मई दिवस सार्थक रूपमा मनाऔँ

Ramchandra-Balamiविगत वर्षहरूमा झैँ यो वर्ष पनि नेपाली श्रमबजारमा अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘१–मई’को रौनकता देखिएको छ । विश्वभरिका श्रमिकहरूले आफ्नो विजय उत्सवको रूपमा मनाइने यो दिवसले सधैँ नै उत्तिकै महत्त्व राख्छ । विश्वमा पहिलोपटक आफ्नो वर्गको अधिकार स्थापना गर्न सफल भएकाले यो दिनले विश्वव्यापी महत्त्व पाएको हो । यो दिवसले कति वर्ष पार गर्‍यो भन्ने भन्दा पनि यो दिनले विश्व श्रमजीवीवर्गलाई किन अभिप्रेरित गर्‍यो भन्ने विषय उठान गर्नु सान्दर्भिक हुन जान्छ होला भन्ने लाग्छ ।

जतिबेला श्रमजीवीवर्गले आफ्नो अधिकार के हो भनेर भर्खर–भर्खर सुसूचित हुन प्रारम्भ गर्दै गरेका अवस्थामा उठेको आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको नारा बोकेर अमेरिकाको सिकागो सहरका श्रमिकहरूले गरेको मजदुर आन्दोलनमाथि भएको भीषण दमनपश्चात् प्राप्त सफलताको सम्झनामा विश्वव्यापी रूपमा मजदुरवर्गले मनाउने गरेको यो दिवसले संसारभरिका मजदुरवर्गको जीवनमा ठूलो अर्थ राख्छ । सिकागो मजदुर आन्दोलनभन्दा पहिलाका श्रमिकहरूले दिनमा १८ देखि २० घन्टासम्म काममा लाग्नुपर्ने बाध्यता बेहोरिरहेका थिए । जसको विरुद्ध भएको सिकागो आन्दोलन नै त्यस्तो आन्दोलन थियो जुन आन्दोलनको सफलतापछि अमेरिकाका श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन आयो ।
अमेरिकास्थित सिकागो सहरका मजदुरहरूले देखाएको यो वीरतापूर्ण आन्दोलनको सन्देशले विश्वव्यापी रूपमा एउटा ठूलो हलचल पैदा गर्‍यो, फलस्वरूप लेनिनको नेतृत्वमा रुसमा १९१७ को अक्टोबर क्रान्ति सम्पन्न भयो र विश्वकै इतिहासमा पहिलोपटक श्रमजीवीवर्गको समाजवादी राज्य सत्ता स्थापना भयो । हुनत: १८७० मा भएको पेरिस कम्युनको विद्रोहले पनि मजदुर वर्गीय सत्ता हासिल त गरे तर त्यो ७२ दिनमै ढल्न पुग्यो । तर, रुसमा लेनिनको नेतृत्वमा भएको क्रान्तिले भने दीर्घकालीन रूप धारणा गर्‍यो । त्यति मात्र होइन रुसी क्रान्ति मजदुरवर्गको नेतृत्वमा भएको व्यवस्थित क्रान्ति पनि थियो । अक्टोबर क्रान्तिको प्रेरणाबाट पछि अरू धेरै देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिहरू सम्पन्न भए पनि हालसम्म आइपुग्दा त्यो एउटा इतिहासमा मात्र सीमित भएको छ ।
धेरै देशका समाजवादी सत्ता ढलिसकेका छन् । ती देशहरूमा पँुजीवादी सत्ता स्थापना भइसकेको छ । विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक पंक्तिमा पुगेको भए पनि अन्तर्राष्ट्रिय श्रमिक दिवस भने बिरालो बाँधेर श्राद्ध गर्ने प्रवृत्तिले भए पनि मनाउने चलन कायम छ । अहिले विश्वको श्रम बजारलाई बौद्धिकवर्गले ओगटेको अवस्था छ । विगतमा जस्तो शारीरिक शक्तिले मात्र गरिने उत्पादन पद्धतिमा फरक आई मानसिक शक्तिले ठाउँ ओगट्ने प्रक्रिया बढिरहेको छ । अहिले उत्पादन क्षेत्रमा वैज्ञानिक पद्धति प्रवेश गरिसकेको छ । पहिला धेरै उत्पादनलाई धेरै श्रम शक्ति लगाउनुपर्ने अवस्था थियो । अहिले थोरै श्रमबाट धेरै उत्पादन गर्न सक्ने प्रविधिको विकास भएको छ । अहिले आणविक ऊर्जाको जमाना छ । विद्युतीय संचारजगत्ले विश्व खाएको छ । वर्तमान युग साइबर युग बनेको छ । वर्तमान विश्वमा श्रमिक आन्दोलनभन्दा जातीय, धार्मिक आन्दोलन प्रबल बन्दै गएका छन् । आतंकवादले विश्व हल्लाइरहेको अवस्था छ । नयाँ–नयाँ आर्थिक शक्ति राष्ट्रहरूको उदय भइरहेको छ । आर्थिक विकासको गति नयाँ क्षेत्रहरूमा सरिरहेको छ भने श्रमिक आन्दोलनको प्रकृति पनि परिवर्तन भएको छ । यस्तो अवस्थामा नेपालको ट्रेड युनियन आन्दोलनको नेतृत्व पंक्तिले पनि श्रमिक आन्दोलनको ढाँचालाई नयाँ ढंगले रूपान्तरण गर्नुपर्ने जरुरी भएको छ । अहिले नेपालको श्रम बजार लथालिंग र भताभुङ अवस्थामा पुगेको छ । देशका सत्तरी प्रतिशतभन्दा बढी उद्योगहरू यो पन्ध्र वर्षको दौरानमा बन्द भइसकेका छन् भने बाँकी उद्योगहरू पनि रुग्ण र जीर्ण अवस्थामा पुगेका छन् । उद्योगपतिहरू मुलुकमा विद्यमान राजनीतिक अस्थिरताको सिकार हुन बाध्य भएका छन् भने श्रमिकवर्ग पनि सामाजिक सुरक्षाको अभावमा छट्पटिनुपर्ने अवस्थामा छन् । नेपालको मजदुर आन्दोलनका अगुवाहरू असफल राजनीतिक नेतृत्वको झोला बोक्नमा व्यस्त छन् भने मजदुर नेतृत्वले श्रमजीवीवर्गको आधारभूत मागहरूलाई सम्बोधन गर्न नसकेको अवस्था छ । ट्रेड युनियन महासंघहरू नेपालको ट्रेड युनियन आन्दोलनलाई आईएनजीओको पोल्टामा हाल्ने होडबाजीमा छन् र मजदुर आन्दोलनलाई निरन्तर प्रतिगामी दिशातिर धकेलिरहेका छन् । अहिले नेपालको मजदुर आन्दोलन सैद्धान्तिक रूपमा ट्रेड युनियनवाद र अर्थवादमा फसेको छ । मजदुर आन्दोलनले नेपाली समाजमा जुन प्रकारको राजनीतिक योगदान दिनुपर्ने हो त्यो गर्न नसक्ने असक्त र बिरामी भएको छ । नेपाली मजदुर आन्दोलन दृष्टिहीन र दिग्भ्रमित नेतृत्वको सिकार बनेको छ । जसका कारण हालको मजदुर आन्दोलनले न उत्पादन क्षेत्रलाई वैज्ञानिक र आधुनिक बनाउन योगदान गर्न सकेको छ, न श्रमजीवीवर्गलाई राजनीतिक रूपमा सचेत र जुझारु तथा नेतृत्वदायी बनाउन सकेको छ । मात्र नेपाली मजदुरवर्गको दारुण अवस्थालाई प्रदर्शन गर्दै डलरको खेती गर्न मात्र अग्रसर देखिएको छ । नेपाली मजदुरवर्गको दैनिक जीवनस्तर खस्कँदै गएकोप्रति ट्रेड युनियन नेतृत्व मौन छ । श्रमजीवीवर्गको जीवनस्तर उठाउन ट्रेड युनियन नेतृत्वले जुन भूमिका खेल्नुपर्ने हो त्योबारे ऊ अनभिज्ञ छ कि त गैरजिम्मेवार छ । राजनीतिक दलको कठपुतली बनेर मजदुरवर्गको हित हुन सक्दैन । मजदुर आन्दोलनले आफ्नो स्वतन्त्र भूमिका खोज्नुपर्छ, उसँग राजनीतिक विचार हुन सक्छ तर मजदुर आन्दोलनलाई मजदुरवर्गीय सोच र चरित्रबाट निर्देशित गर्नु जरुरी छ । अहिले विश्वका मजदुर एक होऔँ भन्ने नारा निमछरो बन्दै गएको छ । यो नारा तत्कालीन अवस्थामा कार्लमाक्र्सले मजदुरवर्गीय चरित्र र मर्मलाई केन्द्रमा राखेर उद्घोष गरेका थिए । तर, अहिले बढ्दो एनजीओकरणका कारण यो नारालाई आत्मसाथ गर्ने प्रवृत्तिमा कमी आएको छ । अहिले विश्वव्यापी रूपमा ट्रेड युनियन आन्दोलनमा देखिनुपर्ने जुझारुपन र प्रतिरोधात्मक चरित्रमा कमी आएको छ । ट्रेड युनियन आन्दोलनमा पनि खुलाबजार अर्थनीतिको प्रभाव परेको छ, श्रमजीवीवर्गको चिन्तन प्रणालीमा पनि अवसरवादी र उपभोक्तावादी प्रवृत्ति देखापरेको छ । समाजको अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि भ्रष्टाचार मौलाएको छ ।
अहिले नेपालको ट्रेड युनियन आन्दोलनमाथि दोहोरो जिम्मेवारी सिर्जना भएको छ । एकातिर आन्तरिक रूपमा आफैँभित्र निरन्तर भ्रष्ट हुँदै गएको चिन्तन प्रणाली र चरित्रलाई शुद्धीकरण गर्नु जरुरी छ, भने बाह्य रूपमा लामो समयदेखि अस्थिर बनेको राजनीतिक संक्रमणको अन्त्य गरी श्रमजीवीवर्गको पक्षमा नयाँ संविधान निर्माण गर्नुपर्ने छ । यी दुवै जिम्मेवारी त्यतिबेला मात्र पूरा गर्न सक्षम हुनेछ जतिबेला मजदुर आन्दोलनका प्रगतिशील तथा अग्रगामी शक्तिहरू एक जुट भई अघि बढ्नेछ ।
बहुदलीय मूल्यमान्यतालाई तिलाञ्जली दिँदै अन्तरिम संविधानको चिरहरण गरेर २५ बुँदे अध्यादेशको जगमा उभिएको वर्तमान निर्दलीय सरकारको चरित्र आफैँमा प्रतिगामी छ । आफूलाई ठूला भन्ने र देशको ठेक्का लिएका दलहरूको असफलताका कारण स्थापित वर्तमान सरकारलाई प्रतिगमनकारी दिशामा जानबाट रोक्न हर प्रयास गर्नुपर्ने वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय श्रमिक दिवस १–मईको संघारमा नेपाली मजदुरवर्ग उभिन पुगेको छ । यही दिवसलाई उपयोग गर्दै प्रगतिशील र क्रान्तिकारी मजदुर आन्दोलनलाई पुनर्गठन गर्नु अहिलेको आवश्यकता हो । मुलुकको सबै तह र तप्काको समानुपातिक प्रतिनिधित्वसहितको समावेशी र राज्य पुनर्संरचना गर्न खोजिएको नयाँ संविधानका लागि गर्ने भनिएको संविधानसभाको निर्वाचनमा नेपाली मजदुरवर्गका प्रतिनिधित्व पनि उचित ढंगले हुने गरी सुनिश्चित गर्न नेपाली ट्रेड युनियन आन्दोलनको नेतृत्ववर्ग सचेत हुन जरुरी छ । यिनै ऐतिहासिक जिम्मेवारीहरूलाई पूरा गर्न बल मिल्ने गरी यो वर्षको मई दिवस सार्थक रूपमा सम्पन्न गर्न ध्यान पुगोस् भन्ने आग्रहसहित मुलुकको सम्पूर्ण श्रमजीवीवर्गको उज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्छु ।

प्रतिक्रिया