सात दिनमा काम नभए ‘रेड एलर्ट’

heltha-mantralayaकाठमाडौँ, २० वैशाख । अधिकांश सरकारी कार्यालयमा फाइल हराएर सेवाग्राही हैरान हुने गर्छन् । तर, स्वास्थ्य सेवा विभागमा भने एकपटक सेवाग्राहीले ल्याएको फाइल हरायो भने कर्मचारी हैरानी बेहोर्छन् ।

विभागले हालै लागू गरेको कम्प्युटराइज्ड फाइल ट्रयाकिङ सिस्टमले विभागमा काम लिएर आएका सेवाग्राहीको काम सात दिनसम्म नभएमा रातो रङमा (रेड एलर्ट) फाइलको विवरण महानिर्देशकको कम्प्युटरको स्क्रिनमा देखाइदिन्छ । र, तुरुन्त सो फाइलसँग सम्बन्धित कर्मचारीले महानिर्देशकलाई स्पष्टिकरण दिनुपर्छ ।
विभागका महानिर्देशकको कोठामा जस्तै विभागले सेवाग्राहीले देख्ने गरी गेटमा पनि कम्प्युटर स्क्रिन राखिदिएको छ । सेवाग्राहीको काम सात दिनमा पनि नभएर रातो रङमा फाइलको विवरण स्क्रिनले देखाए महानिर्देशकले तत्काल सम्बन्धित कर्मचारीसँग स्पष्टिकरण लिन्छन् ।
यसको प्रभाव पनि राम्रो देखिएको छ । पछिल्लो समय विभागका कर्मचारीले सेवाग्राहीको काम कम्प्युटरमा फाइल इन्ट्री गरेको एक/दुई दिनमै गर्छन् । फाइल ट्रयाकिङ सिस्टम लागू भएपछि विभागको काममा तीव्रता आएको र विगतको जसरी सेवाग्राहीबाट फाइल हराएको गुनासो आउन छाडेको विभागका महानिर्देशक डा.मिङ्मार गेलजेन शेर्पाले बताए ।
वैशाखको पहिलो साताबाट सुरु गरिएको फाइल ट्रयाकिङ सिस्टमपछि विभागमा दैनिक एक सयको हाराहारीमा फाइल इन्ट्री हुने गरेको छ । हालसम्म इन्ट्री भएका फइल मध्ये दुईवटा बाहेक सबै काम सात दिनभित्र नै पूरा भएको विभागले जनाएको छ । सात दिनभित्र पूरा नभएका दुईवटा फाइलका विषयमा महानिर्देशकले सम्बन्धित कर्मचारीसँग स्पष्टिकरण लिएका छन् ।
स्पष्टिकरणमा कर्मचारीले दुवै फाइलको काम जिल्ला र क्षेत्रसँगको सहयोगमा गर्नुपर्ने र प्रक्रिया नै सात दिनभन्दा बढी लाग्ने जानकारी गराएका छन् । त्यसको बारेमा सेवाग्राहीलाई पनि स्पष्ट ढंगले बुझाइएको विभागले जनाएको छ ।
फाइल ट्रयाकिङले विभागमा आएका सबै काम छिटो हुन थालेपछि सेवाग्राही पनि खुसी भएको महानिर्देशक शेर्पाले बताए । ‘पहिला–पहिला त सेवाग्राहीको फाइल दैनिक जसो १०/१२ वटा हरायो भन्ने गुनासो आइरहन्थ्यो’, महानिर्देशक शेर्पाले भने, ‘जसका कारण सेवाग्राहीले पटक–पटक एकै प्रकारको फाइल बुझाइरहनु पर्ने र काम पनि निकै ढिला हुने गथ्र्यो । तर, यो सिस्टम लागू भएपछि काम फटाफट हुन थालेको छ ।’
कम्प्युटराइज्ड फाइल प्रणाली लागू भएसँगै विभागमा आएका फाइल वा चिठी अनिवार्य रूपमा कम्प्युटरमा दर्ता गरीहाल्नु पर्ने हुन्छ । कम्प्युटरमा दर्ता भएको फाइलको काम तीन दिनभित्र पूरा नभए कम्प्युटरको सफ्टवेयरले फाइललाई अटोमेटिक रूपमा नीलो रङमा बदलिदिन्छ भने सात दिनपछि रातो रङमा ।
यो व्यवस्थापछि सेवाग्राहीले कम्प्युटर स्क्रिनमा नै हेरेर आफ्नो फाइल कहाँ पुग्यो तथा के भइरहेको छ भन्ने थाहा पाउँछन् । ‘यो व्यवस्थापछि काम लिएर आएका सेवाग्राही आफ्नो फाइल कहाँ पुग्यो भनेर कोठा–कोठा चाहर्ने वा फाइल नै हरायो कि भन्ने झन्झटबाट मुक्त भएका छन्’ विभागका कर्मचारी दीपक भट्टले भने, ‘यसले गर्दा काम छिटो त भएको छँदै छ साथै कामको सिलसिलामा विभागका शाखा महाशाखामा हुने भिडभाडलाई पनि धेरै हदसम्म कम गरिदिएको छ ।’ उनले यस्तो व्यवस्था सबै सरकारी कार्यालयमा राख्न आवश्यक भएको बताए ।
विभागले फाइल ट्रयाकिङका कारण छिटो र व्यवस्थित तवरले काम गर्न सकिएको भन्दै जिल्ला, क्षेत्रका प्रमुख, कार्यालय प्रमुखको हाजिरी, कर्मचारी विवरण, कार्यसम्पादन, जिल्ला जिल्लामा औषधिको उपलब्धता, स्वास्थ्य संस्थामा उपकरणको अवस्थाका बारेमा समेत केन्द्रबाट अनुगमन गर्नसक्ने अर्को कम्प्युटराइज्ड सिस्टमसमेत विकास गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया