ट्राफिक व्यवस्थापनमा व्यवसायी र सञ्चारकर्मी

काठमाडौं : नेपाल अटो पत्रकार संघको तीन महिने सडक सुरक्षा कार्यक्रमअन्तर्गत आइतबार नयाँबानेश्वर चोकमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पत्रकार, सवारी व्यवसायी र ट्राफिक प्रहरीका डिआइजीले एक घन्टा ट्राफिक व्यवस्थापनको कामसमेत गरेका थिए । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख प्रहरी नायव माहानिरीक्षक (डिआइजी) उपेन्द्रकान्त अर्याल र नेपाल अटो मोबाइल्स डिलर एसोसियसन (नाडा) का अध्यक्ष सौरभ ज्योतिले सडकमै गएर ट्राफिकको भूमिका निर्वाह गरेका हुन् ।
बिहान ८ देखि ९ बजेसम्म पत्रकारसहित दुवै जनाले पैदल यात्रीलाई जनचेतनामूलक पर्चा, पम्प्लेट वितरण गरेका थिए । ‘सडक सुरक्षा सबैको चासोको विषय भएकाले पत्रकारले आयोजना गरेको कार्यक्रममा म स्वयं उपस्थित भएर सिपाहीले गर्ने काम गरेको हुँ’ डिआइजी अर्यालले भने । नेपालमा सडक दुर्घटनाका ९० प्रतिशतभन्दा बढी घटना मानवीय कारणले हुने उनको भनाइ छ ।
नाडाका अध्यक्ष सौरभ ज्योतिले सडक व्यवस्थापनमा निजी क्षेत्रको पनि सहयोग रहने बताए । ‘व्यवसायीको काम व्यापार गर्ने मात्र नभएर सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि हो ।’ अटो पत्रकार संघका अध्यक्ष उज्वलजंग शाहले यस प्रकारको जनचेतनामूलक कार्यक्रम मुलुकभर आयोजना गरिने जानकारी दिए ।

प्रतिक्रिया