कांग्रेसले बनायो जम्बो अञ्चल समिति

काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसले १४ अञ्चल र काठमाडौं उपत्यका समन्वय समिति गठन गरी संयोजक तोकेको छ ।

कांग्रेस सभापति सुशील कोइरालाले मंगलबार पार्टीको अञ्चल र काठमाडौं उपत्यका समन्वय समिति गठन गरी संयोजक तोकेका हुन् । संविधानसभाको नयाँ चुनाव हुन लागेपछि कांग्रेसले संगठन सुदृढीकरणलाई अघि बढाउन अञ्चल समिति गठन गरेको हो । सम्बन्धित अञ्चलका पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, जिल्ला सभापति, क्रियाशील सदस्यमध्येबाट समन्वय समितिमा सदस्य चयन गरिएको छ भने केन्द्रीय सदस्यलाई अञ्चलअनुरुप पदेन तथा आमन्त्रित सदस्य तोकिएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, उपत्यकामा जिल्ला सभापति र क्षेत्रीय सभापति समन्वय समितिमा परेका छन् ।
काठमाडौं उपत्यका समन्वय समितिमा रामकृष्ण ताम्राकारलाई संयोजकको जिम्मेवारी दिइएको छ । मेचीमा महेन्द्र यादव, कोशीमा पद्ममनारायण चौधरी, सगरमाथामा केशवकुमार बुढाथोकी र जनकपुरमा रामकुमार चौधरीलाई संयोजक तोकिएको छ । बाग्मतीमा रत्न शेरचन, नारायणीमा रामचन्द्र तिवारी, गण्डकीमा कृष्णचन्द्र नेपाली, लुम्बिनीमा सुरेन्द्रराज पाण्डे र धवलागिरिमा एनपी साउद, कर्णालीमा मीन विश्वकर्मा, सेतीमा ज्ञानेन्द्रबहादुर कार्की र महाकालीमा जीवनबहादुर शाहीलाई पार्टीले अञ्चल संयोजकको जिम्मेवारी
दिएको छ ।

प्रतिक्रिया