स्ववियु पुन:संरचनाको बहस

लामो समयपछि   त्रिभुवन विश्व विद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेको छ । लामो रस्साकस्सी र पुनर्संरचनाका बहसका बीच त्रिविले जेठ १३ गतेका लागि चुनावको मिति तोकेको हो । नयाँ निर्वाचन प्रणालीसहित स्ववियुको संरचनामा माथिको व्यापक बहसँगै तोकिएको निर्वाचनले फेरि एकपटक स्ववियुलाई पुन: जागृत गर्नेछ । यद्यपि, यो मुद्दा भने अहिले अदालतसम्म पुगिसकेको छ । राष्ट्रिय निर्वाचनमा भलै भोट खसाल्न नपाइएको होस् तर स्ववियु निर्वाचनमा भोट खसालेरै भए पनि युवा विद्यार्थीले लोकतन्त्रको अभ्यास गर्नेछन् । तर, स्ववियुको पुनर्संरचनासँग जोडेर गरिएको नयाँ निर्वाचन प्रणाली र व्यवस्थाले स्ववियुको वास्तविक पुनर्संरचना गर्न नसेके पनि केही सकारात्मकता भने पक्कै थपेको छ ।

विद्यार्थी हुनका लागि कुनै उमेरले छेक्दैन् । मानिस जुनसुकै उमेरमा विद्यार्थी रहन सक्छ । तर, बुढेसकालसम्म विद्यार्थी नेता हुँ भन्दै क्याम्पस कुरेर बस्ने कुरा भने पक्कै पनि उपयुक्त भने होइन । त्यसो त जुन उमेर समूहको विद्यार्थीले उम्मेदवार हुन नपाउने हो सो समूहको विद्यार्थीले मत खसाल्न पाउने कि नपाउने ? भन्ने बहस पनि चल्न सक्छ ।
वास्तवमै स्ववियुको पुनर्संरचना गर्न र यसलाई लोकप्रिय बनाइराख्ने हो भने यसको अन्तरवस्तुमा पुनर्संरचना गरिनु पर्छ । कति उमेरका उठ्ने, कति जना उठ्ने, कति प्रत्यक्ष निर्वाचित हुने र कति समानुपातिक हुने ? कति विद्यार्थी भर्ना भएका ठाउँमा कति सदस्यीय स्ववियु बनाउने भन्ने कुरालाई मात्रै स्ववियुको पुनर्संरचनासँग जोडेर हेरियो भने त्यो सतही कुरा हुनेछ । मुख्य कुरा स्ववियुलाई मर्यादित, लोकप्रिय संस्था कसरी बनाउन सकिन्छ भन्ने नै हो जुन अहिले गरिएको पुनर्संरचनाको खाकाले खासै समेट्न सकेको देखिन्न ।
पञ्चायतकालीन निरंकुशताका दौरान स्ववियु लोकतान्त्रिक अभ्यासको एक मात्र साझा मञ्च थियो भने लोकतन्त्रका पक्षमा वकालत गर्न पाउने वैधानिक सस्ंथा पनि । राजनीतिक दलहरू प्रतिबन्धित थिए, पञ्चायत स्वघोषित निर्विकल्प प्रजातन्त्र थियो । दलका नेताहरू कोही जेलको चिसो छिँडीमा कोचिएका थिए त कोही भूमिगत जीवन बिताइरहेका थिए । लोकतन्त्रका पक्षमा आवाज उठाउनु जघन्य अपराध ठहरिन्थ्यो ।  जनताका मौलिक हकअधिकारका पक्षमा बोल्नेहरूलाई कथित राजद्रोहको पगरी भिडाइन्थ्यो ।
यस्तै निरंकुशताका समय स्वतन्त्रताको विगुल फुक्ने स्ववियु जनताको एक मात्र सर्वमान्य संस्था थियो । जो नि:सन्देह लोकतन्त्र र जनताका पक्षमा आफ्नो सम्पूर्ण शक्ति खर्चिन्थ्यो । दलहरू प्रतिबन्धित हुँदा, जनताका अधिकार कुण्ठित हुँदा विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनमार्फत लोकतन्त्रको अभ्यास गर्थे । अझ झनै विद्यार्थी संगठनहरूले स्ववियुमार्फत नै राजनीतिक दलका लोकतान्त्रिक विचारहरू जनता समक्ष पुर्‍याउँथे ।
‘जयतु संकृतम्’का नामबाट सुरु भएको नेपाली विद्यार्थी आन्दोलन सम्वत् ०२२ मा अखिलको स्थापना र २७ सालमा नेपाल विद्यार्थी संघको स्थापनाले संस्थागत अनि अझै मजबुत भएको मानिन्छ । जहानियाँ राणा शासन, निरंंकुश पञ्चायत र ज्ञानेन्द्रकालीन निरंकुशता पल्टाउने आन्दोलनको जग यिनै विद्यार्थीहरूको पहलकदमीमा खडा भएको हो । ज्ञानेन्द्र ‘कू’ विरुद्ध सडकमा मसाल बाल्ने पहिलो शक्ति विद्यार्थी नै थियो । सडकमा गणतन्त्रको नारा लगाउने पनि यिनै विद्यार्थी थिए जसले निरंकुशतासँग कहिल्यै सम्झौता गरेनन्  न त मृत्युसँग नै ।
इतिहासका प्रत्येक कालखण्डमा महत्त्वपूर्ण भूमिका खेलेको विद्यार्थी आन्दोलन आफ्नो गर्विलो इतिहासका बाबजुद हिजोआज कताकता कमजोर बन्दै गैरहेको भान हुन थालेको छ । विद्यार्थी आन्दोलनले लोकतन्त्रको श्रेय पाउनुपर्ने हो तर विडम्बना विद्यार्थी आन्दोलन, संगठन र स्ववियु भन्नेबित्तिकै ओठ लेप्र्याउने र नाक खुम्च्याउनेको संख्या क्रमश: बढिरहेको छ । वाहवाहीको पात्र बन्नुपर्ने विद्यार्थी आन्दोलनप्रति आमरूपमा यस्तो वितृष्णा किन बढिरहेको छ ? यसको समीक्षा गरिनु आवश्यक छ । कुनै समय लोकतन्त्रको पर्याय बनेको यो आन्दोलनप्रति आज वितृष्णाको पहाड किन खडा भैरहेको छ ? यो गर्विलो इतिहास रच्ने यसका साक्षी र त्यसको गरिमालाई अझै उच्च बनाउने जिम्मेवारी पाएका तर निस्काम सावित भएका वर्तमान विद्यार्थी संगठनका नेतृत्वले गम्भीर समीक्षा गर्नु टड्कारो आवश्यकता बनेको छ ।
लोकतन्त्रको पर्यायका रूपमा स्थापित विद्यार्थी आन्दोलन आज ढुंगामुढा र चक्का जामको पर्याय मानिन्छ । उतिबेला विद्यार्थीले ढुंगामुढा आजकलभन्दा बढी हान्थे । चक्का जाम, टायर बाल्ने, पुत्ला जलाउने काम पनि यतिबेलाभन्दा उतिबेला नै बढी हुन्थ्यो । तर, आज विद्यर्थी आन्दोलनको नाम सुन्दा नाक खुम्च्याइन्छ । जबकि उतिबेला गर्वले शिर ठाडो हुन्थ्यो । म विद्यार्थी आन्दोलनमा सरिक छु भन्नेहरूले समाजमा सम्मान पाउँथे उतिबेला । आज म विद्यार्थी आन्दोलनमा सरिक छु भनियो भने समाजमा नाक खुम्च्याइन्छ । यिनै विद्यार्थी नेता आज टेन्डर कब्जा, गुन्डागर्दी र अवैध यौन क्रियाकलापमा समेत सामेल भएका छन् ।
गर्विलो इतिहास किन यसरी कमजोर बन्दै छ, किन बढ्दै छ वितृष्णा विद्यार्थी आन्दोलनप्रति ? विद्यार्थी आन्दोलनको इतिहास र वर्तमानसँग जोडिएका आदरणीय अग्रजहरूले खोज्ने बेला भएको छ । पहिले लोकतन्त्रका पक्षमा ढुंगामुढा र चक्काजाममा उत्रिनेहरू आजकल आपसमा लड्न र झगडा गर्न क्याम्पसलाई रणमैदान बनाइरहेका छन् । जसलाई पछिल्ला केही घट्नाक्रमले पुष्टि गरिरहेको छ । लोकतन्त्रको अभ्यासका लागि प्रयोग हुने स्ववियुको मञ्च आजकल सत्ता बन्दै छ र चरम आर्थिक चलखेलको केन्द्र । आर्थिक चलखेलको केन्द्रका रूपमा  स्थापित हुँदै गएको स्ववियु नामको सत्ता हत्याउन विद्यार्थी संगठनहरू काटमारमा उत्रिन्छन् । क्याम्पस प्राज्ञिकभन्दा पनि गुन्डागर्दीको केन्द्र बनिरहेको छ । स्ववियु विद्यार्थी अधिकारका पक्षमा भन्दा पनि सत्ताका रूपमा रूपान्तरित बन्दै गैरहेको छ । स्ववियु सत्ता अनि आम विद्यार्थी शासित वर्गका रूपमा रूपान्तरित भएका छन् ।
लोकतन्त्रको साझा झन्डा बोक्ने विद्यार्थी संगठनहरू आजकल पार्टीका झन्डा मात्रै बोकिरहेका छन् र पार्टीकै राजनीतिक अभीष्ट पूरा गराउन न्वारनदेखिको बल खर्चिरहेका छन् । विद्यार्थीका हकअधिकार गौण, प्राज्ञिक एजेन्डा गौण तर पार्टीको राजनीतिक एजेन्डा सर्वाेपरि बन्दै छ र विद्यार्थी संगठनहरू सोही अभीष्टलाई आफ्नो गन्तव्यका रूपमा चित्रि गर्दै दिलोज्यान दिएर समर्पित भैरहेका छन् । वैचारिक सामिप्यता त हुनुपर्छ तर त्यसको अन्धभक्त बन्नु भने हुँदैन् ।
कर्मचारीको पेसागत दायित्व सेवाग्राहीको काम छिटोछरिटो गरिदिनु हो । शिक्षकको दायित्व विद्यार्थीलाई राम्रो पढाउनु हो । सरकारको दायित्व जनतालाई सुशासन दिलाउनु हो । ठीक त्यसैगरी विद्यार्थीको पनि दायित्व हुन्छ, त्यो भनेको राम्रोसँग पढ्नु । राम्रोसँग अध्ययनका अलवा विद्यार्थी आन्दोलनमा सरिक भैसकेकपछि त्यसको इतिहासलाई बचाउँदै नयाँ उचाइमा त्यसलाई पुर्‍याउनु उसको अर्काे महत्त्वपूर्ण दायित्व हुन आउँछ । विद्यार्थी आन्दोलनको इतिहासलाई बचाउँदै नयाँ उचाइमा पुर्‍याउनु भनेको लोकतन्त्रका पक्षमा अहोरात्र उभिनु र प्राज्ञिक उन्नयन र गुणस्तरीय शिक्षा प्राप्तिका लागि नयाँ शिराबाट अभियान चलाउनु नै हो । यसका अग्रजहरूले गरेको योगदानको सही अर्थमा सम्मान गर्ने हो र
भावी पीडिबाट सम्मानको अपेक्षा गर्ने हो भने पनि यसको विकल्प देखिँदैन् । तर, आजकल विद्यार्थी आन्दोलन आफ्नो मूल एजेन्डाबाट बिमुख भैरहेको छ ।

प्रतिक्रिया