आठ सय घरेलु उद्योग बन्द

इटहरी : विद्युत् भार कटौती, बजारीकरणको अभाव, बैंकको चर्को ब्याज र उद्योगीको विदेश पलायनले पछिल्लो एक वर्षको अवधिमा पूर्वीनेपालका ८ सयभन्दा बढी घरेलु उद्योग बन्द भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय विराटनगर तथा सुनसरी कार्यालयले सुनसरी, मोरङ, झापा, सप्तरी र सिरहाका साना तथा घरेलु उद्योगहरू धमाधम बन्द भएको तथ्यांक दिएका छन् । साना तथा घरेलु उद्योगमा दर्ता भएका त्यस्ता, उद्योगले दर्ताअनुसारको सर्तहरू पूरा नगर्दा दर्ता खारेज गरिएका हुन् । घरेलु कार्यालयका अनुसार दर्ताको प्रमाणपत्र लिए पनि सञ्चालनमा नआएका, कतिपय उद्योगले नोक्सानीमा जान थालेको भन्दै नवीकरण नगरेका उद्योगहरू खारेजीमा परेको बताइएको छ ।
त्यस्तै, शृंखलाबद्ध बन्द हड्ताल विद्युत् कटौतीलगायत समस्याका कारणले उद्योग नियमित सञ्चालन गर्न नसकेको उद्यमीहरूले गुनासो गरेका छन् । सुनसरी जिल्लामा मात्र २ सय ७५ वटाभन्दा बढी साना तथा घरेलु उद्योगहरूको दर्ता खारेज गरिएको छ । मोरङमा यस वर्ष ३ सयभन्दा बढी उद्योग खारेजीमा परेका छन् । त्यस्तै, झापा, सप्तरी र सिरहामा ४ सयभन्दा बढी उद्योगको दर्ता खारेज भएको छ ।
यसरी उद्योगहरू धमाधम बन्द हुनुले एकातिर रोजगारीको अवसर गुम्दै गइरहेको छ भने अर्कोतिर लगानी खेर जाने र उद्यमीहरू डुब्ने खतरा पनि बढिरहेको छ । कम लगानीमा स्थानीय मानिसलाई रोजगारी दिने र कृषिजन्य उत्पादनमा आश्रित हुने यस प्रकारका उद्योगको प्रवद्र्धन गर्नका लागि राज्यले छुट्टै नीति तथा कार्यक्रम ल्याउनुपर्ने साना उद्यमीहरूको भनाइ छ ।

प्रतिक्रिया