मापदण्डविपरीत इटा भट्टा सञ्चालन

Ittabhattaभक्तपुर, १८ वैशाख । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयको नेतृत्वमा भक्तपुरमा सञ्चालित इँटा भट्टाको अनुगमन गर्दा अधिकांश इँटा उद्योग सरकारी मापदण्ड विपरीत सञ्चालनमा रहेको भेटिएको छ ।

अनुगमन टोलीले उद्योग सञ्चालन अघि गरेको सम्झौता अनुसार वातावरणीय दृष्टिकोणले पालना गर्नुपर्ने मापदण्डअनुसार काम नगरेको भेटेको बताएको छ । सम्बन्धित निकायसहितको टोलीले मंगलबार भक्तपुरमा सञ्चालित इँटाभट्टाहरू वातावरणीय प्रदुषणका बारेमा अनुगमन गरेको हो ।
इँटाभट्टा वातावरणमुखी छ छैन, यसले कृषिजन्य उत्पादनमा ह्रास, आएको छ छैन, बस्ती तथा जंगललाई असर गरेको छ छैन, सम्पदालाई असर गरेको छ/छैन भन्नेबारे विभागले अनुगमन गरेको थियो ।
अनुगमन गर्दा सञ्चालित भट्टाले भट्टा दर्ता गर्दा घरेलु तथा साना उद्योग कार्यालयमा भएको सर्तहरूको पालना नभएको पाइएको विभागका निर्देशक डा. युवकध्वज जिसीले बताए । सम्झौता अनुसार बस्ती र जंगलको एक किलोमिटर भित्र हुन नुहने, धूलोरहित सडक हुनुपर्ने, भट्टा वरिपरि हरियाली हुनुपर्ने, सम्पदाहरूको संरक्षण हुनुपर्ने भए पनि यी कुराहरू लागू नभएको जिसीले बताए ।
उनले भने, ‘कृषि योग्य जमिनका भट्टा सञ्चालन गर्न नपाइने, बालश्रम राख्न नपाइने जस्ता न्यूनतम सर्तसमेत भट्टाहरूले पालना नगरेको पाइयो’ । भट्टा सञ्चालकले प्रत्येक वर्ष समय समयमा भट्टाले फाल्ने धुँवाबाट हुने प्रदूषणको मापन गर्नुपर्ने भए पनि यहाँका अधिकांश भट्टाले अहिलेसम्म पनि प्रदूषण मापन नगरेको भेटिएको छ । विभाग प्राविधिक टोलीसहित अनुगमन स्थलमा पुगे पनि यस्ता न्यूनतम पूर्वाधारसमेत तयार नगरेपछि टोली परीक्षणविना नै फिर्ता हुनुपरेको थियो ।
विभागका प्राविधिक देवीप्रसाद भण्डारीले यहाँका भट्टाले वातावरण प्रदूषितरहित बनाउन कुनै पनि कार्य नगरेको पाइएको र भट्टाको प्रदूषणले विभिन्न रोगका साथै उत्पादन एवं सम्पदा क्षेत्रलाई समेत असर पारेको बताए ।
भक्तपुरमा कूल ६ हेक्टर खेतीयोग्य जमिनमा इँटा भट्टाहरू सञ्चालन भएकाले खेतीयोग्य जमिन नष्ट हुँदै गएको, प्रदूषणले कुल उत्पादन घट्दै गएको समेत उनीहरूले बताएका छन् । भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष विश्वराम क्वाले भक्तपुरमा फिक्स भट्टा सञ्चालनमा आएपछि प्रदूषण घटेको दाबी गर्दै प्रदूषण नाप्ने प्लेटफर्म, भर्‍याङलगायतका पूर्वाधारहरू अधिकांशमा नभए पनि छिट्टै तयार पारिने जानकारी दिएका छन् ।
उद्योग दर्ता गर्ने निकायको रूपमा रहेको जिल्ला घरेलु तथा साना उद्योग कार्यालयले भट्टा नवीकरण गर्दा मापदण्ड पूरा गरे नगरेको अनुगमन गर्नुपर्ने भए पनि कार्यालयले कुनै जिम्मेवारी पूरा नगरेको भट्टा सञ्चालकहरूले आरोप लगाएका छन् ।
विभागका निर्देशक जिसीले मापदण्ड पूरा नगरेका भट्टाहरूलाई ५० हजारदेखि एक लाखसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था रहेको समेत बताएका छन् । अनुगमन टोलीले जिल्लाको चित्तपोल र झौखेलका गाविसमा रेहका इँटा भट्टामा अनुगमन गरेको थियो ।
श्वासप्रश्वासको समस्या
इँटा भट्टामा कार्यरत अधिकांश श्रमिकमा श्वासप्रश्वासको समस्या देखिएको छ । १३ राट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको उपलक्ष्यमा मंगलबार भक्तपुरमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा त्यस्तो समस्या देखिएको हो । नेपाल सरकार श्रम विभाग, आइसिओएच, बालविकास समाज र चाँगुनारायण इँटा भट्टाको संयुक्त पहलमा एकदिने शिविर सञ्चालन भएको हो ।
दश जना श्रमिकका सात जनामा श्वासप्रश्वासको समस्या पाइएको शिविरमा सहभागी डाक्टर सुनीलकुमार जोशीले बताए । अधिकांशमा श्रमिकहरूमा दम–खोकी, छालाको रोग, घाँटीको समस्या देखिएको पनि जोशीको भनाइ छ । धूमपान र मध्यपानको अत्यधिक प्रयोग गर्ने श्रमिकहरूमा श्वासप्रश्वाससहित उच्च रक्तचापसमेत देखिएको छ । चाँगुनारायण, केपी, महाकालीलगायतका सात ओटा इँटा भट्टाका श्रमिकहरूको श्वासप्रश्वास, साधारण स्वास्थ्य परीक्षणसहित औषधि वितरण गरिएको छ ।

प्रतिक्रिया