अमेरिका भासिँदै प्रहरीका “हाकिम”

nepal_policeकाठमाडौं, २० वैशाख । प्रहरी निरीक्षक मिलन बस्नेत अहिले अमेरिकामा छन् । असईबाट जागिर सुरु गरेका बस्नेतको दरबन्दी सिन्धुलीमा छ । उनले नेपाल प्रहरीको जागिरबाट राजीनामा त दिइसकेका छैनन् तर, फर्कने सम्भावना अत्यन्त कम छ ।

प्रहरी स्रोतका अनुसार बस्नेत अमेरिका गएको डाइभर्सिटी भिसा(डिभी) लागेर हो । तर, उनी अमेरिका हाँनिदा श्रीमती सुत्केरी हुँदा पनि बिदा नपाएको बहाना बनाएका थिए । स्रोतका अनुसार सुत्केरी श्रीमती स्याहार्नुपर्ने भन्दै उनले प्रहरी प्रशासनसमक्ष एक महिनाको बिदा मागेका थिए । एआइजी विनोद सिंहले १० दिनको मात्रै बिदा स्वीकृत गरे । त्यसको झोकमा उनी अमेरिका हानिए ।
बस्नेत मात्रै होइन, नेपाल प्रहरीका जवानदेखि माथिल्लो दर्जाका दर्जनाँै अधिकृत अमेरिका र युरोप भासिएका छन् । प्रहरी स्रोतका अनुसार कतिपय डिभी परेर गएका छन् भने कतिपय विभिन्न तरिकाले अमेरिका छिरेर उतै बसेका छन् । गएका मध्ये कतिले राजीनामा नै दिएका छन्, कति अहिले पनि बहाल नै छन् । प्रहरीको जागिर छाडेर युरोप र अमेरिकाको सामान्य काममै रमाउने बढ्न थालेपछि प्रहरी प्रधान कार्यालय चिन्तित बनेको छ ।
नेपाल प्रहरीमा राम्रा अधिकृत मानिएका डिएसपी जगदीश पोखरेल पनि अहिले अमेरिकामै छन् । उनले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा प्रमुख छँदा सुरक्षा व्यवस्थामा राम्रो सुधार गरेका थिए । पछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरोमा तानियो । ब्युरोमा छँदै राजीनामा दिएर उनी अमेरिका भासिए । पोखरेलकी श्रीमतीलाई डिभी परेको थियो ।
महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत हुँदा कार्यक्षमताकै कारण चर्चामा आएका डिएसपी विनोद खरेलले पनि जागिरबाट राजीनामा दिइसकेका छन् । संयुक्त राष्ट्र संघअन्तर्गत सुरक्षा अधिकृतको जागिर पक्का भएपछि उनले राजीनामा दिएको प्रहरी स्रोतले बतायो । अर्का डिएसएपी सुरेन्द्रबहादुर सिंह पनि राजीनामा दिएर अमेरिका लागेका छन् । आफ्ना ब्याजीसँगै बढुवा नभएको झोकमा राजीनामा दिएर उनी पलायन भएका हुन् ।
लामो समय लागुऔषध नियन्त्रण ब्युरो(तत्कालीन लागुऔषध कानुन कार्यान्वयन इकाई)मा कार्यरत डिएसपी दिवस उदास पनि अहिले अमेरिकामा नै छन् । उनकी श्रीमतीलाई डिभी परेको थियो । केही वर्षदेखि परिवारका सबै सदस्य अमेरिकामै थिए । परिवारबाट
अमेरिकामै बस्न दबाब आएपछि उनले पनि जागिर त्यागे ।
डिआइजी शारदा पराजुली त डिभी परेरै अमेरिका भासिएको बर्सांै भइसक्यो । प्रहरीलाई आएको सूचनाअनुसार उनी अमेरिकामा चौकिदारको जागिर गरिरहेका छन् । केही वर्षअघि डिभीबाटै अमेरिका गएका प्रहरी निरीक्षक सुरेश अधिकारीले पनि चौकीदारकै जागिर गरिरहेका छन् ।
नेपाल प्रहरीमा जागिर छाडेर विदेश पलायन हुने लामै लर्को छ । माथिल्लो दर्जाभन्दा तल्लो तहमा यो संख्या अत्यधिक छ । त्यसमध्ये पनि प्रहरी नायव निरीक्षक(सई) तहका धेरै छन् । स्रोतका अनुसार सईहरू ललित तिमल्सिना, दीपक कटुवाल, रञ्जित थापा, विनोद केसी, सुरेश सिंह, दीपेन्द्र कार्की, देवबहादुर हमाल, प्रदीपकुमार साह, कृष्ण खनाल, गणेश पोखरेल, सुरेश कार्कीलगायतकाहरू अमेरिका भासिएका छन् । ती मध्ये धेरै डिभी परेर गएका हुन्, केही विभिन्न तरिकाले अमेरिका पुगेका हुन् ।
नेपाल प्रहरीमा युरोप र अमेरिका पलायन हुने प्रहरीको यकिन तथ्यांक नभए पनि संख्या भने ठूलो रहेको प्रहरी अधिकारी स्वीकार गर्छन् । प्रहरी प्रवक्ता डिआइजी केशव अधिकारीेले जागिर छाडेर अमेरिका पलायन हुने प्रहरीको संख्या धेरै रहेको बताए । ‘जागिर छाड्न राजीनामा पत्र आउँछ । अनुसन्धान गर्न नपर्ने किसिमका व्यक्तिहरूको हकमा हामीले राजीनामा स्वीकृत गर्छांै । राजीनामा स्वीकृत गराउने मध्ये धेरै जसो अमेरिका नै जान लागेका हुन्छन्’, उनले भने ।
डिआइजी अधिकारीका अनुसार धेरै जसो प्रहरी डिभी चिठ्ठाका कारण अमेरिका पलायन भएका छन् । ‘डिभी चिठ्ठा परेपछि धेरै प्रहरी अमेरिका गएको देखिन्छ । परिवारका सदस्य अमेरिका बस्ने भएपछि दबाब पनि आउँदो हो । यसकारण पनि उनीहरूले जागिर छाडेका हुन सक्छन्’, उनले भने ।
अमेरिका भासिएका प्रहरीका केही अधिकृत
शारदा पराजुली डिआइजी
सुरेन्द्रबहादुर सिंह डिएसपी
विनोद खरेल डिएसपी
दिवस उदास डिएसपी
जगदीश पोखरेल डिएसपी
सुरेश अधिकारी इन्स्पेक्टर
मिलन बस्नेत इन्स्पेक्टर
ललित तिमल्सिना सई
दीपक कटुवाल सई
रञ्जित थापा सई
विनोद केसी सई
सुरेश सिंह सई
दीपेन्द्र कार्की सई
देवबहादुर हमाल सई
प्रदीपकुमार साह सई
कृष्ण खनाल सई
गणेश पोखरेल सई
सुरेश कार्की सई

प्रतिक्रिया