी कार्यालयको घुम्ती शिविरमार्फत सेवा प्रदान गर्दै आएको छ । पूर्वी चितवनको खैरहनी, चैनपुर, कठारलगायत सात गाविसका बासिन्दाले सरकारी सेवा लिइरहेको छन् । यसअघि चितवनको विकट पहाडी गाविस कोराकमा गत वैशाख १७ र १८ गते घुम्ती शिविर सञ्चालन भएको थियो ।

प्रतिक्रिया