डा.यादव र कोइरालाबीच भेटबार्ता

rambaran yadav2

काठमाडौं, १६ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपति डा.रामवरण यादव र कांग्रेस सभापति सुशील कोइरालावीच भेटबार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार भएको भेटमा संविधानसभा निर्वाचन र मितिका बारेमा कुराकानी भएको कोइरालाका निजी सहयोगी लक्ष्मण ढकालले जानकारी दिए । त्यसै गरेर भेटमा मंसिर पहिलो साता निर्वाचन गर्ने विषयमा पनि कुराकानी भएको थियो ।
डा.यादवले राजनीतिक सहमति जुटाएर जान पनि सभापति कोइरालालाई सुझाव दिए । ‘छिटो राजनीतिक सहमति जुटाएर निर्वाचनमा जानुस्,’ डा.यादवले भने, ‘मंसिर पहिलो साता जसरी पनि संविधानसभा निर्वाचन गराउनु पर्छ ।’
जवाफमा सभापति कोइरालाले आन्दोलनरत पक्षसँगको सम्पर्कमा आफू रहेको भन्दै सबैलाई निर्वाचनमा सहभागी हुने वातावरण मिलाई दिने बताए । उनले भने, ‘मैले आन्दोलनरत दलहरुलाई वार्तामा ल्याउने प्रयास गरिरहेको छु ।’
उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका कोइरालाले आगामी मंसिर भित्र निर्वाचन गर्नुपर्ने जनाउँदै आएका छन् ।
सभापति कोइरालाले आन्दोलनरत नेकपा–माओवादी, मधेसी जनअधिकार फोरम नेपाललगायतसँग पनि वार्ता गरेर निर्वाचनमा सहभागी गराउने तयारी गरेका छन् ।

प्रतिक्रिया