निर्वाचनका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : एमाओवादी नेता

giriraj-mani-pokharelझापा, १८ वैशाख । एमाओवादी पूर्वीब्युरो इन्चार्ज गिरिराजमणि पोखरेलले संविधानसभा निर्वाचन गर्न अन्तर्राष्ट्रिय सद्भाव एवं सहयोग आवश्यक रहेको बताएका छन् । ‘पार्टी अध्यक्ष प्रचण्डको चीन र भारत भ्रमण संविधानसभा निर्वाचन गर्नका लागि हो,’ क्रान्तिकारी पत्रकार संघ झापाले मंगलबार बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने । निर्वाचनका लागि जनता र राजनीतिक दलको तत्परता पहिलो सर्त भएको उनले बताए । अन्तर्राष्ट्रिय सद्भावविना आर्थिक विकास र राजनीतिक स्थायित्व नहुने बताउँदै उनले अध्यक्ष प्रचण्डको भ्रमण आर्थिक विकास र राजनीतिक स्थायित्व बहाली गराउन केन्द्रित रहेको दाबी गरे ।

हेटौंडा महाधिवेशनबाट पाार्टीले आर्थिक रूपान्तरणको नयाँ नीति लिएको बताउँदै पाखरेलले त्यसैअनुरूप चीन र भारतसँग सम्बन्ध विकास गर्न पार्टी लागेको बताए । ‘राजनीतिक स्थायित्वपछि आर्थिक रूपान्तरण आवश्यक पर्छ,’ पोखरेलले भने, ‘आर्थिक रूपान्तरणका लागि पार्टीले आर्थिक ब्रिगेड बनाएको छ, अब त्यसको कार्यान्वयन गर्ने तयारी हँुदै छ ।’
संविधानसभा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताउँदै नेता पोखरेलले संविधानसभा निर्वाचनको पक्षमा वातावरण बनाउन राजनीतिक दल, नागरिक समाजलगायत सबैको भूमिका आवश्यक पर्ने बताए । उनले निर्वाचनलाई असर पर्ने सामग्री प्रकाशन/प्रसारण नगर्न सञ्चारकर्मीसँग आग्रह गरे । संविधानसभा निर्वाचनमा पार्टीले पहिचानसहितको संघीयता पक्षधरसँग सहकार्य गर्ने पोखरेलले बताए । उनले निर्वाचनमा ‘पहिचानसहितको संघीयता, संघियतासहितको संविधान र संविधानसभाबाट संविधान भन्ने एजेन्डामा सहमत हुनेबीच आºनो दलले सहकार्य गर्ने प्रस्ट पारे । ‘जहाँ–जहाँ हामी कमजोर छौँ, ती क्षेत्रमा संघीयता पक्षधरसँग तालमेल हुन्छ,’ उनले भने । माओवादीले बुधबार इटहरीमा आयोजित पूर्वाञ्चलस्तरीय जनसभामा हेटौंडा महाधिवेशनले तय गरेका नीति र निर्वाचनसम्बन्धी धारणा अध्यक्ष प्रचण्डले सार्वजनिक गर्ने उनले बताए ।

प्रतिक्रिया