खोजखबर

मान्छेसँग हार्‍यो गोही

सौर्य अनलाइन २०७० वैशाख १७ गते १:५० मा प्रकाशित

crocodile_in_northबाघको पन्जा र गोहीको मुखमा परेको मान्छे त्यसबाट फुत्कन सफल भएका किस्सा बढीजसो साहसिक लोककथाहरूमा मात्र पाइन्छ । यथार्थमा आमरूपमा गरिने आँकलन एउटै हुन्छ– अब त्यो मान्छेको इहलीला सकियो । अपवादका रूपमा कोहीकसैले यस्तो क्षमता देखाउन सके ऊ पुरुषार्थी कहलाउँछ । केही दिनअघि एक फ्रान्सेलीले पुरुषार्थको यस्तै दृष्टान्त प्रस्तुत गरेका छन् । उनी गोहीको मुखबाट फुत्कन सफल भएका छन् । मुटु कमजोर भएको उस्तै मान्छे हुँदो हो त गोहीको पहिलो झमट लाग्नासाथ हातगोडा शिथिल भएर जीवन समर्पित गरिसकेको हुँदो हो । तर, यी फ्रान्सेलीले गर्दनमा गोहीले दाँत गाडिसक्दा पनि त्यससँग युद्ध गरिरहे । आखिरमा जिन्दगी जितेर पानीबाट बाहिर निस्किए । उत्तरी अस्ट्रेलियास्थित समुद्रमा टहलिँदै गर्दा बडेमानको गोहीले उनीमाथि आक्रमण गर्‍यो, त्यसपछि उनको टाउको निमोठेर गाँस हाल्ने कोसिस गर्‍यो । तर, उनी भएभरको शक्ति लगाएर त्यसबाट उम्कन सफल भए । २९ वर्षीय योआन गालरन आफूलाई अति भाग्यशाली ठान्छन् । यसकारण कि गोहीको यति घातक आक्रमणका बावजुद उनी बाँच्न सफल भए ।
अस्ट्रेलियाको तटीय सहर नुलुबीमा बस्दै आएका गालरन गत आइतबार आफ्नो डुंगालाई किनारतिर लैजाँदै थिए । सोही बखत पछाडिपट्टिबाट गोहीले धावा बोलिदियो । उनका अनुसार त्यो गोही करिब आठ फुट लामो थियो । गालरनका अनुसार गोहीले पहिले उनको टाउको समातेर निमोठ्यो, पल्टायो अनि उनलाई पानी भित्र लैजान लाग्यो । अलिकति पनि ढिला नगरी उनी त्यससँग भिड्न थाले । मुक्काका मुक्का बर्साए । घटनास्थलबाट अस्पताल पुर्‍याइँदा गालरनको मुहार रगतमा डुबेको थियो तर जितको मुस्कान पनि सँगसँगै थियो । उनी आफूलाई बचाउन त सफल भए तर गोहीले दाँतले च्यापेर लछारपछार पारिदिँदा उनको टाउको, गर्दन र काँधमा गहिरो चोट लागेको छ । जहाँ कैयाँै टाँका लगाउनुपरेको चिकित्सकहरू बताउँछन् । ‘अलिकति पनि हताश भएको भए त्यसले मलाई पानीभित्र लगिसकेको हुन्थ्यो’, उनी सुनाउँछन्– ‘आखिरमा त्यसबाट फुत्किएर किनारमा आइछाडेँ ।’ उनले एजेन्सीलाई भने– ‘साँच्चै अति नै भाग्यशाली हुँ, नत्र बाँच्दैनथेँ । त्यो साह्रै खतरनाक गोही थियो ।’ सो प्रान्तका सरकारी अधिकारीहरू पनि योआनको कुरामा सही थप्छन्– ‘वास्तवमै उनी मृत्युको मुखबाट बचेर आएका हुन्, नत्र स्थिति निकै गम्भीर हुन सक्थ्यो ।’ स्थानीय बासिन्दाहरू विगत केही समयदेखि त्यो खतरनाक गोही उक्त इलाकामा देखिँदै आएको स्विकार्छन् ।
यद्यपि, अस्ट्रेलियामा सन् १९७० मै समुद्री गोहीलाई लोपोन्मुखप्राय: घोषणा गरिसकिएको छ । र, यसखाले घटनालाई अपवाद मात्र मानिन्छ । तर, उत्तरी प्रान्तको कथा भने अर्कै छ । अहिले यहाँ थुप्रै गोही रहेको अनुमान गरिएको छ । र, गोहीको घातक आक्रमणमा परेर मान्छे मरेका समाचार आइरहन्छन् । गत डिसेम्बरमा मात्र यही प्रान्तमा गोहीले एक बच्चालाई आफ्नो सिकार बनाएको घटना सार्वजनिक भएको थियो । त्यसको एक हप्ताअघि अर्की एक बालिका बेपत्ता भएकी थिइन् । त्यसको केही दिनपछि नै सो इलाकाको एक गोहीको पेटमा मान्छेको शरीरका टुक्रा पाइएको थियो । (एजेन्सी)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय