चुनावका लागि भारतसँग ८ सय सवारी सहयोग माग

काठमाडौं, १७ बैशाख । सरकारले भारत सरकारसँग संविधानसभा चुनावका लागि सहयोगस्वरूप ८ सय सवारीसाधन माग गरेको छ । सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग एक अर्ब रुपियाँ बराबरका सवारीसाधन माग गरेको हो ।

परराष्ट्रले सवारी मागसहितको औपचारिक पत्र भारतीय राजदूतावासमा पेस गरिसकेको छ । तीनवटै सुरक्षा निकायले चुनावका लागि नयाँ सवारीसाधन आवश्यकता परेको भन्दै केही साताअघि गृहमा मागपत्र पेस गरेका थिए । गृहले उक्त मागपत्र अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थमार्फत उक्त मागपत्र परराष्ट्रमा पुगेपछि भारतसित सवारीसाधन माग गरिएको हो ।
गृहका प्रवक्ता शंकर कोइरालाले सावरीसाधन माग गरिएका सम्बन्धमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । ‘यस विषयमा हामीले बोल्न मिल्दैन,’ कोइरालाले भने, ‘माग भएकै भए पनि दुई मुलुकबीच हुने कुरा हो । यस विषयमा परराष्ट्रका प्रवक्तासँग सोध्नुहोस् ।’ मातहतका तीन सुरक्षा निकायले गृहसमक्ष सवारीसधान माग गरेको विषयमा पनि उनले अनभिज्ञता जनाए । उनले भने, ‘मलाई यस विषयमा नसोध्नुस् । मलाई केही जानकारी छैन ।’
नेपाल प्रहरीका प्रवक्ता डिआइजी केशव अधिकारीले संविधानसभा चुनावका लागि सवारीसाधन गृहमा माग गरिएको बताए । शान्तिसुरक्षाका लागि सवारीसाधन आवश्यक देखिएपछि गृहमा माग पेस गरिएको अधिकारीले जानकारी दिए । उनले भने, ‘हामीसँग भएका सवारीसाधन बिग्रिएका छन् । कोही थोत्रा पनि भएका छन् । कति त मर्मत पनि गर्नुपर्ने अवस्थामा छन् । यी सबैलाई समेटेर हामीले गृहमा माग गरेका छौँ ।’
प्रवक्ता अधिकारीले माग गरिएका सवारीसाधानको संख्या धेरै रहेको बताए । उनले भने, ‘माग भएको संख्या कति हो ठ्याक्कै थाहा भएन । तर, संख्या धेरै छन् । किनभने शान्तिसुरक्षा बहाली गर्न सबै स्थानमा सवारीसधान त चाहियो नि ?’ प्रहरी प्रधान कार्यालयका अनुसार लगभग चार सयको संख्यामा सवारीसाधनको माग भएको छ । गृहमा इन्धनको समेत माग गरिएको अधिकारीले बताए ।

प्रतिक्रिया