उद्योगीद्वारा आन्दोलनको घोषणा

बुटवल : औद्योगिक क्षेत्र व्यवस्थापनले विगतमा भएका सहमतिविरुद्ध निर्णय गरेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले व्यवस्थापनविरुद्ध आन्दोलन घोषणा गरेको छ ।
महासंघको बुटवलमा भएको बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समस्यालाई न्यूनीकरण गर्नेतर्फ पहल गर्नुको सट्टा झन् चर्काउने कार्य गरेको भन्दै महासंघले आन्दोलन गर्ने निर्णय गरेको हो ।
महासंघसँग १५ माघ ०६९ मा औद्योगिक क्षेत्र व्यवस्थापनका अध्यक्ष देवेन्द्रकुमार यादव लगायतका पदाधिकारीबीच भएको १० बुँदे सहमतिविपरीत यही १ वैशाखदेखि लागू हुने गरी औद्योगिक क्षेत्रहरूको नयाँ भाडादर निर्धारण गरिएको विरोधमा २३ देखि २६ वैशाखसम्म पहिलो चरणको आन्दोलन घोषणा गरिएको बुटवल औद्योगिक क्षेत्र उद्योग संघमा आयोजित पत्रकारसम्मेलनमा जानकारी गराइएको हो ।
आन्दोलनका कार्यक्रमअन्तर्गत २३ वैशाखमा प्रत्येक औद्योगिक क्षेत्रमा रहेका व्यवस्थापन लिमिटेडका शाखामा ज्ञापनपत्र बुझाउने र भाडा वृद्धिको निर्णय जलाउने, २४ गते उद्योगमन्त्री र उद्योग सचिवलाई महासंघ र औद्योगिक क्षेत्रमा रहेका उद्योग संघहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने, २५ वैशाखमा व्यावसायिक महासंघ र जिल्ला तहमा व्यावसायिक संघ–संस्था तथा राजनीतिक दलहरूसँग छलफल गरी ऐक्यबद्धताका लागि अनुरोध गर्ने तथा अन्त्यमा औद्योगिक क्षेत्र लिमिटेडमा तिर्नुपर्ने विद्युत् र पानी बाहेकका सबै शुल्क रोक्का गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष शैलेन्द्रलाल प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पहिलो चरणको आन्दोलनमा आफूहरूका मागको सुनुवाइ नगरिए दोस्रो चरणमा कडा प्रकृतिका आन्दोलनका कार्यक्रमहरू ल्याइने चेतावनी अध्यक्ष प्रधानले दिए । लिमिटेडले विगतमा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघसँग भएको सहमतिलाई आफूहरूसँग कुनै सल्लाह नै नगरी एकतर्फी रूपमा तोडेर औद्योगिक क्षेत्रमा रहेका घरजग्गा तथा भवनको बहालमा वृद्धि गरेकामा महासंघले कडा आपत्ति जनाएको छ ।
गत माघमा भएको दुई पक्षीय वार्ताले क्षेत्रगत हिसाबले वार्षिक रूपमा प्रतिरोपनी ५ हजारदेखि १२ हजार पाँच सय २० रुपियाँ लिने सहमति भएको थियो । त्यस्तैगरी, क्षेत्रभित्र व्यवस्थापनले निर्माण गरेका औद्योगिक भवन र गोदामहरू जीर्ण भइसकेकाले ती भवनहरू उद्योगलाई नै हस्तान्तरण गर्ने र हस्तान्तरण नहुँदासम्म १० प्रतिशतले मात्र भाडा वृद्धि गर्ने सहमति भए पनि हाल एक सय ५० देखि नौ सय प्रतिशतसम्म भाडा वृद्धि गरिएको महासंघका अध्यक्ष प्रधानले बताए । (सौस)

प्रतिक्रिया