एमाले चुनावी अभियानलाई तीव्रता दिने तयारीमा

UML 1काठमाडौं, १८ वैशाख । एमाले चुनावी अभियानलाई तीव्रता दिने तयारीमा जुटेको छ । चुनावमा पार्टी पंक्तिको परिचालन तथा केन्द्रीय सदस्य मनोनयनलगायत स्थायी समितिले तयार गरेको प्रस्तावमाथि छलफलका लागि २५ वैशाखदेखि दुई दिन एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । केन्द्रीय कमिटीका रिक्त स्थानमा मनोनयनका लागि स्थायी समितिले गरेको प्रस्ताव र चुनावी रणनीति अनुमोदन गराउन बैठक बोलाइएको हो ।

सोमबार स्थायी समिति बैठकले केन्द्रीय कमिटीमा ११ सदस्य मनोनयनको प्रस्ताव पारित गरेको थियो भने चैतअन्तिम साता पोलिटब्युरो बैठकले चुनावी रणनीति तय गरेको थियो । २२ र २३ वैशाखमा बस्ने पोलिटब्युरो बैठकबाट अनुमोदन गराएपछि प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने तयारी एमालेले गरेको छ । चुनावी तयारीका लागि तीनमहिने संगठन परिचालनको योजना पनि एमालेले बनाएको थियो । २५ वैशाखदेखि बस्ने केन्द्रीय बैठकले संगठन परिचालनसम्बन्धी योजनालाई अनुमोदन गरेपछि आफूहरू चुनावी अभियानमा तीव्रताका साथ लाग्ने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए । ‘स्थायी समितिले तयार गरेको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटीका रिक्त स्थानमा मनोनयन, कार्यविभाजन, संविधानसभा चुनाव परिचालन अभियान, राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकलगायत विषयमा केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ,’ सचिव विष्णु पौडेलद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि नै एमालेले बहुमतसहित एमालेलाई पहिलो पार्टी बनाउने र लोकतान्त्रिक शक्ति र बहुजातीय संघीयताका पक्षधर शक्तिको दुईतिहाइ मतका लागि विचार मिल्नेसँग कार्यगत एकतासमेत गर्ने चुनावी रणनीति पारित गरेको थियो ।
युवा संघ पनि तयारीमै
एमाले भ्रातृसंगठन युवा संघ नेपालको उपत्यका अञ्चल कमिटीको बैठकले चुनावी तयारीका लागि २२ जेठमा कार्यकर्ता भेला राखेको छ । उपत्यका कमिटीको मंगलबार बसेको बैठकले १ जेठमा युवा दिवस मनाउने र सोही क्रममा पार्टी प्रवेशको कार्यक्रम राख्ने निर्णय पनि गरेको छ । उपत्यका इन्चार्ज निरेशलाल सिंहका अनुसार आगामी चुनावमा युवा परिचालन र रचनात्क कामको योजना पनि संघले बनाउनेछ ।

प्रतिक्रिया