अन्तरिम मन्त्रिपरिषदमा पनि ‘अटेरी’………

Khilraj-Regmi'sकाठमाडौं, १८ वैशाख । अन्तरिम मन्त्रिपरिषदका अध्यक्षसहितका मन्त्रीहरुले हालसम्म सम्पत्ति विवरण नबुझाएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रमुख चार राजनीतिक शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सहयोगमा गत चैत–१ गते प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तरिम मन्त्रिपरिषदमा अध्यक्ष पदको सपथ लिएका थिए । त्यस लगत्तै एक साता पछि रेग्मीले चैत–५ गते दश मन्त्रीलाई पनि पद तथा गोपनीयताको सपथ दिलाए ।

मन्त्रिपरिषद् गठन भएको डेढ महिना वितिसक्दा समेत अध्यक्ष र मन्त्रीहरुले मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण नबुझाएका हुन् । सम्पत्ति विवरण नबुझाएकोमा अध्यक्ष र मन्त्रीहरुको आलोचना सुरु भई सकेको छ ।

अन्तरिम मन्त्रिपरिषदमा अध्यक्ष रेग्मीले रक्षा, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् । सार्वजनिक पदमा बस्ने व्यक्तिले आफ्नो सम्पत्ति विवरण अनिर्वाय रुपमा बुझाउनु पर्ने कानून प्रावधान छ ।

त्यसै गरी, माधवप्रसाद घिमिरेले गृह र परराष्ट्र, हरिप्रसाद न्यौपानेले कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला र श्रम तथा रोजगार, ऋद्धिबाबा प्रधानले महिला, वालवालिका तथा समाजकल्याण र भूमिसुधार तथा व्यवस्था, विद्याधर मल्लिकले सङ्घीय मामिला तथा स्थानीय विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

माधवप्रसाद पौडेलले सामान्य प्रशासन सूचना तथा सञ्चार र शिक्षा, शंकरप्रसाद कोइरालाले अर्थ उद्योग र वाणिज्य तथा आपूर्ति, छविराज पन्तले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, टेकबहादुर थापा (घर्ती)ले कृषि विकास र वन तथा भू–संरक्षण, रामकुमार श्रेष्ठले युवा तथा खेलकुद शान्ति तथा पूननिर्माण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उमाकान्त झाले उर्जा विज्ञान, प्रविधि तथा वातावरण र सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया