अब दिमागबाटै चल्ने ट्याब्लेट †

Tabloidकहिल्यै यस्तो कल्पना गर्नुभएको छ– तपाईं कुनै इलेक्ट्रिक स्क्रिनअघि बसेको हुनुहोस् अनि त्यहाँ सबै कुरा तपाईंले सोचेअनुरूप होऊन् । दिमागबाटै त्यसलाई चलाउन सकियोस्, हात लगाउनै नपरोस् । अब यो कल्पनाले चामत्कारिक आकार लिँदै छ, यथार्थमै । साँच्चै, अब तपाईंले यस्तो ट्याब्लेट चलाउन पाउनुहुनेछ, जुन तपाईंको दिमागको आदेशअनुसार चल्नेछ । सामसुङ कम्पनीले यस्तो ट्याब्लेट बनाउने तयारी गरेको हो । उसको यो प्रयास सार्थक भएको खण्डमा ट्याब्लेटको दुनियाँमा क्रान्ति आउनेछ ।
दक्षिण कोरियाली कम्पनी सामसुङको यो प्रयोगमा अमेरिकी शोधकर्ताले पनि साथ दिइरहेका छन् । उनीहरूले यतिसम्म प्रयोग गरेर देखाई पनि सके कि, कसरी स्यामसुङ ग्यालेक्सी ट्याब्लेटको एउटा टिमटिमाउँदो आइकनमा ध्यान केन्द्रित गरेर प्रयोगकर्ताले त्यसलाई चलाउन सक्छ । त्यसका लागि प्रयोगकर्ताले एउटा विशेषखाले इलेक्ट्रिक टोपी भने लगाउनुपर्छ, जसमा इइजी अर्थात् इलेक्ट्रो इन्सिफेलोग्राम नाप्न सक्ने इलेक्ट्रोड जडान गरिएको हुन्छ । इइजी यस्तो प्रविधि हो, जसबाट दिमागको विद्युतीय हलचलबारे अध्ययन गर्न सकिन्छ । विशेष गरी यो प्रविधि ती व्यक्तिका लागि वरदान साबित हुन सक्नेछ, जो हातखुट्टा चलाउन नसक्ने शारीरिक बाध्यतामा रहेका छन् ।
सामसुङका प्रमुख शोधकर्ता इन्सु किम कुनै पनि यन्त्रलाई नियन्त्रण गर्नु मुख्य चुनौती रहेको उल्लेख गर्छन् । भन्छन्– ‘केही वर्षपहिले फोनलाई नियन्त्रण गर्न एउटा सानो किबोर्ड चाहिन्थ्यो । आज जमाना यस्तो आइसकेको छ, तपाईं आफ्नो आवाज, स्पर्श, हाउभाउ अनि आँखा मात्रैलाई पनि मोबाइल फोन सञ्चालन वा नियन्त्रणमा प्रयोग गर्न सक्नुहुन्छ ।’
सामसुङ ग्यालेक्सी एस फोरमा त पहिले नै यस्तो प्रविधि आइसकेको छ, जसमा आँखाको सहाराले प्रयोगकर्ताले मोबाइल फोन नियन्त्रण गरिरहेको हुन्छ । जस्तो कि स्मार्टपेजमा मोबाइलमा चलिरहेको कुनै पनि भिडियोलाई अर्काे साइडतिर आँखाको दृष्टि पुर्‍याएर रोक्न सकिन्छ । तलतिर आँखा झुकाएर पेज तल सार्न सकिन्छ ।
स्मार्टफोन निर्माताहरूले एक व्यक्तिमा यसखाले प्रयोग गरेर त्यसको प्रदर्शन पनि गरिसकेका छन् । सुरुमा उसलाई दिमाग नियन्त्रित गर्न सक्ने यन्त्र लगाउन दिइयो । अनि कुनै पुरानो गीत छानेर बजाउन, थप चलाउन अनि त्यसलाई नियन्त्रण गर्न भनियो । यी सबै कुरा त्यो व्यक्तिले सोचेकै भरमा भइरहेका थिए ।
किम भन्छन्, ‘यति मात्रै सफलताले पनि देखाउँछ कि आउनेवाला समयमा हामीलाई प्रविधिले कतिसम्म सुविधासम्पन्नतामा पुर्‍याउने रहेछ । त्यो परीक्षणको ८० देखि ९० प्रतिशत परिणाम चुस्त अनि दुरुस्त थियो ।’
सामसुङ इमर्जिङ टेक्नोलोजी ल्याबका शोधकर्ताहरूसँग काम गरिरहेका रुजबे जाफरी इलेक्ट्रोड जडान गरिएको उक्त विद्युतीय टोपी प्रयोगमा थप सहजता ल्याउने टेक्निक खोजिरहेका छन् र त्यसमाथि काम गरिरहेका छन् । उनी अमेरिकाको टेक्सास विश्वविद्यालयमा इलेक्ट्रिक इन्जिनियरिङ प्रोफेसरका रूपमा कार्यरत छन् । उनी चाहन्छन्– इलेक्ट्रोड क्यापमा कुनै सुक्खा संस्करण तयार पार्न सकियोस् । अहिले त्यसमा तरल इलेक्ट्रोड मात्र प्रयोग गर्न सकिएको छ ।
न्युरोस्काई एवं इमोटी नामका कम्पनीले पहिल्यै बजारमा व्यक्तिको मनोदशा आँकलन गर्न सक्ने हेडसेट बजारमा ल्याइसकेका छन् । जसले मोबाइल वा ट्याब्लेट प्रयोगमा पनि व्यक्तिलाई सहयोग पुर्‍याउन सक्छ । कम्प्युटर हार्डवेयर निर्माता आइबीएम कम्पनी पनि दिमागबाट चल्ने हेडसेट निर्माण गरिरहेको छ । इमोटी हेडसेटमार्फत यस क्षेत्रमा थुप्रै प्रयोग भइसकेका छन् । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया