सहसचिवहरुको आन्दोलनबाट समाज असन्तुष्ट

sarkar logoकाठमाडौं, १९ वैशाख । कानून अधिकृत समाजले निजामती सेवाको सचिव पदमा हुने बढुवा सम्बन्धमा आएका अनर्गल समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका अध्यक्ष डा. रवि शर्मा अर्यालले आज विज्ञप्ति जारी गरेर सर्वोच्च अदालतको फैसलालाई लिएर आएका अनर्गल समाचारहरुप्रति समाजको ध्यानाकर्षण भएको जनाएका हुन् । सचिव पदमा हुने बढुवालाई लिएर सहसचिवहरुले आन्दोलन चलाए पछि अधिकृत समाजले आपत्ति जनाएको हो ।
‘निजामती सेवा अन्र्तगतका बिभिन्न दश सेवा मध्येको केही सेवाका सहसचिवहरुले निहीत स्वार्थवश उक्त फैसलाको बिरोध गर्दै बिभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको पत्र पत्रिकामा प्रकाशित समाचारप्रति समाजको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
अर्यालले नागरिकको सेवालाई आफ्नो प्रमुख जिम्मेवारी र कर्तब्य ठान्ने समग्र निजामती सेवाको मूल मान्यता र आदर्श विपरित कानूनले बिभेद नगरे पनि व्यवहारमा बिभेद गरिदै आएको जनाएका छन् ।
उनले सर्वोच्चको फैसलाले गलत ठहर गरेको बिषयलाई आफ्नो सीमित समूहको स्वार्थमा असर परेको भनि अदालतबाट भएको फैसलाप्रति दुस्प्रचारात्मक टिकाटिप्पणी गर्ने कार्य अशोभनीय रहेको बताए ।
निजामती सेवा भित्रको सक्षम न्याय सेवा र यसमा कार्यरत जनशक्तिप्रति अमर्यादित र अशोभनीय शब्द प्रयोग गरेर आन्दोलन गरेकोमा पनि समाजले आपत्ति जनाएको छ ।

प्रतिक्रिया