जापानको औद्योगिक उत्पादनमा वृद्धि

टोकियो, १८ वैशाख । जापानको औद्योगिक उत्पादनमा मार्चमा वृद्धि भएको छ । विगतका महिनाको तुलनामा उत्पादनमा वृद्धि भएको हो । चौथो त्रैमासिक उत्पादन तथ्यांकमा मंगलबार यो अवस्था देखिएको हो । आर्थिक, व्यापार तथा औद्योगिक मन्त्रालयले मंगलबार सो तथ्यांक सार्वजनिक गरेको हो ।

मन्त्रालयले मार्चमा गरेको सर्वेक्षणमा विगतका महिनाको तुलनामा सो महिना ०.२ प्रतिशत वृद्धि भएको पनि सार्वजनिक गरेको छ ।
त्यसअघिका दुई महिनामा पनि औद्योगिक उत्पादनमा वृद्धि भएको थियो । ती महिनामा १.९ प्रतिशतको हाराहारीमा औद्योगिक उत्पादनमा वृद्धि भएको तथ्यांक देखिएको थियो । मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी विगतका तीन महिनाको यस अवस्थाले गर्दा आगामी दिनमा जापानको औद्योगिक क्षेत्रमा सामान्य प्रगति हुने देखिएको जनाएको छ ।
यसका साथै जापानको बेरोजगारी दरमा पनि केही कमी आएको छ । यो कमी विगतका करिब चार वर्षदेखिको भन्दा पनि कम भएको पनि एजेन्सीहरूले जनाएका छन् । तर जापानमा बेरोजगारी दर मार्च महिनामा ४.१ प्रतिशतमा झरेको छ । यसअघिको महिनाको तुलनामा यसमा कम्तीमा पनि ०.२ प्रतिशतले कमी आएको पनि सो तथ्यांकमा दिइएको छ । यो दर सन् २००८ को नोभेम्बर महिनायता देखिकै सबैभन्दा कम हो । उक्त समयपछि मार्च महिनामा सबैभन्दा कम मात्र बेरोजगारी दर देखिएको सरकारले बताएको छ ।
जापानको गृह मन्त्रालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार जापानमा गत वर्षको तुलनामा नै यसवर्षको बेरोजगारी दरमा २८ लाखले कमी आएको छ । यसअघिका वर्षहरूमा भने यति उल्लेखनीय रूपमा उक्त दरमा कमी आएको थिएन । यसले गर्दा जापानको आर्थिक वृद्धिमा पनि सकारात्मक संकेतहरू देखा पर्ने अनुमान गरिएको छ ।
जापानमा सन् २००८ देखिको विश्वव्यापी आर्थिक मन्दीका कारण आर्थिक विकासमा पनि प्रभाव पारेको थियो । त्यसयताका वर्षहरू जापानका लागि कठिन बन्दै गएका छन् । उता सन् २०११ मा आएको शक्तिशाली सुनामीका कारण पनि जापानको आर्थिक विकासलाई निकै ठूलो धक्का दिएको थियो ।
उक्त सुनामीका कारण जापानको अर्बौं अमेरिकी डलर बराबरको क्षति पुगेको थियो । वार्षिक बजेट नै सुनामीले भत्काएका संरचनाको पुन: निर्माणका लागि खर्च गर्नुपरेको थियो । त्यसैगरी उक्त सुनामीले गर्दा जापानको औद्योगिक क्षेत्रको संरचनाहरूमा पनि क्षति पुर्‍याएको थियो । यसले गर्दा जापान सन् २०११ पछि लगत्तै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट तेस्रो ठूलो अर्थतन्त्रयुक्त देशका रूपमा धकेलिएको थियो ।
जापानका वर्तमान प्रधानमन्त्री सेन्जो अबेले केही गत वर्ष भएको जापानको आम निर्वाचनमा आर्थिक विकासका एजेन्डालाई अघि सार्नुभएको थियो । उनको यो प्रयासलाई जापानमा ‘अबेनोमिक्स’ नाम दिइएको छ । अबेको इकोनोमिक्स भएकोले यो नाम दिइएको हो । कतिपय विश्लेषकले उहाँको यो प्रयासका कारण पनि जापानमा आर्थिक विकासमा सकारात्मक संकेतहरू देखिएका बताएका छन् ।

औद्योगिक उत्पादन किन्न आग्रह
ढाका : बंगलादेशका तयारी पोसाक व्यवसायीहरूले पश्चिमा मुलुकका व्यापारीहरूसँग आºना औद्योगिक उत्पानहरू किनिदिन आग्रह गरेका छन् ।
साथै हाल बंगलादेशमा हाल संयुक्त लगानीमा सञ्चालनमा रहेका यस्ता उद्योगहरूमा रहेका उनीहरूका सेयरलाई पनि कायमै राख्न उनीहरूले सो आग्रह गरेका हुन् ।
हालै मात्र बंगलादेशमा भएको यस्तै तयारी पोसाकका कारखानाहरू रहेको एक भवन भत्किएर करिब चारसय नागरिकको ज्यान गएको घटनापछि उनीहरूले सो आग्रह गरेका हुन् ।
उक्त दुर्घटनापछि बंगलादेशको तयारी पोसाकसम्बन्धी व्यवसायका क्षेत्रमा औद्योगिक सुरक्षाका विषयमा विभिन्न टिकाटिप्पणीहरू आइरहेका बेला यस्तो बंगलादेशका व्यापारीहरूको यो आग्रह आएको हो ।
बंगलादेशको तयारी पोसाक व्यवसायका क्षेत्रमा सुरक्षा मापदण्ड नअपनाउने गरेका तथा त्यहाँ मजदुरहरूको असुरक्षाका कारण ज्यान जाने गरेका घटनाहरू भएकोले उनीहरूले पश्चिमा देशका लगानीकर्ता एवं ग्राहकसमेतलाई यो अपिल गरेका बताइएको छ । तयारी पोसाकका क्षेत्रमा बंगलादेश विश्वकै एक प्रमुख उत्पादक हो । ऊ चीन पछिको विश्वकै दोस्रो ठूलो निर्यातकर्ता भएको बताइन्छ । हालैको एक तथ्यांकअनुसार बंगलादेशमा हाल कम्तीमा पनि २० अर्ब अमेरिकी डलर बराबरको तयारी पोसाकको व्यवसाय रहेको छ ।
राजधानी ढाकामा गत बुधबार कम्तीमा पनि पाँचवटा यस्तै तयारी पोसाकहरू रहेको भवन भत्किँदा करिब चार सय जनाको ज्यान गइसकेको छ । सो घटनामा परी अरू सयौँ नागरिक हराइरहेका छन् । त्यस्तै करिब पन्ध्र सय जनाले हल निकै गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।
उद्वारकर्मीहरूले मंगलबार बिहानसम्ममा सो भत्किएको भवनमा परी ज्यान जाने मजदुरको संख्या चार सयको हाराहारीमा रहेको बताएका छन् । उता ढाकामा हजारौँ नागरिक विरोधमा उत्रिएका छन् । उनीहरूले उक्त भवन बनाउने मालिक तथा इञ्जिनियर र तयारी पोसाक सञ्चालन गर्ने मालिकलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । बुधबार पनि बिहानैदेखि राजधानी ढाकामा मजदुरहरूले विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । उनीहरूले सरकारसमक्ष दुर्घटनामा परी मृत्यु भएका मजदुरहरूका परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।

प्रतिक्रिया